फिल्ममाथि राजनीति: सरकारले निल्यो ‘प्रकाश’ को अवार्ड – Nepal Press

फिल्ममाथि राजनीति: सरकारले निल्यो ‘प्रकाश’ को अवार्ड

माओवादी निकट बोर्ड सदस्यहरुको चेपुवामा परे भुवन केसी

काठमाडौं । चलचित्र विकास बोर्डले दुई दिनअघि आयोजना गरेको राष्ट्रिय चलचित्र अवार्ड कार्यक्रममा ‘सर्वोत्कृष्ट चलचित्र’ को विधामा पुरस्कार नै घोषणा भएन । चलचित्र पत्रकार तथा बोर्डले बनाएको जुरीका सदस्य अनुप भट्टराईले ‘विवाहमा बेहुली नै छुटेको’ टिप्पणी सामाजिक सञ्जालमा गरेका छन् ।

कुनै पनि फिल्मी अवार्ड वितरण गर्दा त्यसको मुख्य विधा भनेकै ‘सर्वोत्कृष्ट चलचित्र’ हुन्छ । अरु छुटे पनि ‘सर्वोत्कृष्ट चलचित्र’ छुट्दैन । तर, बोर्डले भने मुख्य विधामै टिपेक्स लगाएर अवार्ड बाँडेपछि चलचित्र जगतमा हल्लीखल्ली भइरहेको छ । धेरैले एउटा चलचित्रमाथि सरकारले राजनीतिक पूर्वाग्रह राखेको र विकास बोर्डमा हस्तक्षेप गरेको भन्दै टिप्पणी गरेका छन् । जुरीका संयोजक राजेन्द्र सलभले शीतलनिवासमा आयोजित अवार्ड समारोह नै बहिष्कार गरे ।

विकास बोर्डले राष्ट्रिय चलचित्र अवार्डका लागि पुराना निर्देशक सलभको संयोजकत्वमा निर्णायकमण्डल (जुरी) बनाएको थियो । जुरीमा पत्रकार अनुप भट्टराईसहित थियटर कलाकार सरिता गिरी, संगीतकार चेतन सापकोटा र लेखक शिवम अधिकारी सदस्य थिए । उक्त जुरीले गत वर्षको बहुचर्चित र बहुप्रशंसित फिल्म ‘प्रकाश’ लाई ‘सर्वोत्कृष्ट चलचित्र’ को विधामा पुरस्कृत गर्न सिफारिस गरेको हो ।

कार्यविधिअनुसार जुरीले गरेको सिफारिसलाई केरमेट गर्न सक्ने अधिकार बोर्डलाई हुँदैन । तर, ‘प्रकाश’ लाई सर्वोत्कृष्ट चलचित्रको अवार्ड नदिन बोर्डभित्रै अध्यक्ष भुवन केसीलाई दबाब परेको बुझिएको छ । विकास बोर्डमा माओवादीको वर्चश्व छ । बोर्डका सदस्य रविचन्द्र अधिकारी, राजु केसी र केएल बुढाथोकी माओवादी निकट हुन् । रविचन्द्र प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी रेणु दाहालसँग विशेष निकट छन् । उनी चितवनका पत्रकार हुन् ।

बोर्ड सदस्यहरुले ‘प्रकाश’ फिल्मले माओवादी जनयुद्धको बदनाम गर्न खोजेको भन्दै यसलाई अवार्ड नदिन भुवन केसीलाई आग्रह गरेका थिए । यतिमात्र नभएर ‘माथिबाट’ पनि केसीलाई दबाब आएको बुझिएको छ । बोर्ड अध्यक्ष केसी जुरीबाट सिफारिस भएको चलचित्रलाई नै दिनुपर्ने पक्षमा भए पनि दह्रो खुट्टा टेक्न भने सकेनन् । सञ्चार मन्त्रालयले पनि बोर्डको कार्य क्षेत्रमा हस्तक्षेप गर्‍यो ।

स्रोतका अनुसार अवार्डका विषयमा निर्णय लिन मन्त्रालयभित्र सो चलचित्र मगाएर हेरिएको थियो । सञ्चार सचिव आफैं बसेर पूरा चलचित्र हेरेको स्रोतले बतायो । चलचित्र हेरिसकेर ‘माथि’ ब्रिफिङ गरिसकेपछि ‘प्रकाश’ लाई कुनै हालतमा अवार्ड नदिन बोर्डलाई फर्मान जारी गरिएको स्रोतको भनाइ छ ।

यसैबीच चलचित्र प्रकाशका अभिनेता प्रदीप खड्कासहितको एउटा टोलीले सञ्चारमन्त्री रेखा शर्मासँग भेटेरै गुनासो राखेको छ । भेटमा मन्त्री शर्माले अवार्ड वितरणमा मन्त्रालयले कुनै हस्तक्षेप नगरेको प्रष्टीकरण दिएकी थिइन् ।

उक्त भेटमा मन्त्रीको प्रष्टीकरणसँग खड्का पनि कन्भिन्स्ड देखिएका छन् । भेटघाटको तस्वीर शेयर गर्दै उनले मन्त्रालयभन्दा पनि ‘व्यक्ति विशेष’ चलचित्रसँग डराएको दाबी गरेका छन् ।

‘प्रकाशसँग सरकार डराएको देखिएन, बरु प्रक्रियागत हिसाबले अगाडि बढेको पाइयो । प्रक्रिया बुझ्दा बरु व्यक्ति विशेष चाहिँ हामीसँग डराएको बुझियो’, उनले लेखेका छन् ।

खड्काका अनुसार मन्त्री शर्माले चलचित्र प्रकाश सेन्सर पास भएर प्रदर्शनमा आएकाले चलचित्रप्रति कुनै पूर्वाग्रह नरहेको प्रस्ट पारेकी थिइन् । जुरीको निर्णयअनुसार सोही चलचित्रबाट निर्देशक र नायिकाले अवार्ड पाउनुले पनि आफूहरु मन्त्रीको भनाइमा आश्वस्त भएको खड्काले बताएका छन् ।

‘समग्रमा बुझ्दा सरकार र पार्टीको बहानामा व्यक्तिगत रिसइवी साँध्न सम्मानित मन्त्रालय साथै पूरा सरकारको नाम प्रयोग भएको बुझियो’, उनले लेखेका छन् ।

सीधै नभने पनि खड्काको निशाना बोर्ड अध्यक्ष भुवन केसीप्रति लक्षित छ । ‘प्रेमगीत ३’ को सेन्सरलाई लिएर उत्पन्न विवादपछि केसी र खड्काको सम्बन्ध बिग्रिएको थियो ।

खड्काले परिआए देशको न्यायालयको ढोका ढक्ढकाउनेसमेत उल्लेख गरेका छन् । स्मरणीय यो छ कि, चलचित्र ‘प्रकाश’ मा खड्का निर्माता नभएर कलाकारमात्र हुन् । ‘सर्वोत्कृष्ट चलचित्रको अवार्ड’ निर्माता वा निर्देशकको सरोकारको विषय हो । तर, उनीहरुभन्दा खड्का अघि सरेका छन् ।

‘प्रकाश’का कथाकार विकास सुवेदी तालुकदार निकायका हिसाबले विकास बोर्ड जिम्मेवार हुनुपर्ने बताउँछन् ।

‘हामीले सोध्ने भनेको विकास बोर्डलाई हो । उसले माथिको दबाबमा गर्‍यो वा आफैंले गर्‍यो भन्ने हामीलाई थाहा हुने कुरा भएन । तर, जुरीले सिफारिस गरेको चलचित्रलाई किन पुरस्कार दिइएन भन्ने गम्भीर विषय हो’, उनले भने ।

प्रकाशको अवार्ड खोसिएको विषय संसदमा समेत उठ्ने भएको छ । जुम्लाका सांसद ज्ञानेन्द्र शाहीले यस विषयलाई लिएर सरकारमाथि कडा प्रश्न उठाउने तयारी गरेका हुन् ।

चलचित्र विकास बोर्डले भने सर्वोत्कृष्ट चलचित्रलाई अवार्ड नदिइएको विषयमा कुनै सार्वजनिक प्रतिक्रिया दिएको छैन । बोर्ड अध्यक्ष भुवन केसीलाई नेपाल प्रेसले फोन गर्दा उनले यो विषयमा प्रवक्ताले जवाफ दिने बताए ।

बोर्ड प्रवक्ता केएल पण्डितले भने बोल्न चाहेनन् । ‘एक छिनमा आफैं कलब्याक गर्छु है’ भन्दै टक्टकिए । तर, न उनले फोन गरे न त हामीले गर्दा उठाए ।

के छ प्रकाशमा ?

दिनेश राउतले निर्देशन गरेको प्रकाशमा कर्णालीको अभावग्रस्त जनजीवन र राजनीतिक बेथितिलाई कलात्मक तवरबाट चित्रण गरिएको छ । माओवादी जनयुद्धले दिएका घाउचोटहरु यसमा छन् भने सरकारी सेवामा जातीय आरक्षणको व्यवस्थामाथि प्रश्न उठाइएको छ । चलचित्र रिलिज हुँदा पनि माओवादी वृत्तबाट असन्तुष्टिका स्वरहरु सुनिएका थिए ।

याे पनि पढ्नुस् : ‘प्रकाश’ भित्रको अन्धकार


प्रतिक्रिया

One thought on “फिल्ममाथि राजनीति: सरकारले निल्यो ‘प्रकाश’ को अवार्ड

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर