कांग्रेसमा कलह: देउवा सधैं हावी, शेखर-गगनको निरर्थक गनगन ! – Nepal Press

कांग्रेसमा कलह: देउवा सधैं हावी, शेखर-गगनको निरर्थक गनगन !

विभाग गठनको टुंगो छैन, अझै थप्ने तयारी

काठमाडौं । प्रतिनिधिसभाको विषयगत समितिको सभापति भागबन्डामा पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी गरेपछि नेपाली कांग्रेसमा विवाद बढेको छ । पार्टीमा ४० प्रतिशत हिस्सा दाबी गर्दै आएका आफूहरुलाई देउवाले अन्देखा गरेपछि इतर समूहका नेताहरु रुष्ट छन् ।

सहमतिविपरीत पार्टीमा एकलौटी निर्णय गर्न थालेपछि शेखर कोइराला र गगन थापा देउवामाथि दबाब बढाउने रणनीति अख्तियार गर्न जुटेका छन् । देउवाले विषयगत समितिको सभापति आफूहरुलाई जानकारीविना नै पठाएपछि शेखर-गगन समूह आक्रोशित बनेको हो ।

पार्टीबाट समितिको नेतृत्व पठाएको नै मिडियाबाट थाहा पाएपछि उनीहरु देउवासँग थप चिडिएका छन् । देउवाले चारमध्ये तीन समितिको नेतृत्वमा आफू निकटका सांसदहरुलाई पठाएका छन् । दुई समितिको सभापतिमा दाबी राख्दै आएको शेखर-गगन समूहलाई देउवाले एउटामात्रै दिए ।

देउवाले अर्थमा सन्तोष चालिसे, राज्य व्यवस्था तथा सुशासनको सभापतिमा रामहरि खतिवडा, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा आरजु राणालाई पठाए । राणा देउवापत्नी हुन् भने चालिसे र खतिवडा पनि उनी निकटका नेता हुन् ।

शेखर-गगनलाई पार्टी सहमहामन्त्रीसमेत रहेका जीवन परियारलाई संसदीय सुनुवाइ समिति (संयुक्त)मा पठाएका थिए । तर, उनले सो पदमा बस्न अस्वीकार गरिसकेका छन् । देउवाले एकलौटी गरेपछि एउटामात्रै समितिको नेतृत्व स्वीकार्न नसकिने महामन्त्री थापाले आफू निकट नेताहरुलाई जानकारी गराइसकेका छन् ।

सभापतिले एकलौटी निर्णय लाद्न खोजेपछि विरोधको आवाज सुनिनु स्वाभाविक भएको इतर पक्षका नेता गुरुराज घिमिरे बताउँछन् ।

उनी भन्छन्, ‘शेखर दाइ र गगनजीले चार समितिमध्ये दुईवटाको नेतृत्व पाउनुपर्छ, नत्र स्वीकार्दैनौं भनिसकेपछि एउटामात्रै लिन नसकिने भनिसक्नुभएको छ । त्यो कुरा स्वाभाविक नै हो ।’

अहिलेमात्रै नभएर संघ र प्रदेशमा मन्त्री पठाउने बेलामा पनि देउवाले एकलौटी निर्णय गरेको उनको भनाइ छ । उनले थपे, ‘समितिमा उहाँहरुले एकलौटी रुपमा जीवनजीको नाम राख्नुभएको हो । उहाँले पनि आफू नजाने भनेपछि त्यो समझदारी नभएको कारणले कुरा नमिलेको हो । त्यसबारे थप छलफल भएको छैन ।’

सभापति देउवाले इतर पक्षसँग भएको सहमति कार्यान्वयन नगरेको उनको गुनासो छ । घिमिरेले भने, ‘अहिले महामन्त्रीले बोल्नेबाहेक संस्थागत नै अफ्ठ्यारो पार्ने गरी हामीले कुनै काम गरेका छैनौं । महामन्त्रीहरुले सभापतिको भेला राख्नुभयो । फरक मत राख्नुभयो । अहिले समितिको विषयमा कुरा आयो । प्रदेशहरुमा पनि हुन्छ भनेको पनि कुरा आइरहेका छन् । धेरै अफ्ठ्यारो पर्नेगरी कुरा भएको छैन ।’

उनले पार्टी मिलाएर अगाडि बढाउने जिम्मेवारी सभापतिको भएको बताए । उनले भने, ‘राजनीतिक नियुक्तिदेखि सबै काम अहिलेसम्म उहाँले एकलौटी रुपमा गर्दै आउनुभएको छ । अब शेखर दाइ र गगनजीहरु एकढिक्का भएर जाने समझदारी भएको छ । सोहीअनुसार दबाब दिनुहुन्छ । त्योभन्दा पर अहिले सोचिसकेको अवस्था छैनौं ।’

तर, कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा पार्टीमा सबैले भने जस्तो नहुनसक्ने तर्क गर्छन् । उनले भने, ‘अहिले समितिको सभापतिको कुरा छ । कांग्रेसको भागमा चारवटा परेको हो । पार्टीमा सबै सोचेर र चाहेका सबै हुँदैन । सभापतिले सम्बोधन गरेर अघि बढ्नुहुन्छ उहाँहरुको कुरालाई पनि ।’

सभापतिले पार्टीमा एकलौटी निर्णय नलादेको उनले दाबी गरे । विश्वकर्माले भने, ‘संसदीय सुनुवाइ समिति (संयुक्त)को निर्वाचन प्रक्रिया अलग हुने भएकाले जीवनजीले त्यही दिन सबैले बधाई दिएपछि म अहिले होइन भन्नुभएको छ । समितिमा बस्दिनँ भनेर भन्नुभएको छैन । त्यसबारे छलफल भएको पनि छैन ।’

तर, सहमहामन्त्री परियार अहिले नै समितिको सभापति स्वीकार्ने अवस्था नभएकाले पार्टीभित्र छलफलपछि मात्रै निर्णय हुने बताउँछन् ।

गगन आक्रोशित

पार्टी, गठबन्धनदेखि सरकारसम्ममा देउवा एकलौटी हावी हुन थालेका छन् । त्यही भएर महामन्त्री गगनले सरकार र पार्टी नेतृत्वदेखि शीर्ष नेताहरुको बैठकमा प्रश्न उठाइरहेका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संसदमा पेश गरेको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० मा उनले कडा विरोध जनाए ।

‘प्रधानमन्त्रीजीलाई म यहीबाट भन्न चाहन्छु, मसँग बहुमत छ । यहाँ आएका सबै सांसदहरु थपडी बजाउन आएका होइनन् । हामीलाई हेपेको कुरा स्वीकार्य हुँदैन । जे गरे पनि हुन्छ भन्ने ठानिएको छ । प्रधानमन्त्रीज्यू, अब नयाँ ढंगले कुराहरुको सामना गर्न तयार हुनुहोला’, उनको चेतावनी थियो ।

उनले तत्कालीन नेकपा सरकारले ल्याएको भारी नबोक्न पार्टी उपभापति तथा कानूनमन्त्री धनराज गुरुङलाई सुझाए ।

पछिल्लो समय सरकारले खोलेका भ्रष्टाचारको फाइल पनि सत्ता बार्गेनिङको टुल बनाएको महामन्त्री थापाको आरोप छ ।

शीर्ष नेताहरुको बैठकमाथि प्रश्न उठाउँदै उनले भनेका छन्, ‘त्यहाँमात्रै नभएर ठूलाहरूले चर्को बोल्ने, एक अर्कालाई तर्साउने, तर विस्तारै बन्द कोठामा बसेर सामसुम पार्ने अनि अनुकूलतामा सत्ता बार्गेनिङको टुल बनाउने सम्भावना एकदमै देखिन्छ । यस्ता घटना सामसुम पार्न उनीहरू मिल्छन् भने यस्ता घटनामा छानबिन गर्न गराउन हामी किन नमिल्ने ?’

गठबन्धन र पार्टीमा सभापति देउवा एकलौटी अघि बढेपछि शेखर-गगनले आफूहरुको भेला बोलाउने तयारी गरेका इतर समूहका एक नेताले बताए ।

ती नेताले भने, ‘अहिले शेखर दाइ पनि सभापतिको निर्णयप्रति सन्तुष्ट हुनुहुन्न । गुटको अन्त्य गर्न भन्दै उहाँले इतर समूहको भेला राख्नुभएको थिएन । तर, अहिले (शेखर-गगन) एकताबद्ध भएर जुनसुकै बेला भेला बोलाउने सम्भावना जीवितै छ । जुनै बेला बोलाइन सक्छ ।’

तत्काल आज भोलिका लागि नै भनेर घोषणा गरिनसकेको ती नेताले सुनाए ।

विभाग थप्ने तयारी

साउन २ देखि १० गतेसम्म केन्द्रीय समितिको बैठकले भदौ १५ गतेसम्म विभागलाई पूर्णता दिने निर्णय गरेको थियो । तर, आजसम्म विभाग गठनको तयारी छैन । विभागलाई पूर्णता दिन आफूहरु होमवर्कमा रहेको प्रचार विभाग प्रमुख विश्वकर्मा बताउँछन् ।

उनले भने, ‘हामी चाँडै पूर्णता दिनेगरी काममा लागेका छौं । विभाग थप्ने कुरा भइसकेपछि त्यसलाई टुंगो लगाउन थप होमवर्क आवश्यक भएकाले समय लागेको हो । ६५ देखि ६७ वटासम्म विभाग हुन्छन् । संयोजकहरुको मापदण्ड बनाउँदैछौं । हामीले डेटलाइनअनुसार सक्ने तयारी गरेका छौं ।’

उनले अब एकदुई दिनमा विभाग गठनको काम सकिने बताए । तर, इतर समूहका नेता घिमिरे पार्टीमा भाका तोकेर काम नगर्ने परम्परा नै बसिसकेको टिप्पणी गर्छन् ।

उनले भने, ‘कांग्रेसमा डेटलाइन तोक्ने तर काम सुरु नगर्ने परम्परा बनिसकेको छ । यो कुनै अनौठो कुरा होइन ।’

पार्टी विभाग र संगठनहरुमा पनि विवाद र असन्तुष्टि बढ्दो छ । महिला संघमा असन्तुष्टि बढेपछि शेखर-गगन समूहले केही जिल्लामा समानान्तर समिति घोषणा गरेको छ । नेविसंघमा उस्तै लफडा छ । वर्षा र सांसदहरुको कार्यव्यस्ततालाई देखाउँदै भदौ १० देखि २४ गतेसम्मको लागि तोकिएको अभियान पनि अनिश्चितकालका लागि स्थगित गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर