सचिवालयमा माधव नेपाल अल्पमतमा परेपछि युवा संघमा झलनाथ पक्षको एकलौटी ! – Nepal Press

सचिवालयमा माधव नेपाल अल्पमतमा परेपछि युवा संघमा झलनाथ पक्षको एकलौटी !

काठमाडौं । नेकपा एसको सचिवालयभित्र माधव नेपाल नै अल्पमतमा भएपछि युवा संघको नेतृत्व विवादमा झलनाथ पक्षले एकलौटी गरेको खुलेको छ ।

भदौ ९ गते युवा संघ नेपालले केन्द्रीय सचिवालय बैठक बोलायो । उक्त बैठकबाट तत्कालीन अध्यक्ष नरेश शाही बिदा हुनुपर्ने र आयोजक कमिटी बन्नुपर्ने थियो ।

युवा संघको संयोजकका आकांक्षीमा माधव नेपालका भाञ्जा नितेश पौडेल र म्याग्दी जिल्ला पार्टी अध्यक्षसमेत रहेका कृष्ण विकको दाबी थियो ।

विकलाई बिदा हुने अध्यक्ष नरेश शाही, महासचिव दीपक जिएमहरूको साथ थियो । पौडेललाई युवा संघकी इञ्चार्ज दिलु पन्त, गण्डकी प्रदेशका पूर्व मन्त्री राजीव गुरुङ (दीपक मनाङे) सहितको साथ थियो ।

सचिवालय सदस्य क-कसलाई मान्ने भन्ने विवाद सुल्झिन नै समय लाग्यो । पहिला पार्टीको संगठन विभागका सचिव लक्ष्मण केसीको संयोजकत्वमा एउटा कार्यदल बनाइयो ।

उक्त कार्यदलले दुवै पक्षले तयार पारेको नामलाई काँटछाँट गर्दै सचिवालयको नामावली तय गर्‍यो । त्यसअनुसार भदौ ९ गते बैठक बस्ने भनी सबैलाई खबर भयो । तर, महाधिवेशन आयोजक कमिटीको संयोजक बनाउने विषयमा भएको पूर्व छलफलका क्रममा दुवै पक्षको दाबी उत्तिकै कायम हुँदा निर्णय हुन सकेन ।

बैठक बस्नुअघि नै गञ्जागोल शुरु भयो । सचिवालय बैठक बसेको भए र मतदानबाट आयोजक कमिटी चयन गर्ने स्थिति हुँदा नितेश पौडेल बलियो हुन्थे । त्यसैले त्यो अवस्था नआओस् भन्नका लागि नरेश शाही पक्षले कालोपुलमा र पौडेल पक्षले नयाँ बानेश्वरमा अलग अलग भेला बोलाए ।

दुवै भेलाका निम्ति सचिवालय सदस्यहरू आ–आफ्नो रुचिअनुसारको ठाउँमा जुटे । यदि ती भेला सम्पन्न भएको भए अलग अलग आयोजक कमिटी बन्ने अवस्था हुन्थ्यो । यस्तो स्थिति नआओस् भन्नका लागि माधव नेपाल र झलनाथ खनालकै सक्रियतामा दुवै भेला स्थगित गराइयो ।

रमाइलो के भयो भने नरेश शाही पक्षले कालोपुलमा राखेको भेलामा गुन्डा नाइके चक्रे मिलन पुगेका थिए भने पौडेल पक्षको भेलामा दीपक मनाङे ।

यस्तो कसरी भयो ?

आफ्नै भाञ्जा अध्यक्षको आकांक्षी भएपछि माधव नेपाल रक्षात्मक अवस्थामा पुगे । किनभने, पार्टीको अध्यक्षले भाञ्जाका निम्ति देखादेखी सहज हुने गरी केही गर्न र भन्न मिल्ने अवस्था भएन । उनले मोर्चा संगठनका इञ्चार्ज डा. विजय पौडेललाई ‘मिलाएर गर्नुस्’ मात्रै भनेका थिए ।

नेपालले छलफल र संवादबाट मिलाउने कुरामा अन्तिमसम्म लाग्न, यदि नमिलेमा सचिवालय बैठकको बहुमतका आधारमा संयोजक चयन गर्न भनेका थिए ।

यसपछि पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डे, उपमहासचिव जगन्नाथ खतिवडाहरू युवा संघलाई माधव नेपालको पञ्जाबाट जसरी पनि मुक्त गर्ने नीतिका साथ सक्रिय भए । यद्यपि, पाण्डे ज्वरो आएर घरमै आराम गरिरहेका थिए ।

उनीहरू पार्टीका हरेक संरचनामा झलनाथ पक्षको वर्चस्व निर्माण गर्ने अभियानमै लागेको नेकपा एसका नेताहरू बताउँछन् । युवा संघको अलग अलग भेला हुने कुरामा डा. विजय पौडेल र जगन्नाथ खतिवडाहरुको सक्रियता रहेको बताइन्छ ।

बैठक बस्दा बहुमतका आधारमा संयोजक छान्नुपर्ने स्थितिमा पौडेल हुने पक्कापक्की भएपछि उनकै सल्लाहमा नरेश शाहीहरूले कालोपुलमा भेला बोलाए । उक्त पक्षले भेला बोलाएपछि पौडेल पक्षले पनि भेला बोलायो ।

यस्तो अवस्थामा दुईवटा आयोजक कमिटी बन्ने भयो भन्दै दुवै भेला स्थगित गर्न लगाउने र संयोजक, सहसंयोजक चयन गर्ने अधिकार पार्टीको सचिवालयले लिने गरी उनीहरूले रणनीति बनाए ।

माधव नेपालले आपसी समझदारीबाट संयोजक छान्न सम्भव नभएको अवस्थामा सचिवालय बैठक बस्न दिने र मतदान गरी बहुमतका आधारमा संयोजक छान्न निर्देशन दिए ।

यसअघि प्रेस संगठनको अधिवेशनमा माधव नेपाल पक्षका पत्रकारहरूलाई चुनाव हराएर संगठनबाट बिदा गर्ने योजनाका साथ पदाधिकारी निर्वाचन भयो । तर, हराउन खोजिएका मुख्य व्यक्तिमध्ये अध्यक्ष र महासचिवमा माधव नेपालकै उम्मेदवारहरूले जित्न पुगे ।

त्यही डरले उक्त समूह युवा संघको सचिवालयको बहुमतका आधारमा निर्णयमा पुग्न तयार भएन । यसका निम्ति महासचिव घनश्याम भुसाललाई समेत तयार पारियो ।

भदौ १० गते बिहानैदेखि मीन भवन, आलोकनगरस्थित पार्टी कार्यालयमा सचिवालय बैठक बस्यो । माधव नेपाल र उनको पक्षका नेताहरूले बोलाएको बैठक बस्न दिने र त्यही बैठकको बहुमतले गर्ने निर्णय मानेर जाने कुरा उठायो ।

तर, त्यहाँ माधव नेपाल आफैँ अल्पमतमा परे । उनको पक्षमा उपाध्यक्ष प्रमेश हमाल, जयन्ती राई, उपमहासचिव प्रकाश ज्वाला, गंगालाल तुलाधर, एकजना सचिव मात्र भए । अर्को पक्षमा झलनाथ खनालसहित उपाध्यक्ष बेदुराम भुसाल, राजेन्द्र पाण्डे, महासचिव घनश्याम भुसाल, उपमहासचिव जगन्नाथ खतिवडा, विजय पौडेललगायत भए ।

बहुमत नरेश शाही पक्षको उम्मेदवारका पक्षमा थियो । बैठकमा एक पक्षबाट गरिएको मुख्य तर्क थियो, केपी ओलीको व्यक्तिवाद विरुद्ध विद्रोह गरेको भन्ने, अनि भाञ्जालाई युवा संघको अध्यक्ष बनाउन मरिहत्ते गर्ने ?

अर्को पक्षको तर्क थियो, ‘संगठनको अध्यक्ष हुने हैसियत बनाएको मान्छेलाई पार्टी अध्यक्षको नाता परेको नाममा रोक्न पाइँदैन । को मान्छेसँग कसको के नाता पर्छ भन्ने नाममा नेतृत्व चयन रोक्ने हो भने माधव नेपालको नाता पर्नेजतिले पार्टी छाडेर जाऊँ भन्नुपर्‍यो । हैन भने युवा संघको सचिवालयका बहुमत सदस्यले गरेको निर्णय मान्नुपर्‍यो ।’

तर, बेदुराम र घनश्याम भुसालले नै माधव नेपालको इच्छाअनुसारको भूमिका नखेलिदिँदा खेल खत्तम भयो । उनलाई बैठकमा बहुमतको निर्णय मान्ने कि नमान्ने भनी र्‍याखर्‍याख पारियो । माधवले ‘बहुमतलाई मान्छु’ भन्दा त्यस्तो निर्णय भएको हो ।

यो सम्पूर्ण खेलको योजना डा. विजय पौडेलले बनाएको नितेस पक्षको आरोप छ । उनको योजनालाई कार्यान्वयन गर्न जगन्नाथ खतिवडा लागि परेको भनाइ छ । डा. पौडेलले यदि सचिवालयको बैठकको बहुमतलाई नमान्ने हो भने राजीनामा दिने समेत बताएको नेताहरूको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर