३० हजार दर्शक अट्ने यो रंगशालामा हुँदैछ नेपाल-पाकिस्तान म्याच, ब्याट्सम्यानका लागि अनुकुल पीच – Nepal Press
एसिया कप

३० हजार दर्शक अट्ने यो रंगशालामा हुँदैछ नेपाल-पाकिस्तान म्याच, ब्याट्सम्यानका लागि अनुकुल पीच

काठमाडौं । एसिया कप क्रिकेटको उद्घाटन म्याच पर्सी बुधबार नेपाल र पाकिस्तानबीच हुँदैछ । पाकिस्तानको शहर मुल्तानमा दुई देशका राष्ट्रिय टीम पहिलोपटक एकदिवसीय भिड्न लागेका हुन् ।

क्रिकेटमा नेपालभन्दा निकै बलियो टीम हो पाकिस्तान । भर्खरै मात्र पाकिस्तान एक दिवसीय विश्व वरियताको पहिलो स्थानमा उक्लिएको छ । श्रीलंकामा भएको तीन म्याचको श्रृंखलामा अफगानिस्तानलाई ह्वाइट वास गर्दै पाकिस्तान विश्वकै नम्बर १ एकदिवसीय टीम बनेको हो । यसले एसिया कपअघि टीमको मनोबल थप बढेको छ ।

नेपालले भने पहिलोपटक एसिया कप खेल्न लागेको हो । भारत र पाकिस्तानजस्ता क्रिकेटका महाशक्तिसँग भिड्न पाउँदा नेपाली खेलाडी उत्साहित छन् । पछिल्लो समय एक दिवसीयमा उत्कृष्ट प्रदर्शन गर्दै आएकाले पनि यो टीमले केही चमत्कार गर्छ भन्ने आशा समर्थकहरुले राखेका छन् ।

नेपाल र पाकिस्तानबीचको म्याच मुल्तान क्रिकेट स्टेडियममा हुँदैछ, जुन ‘ब्याटिङ प्यारागाइज’ का रुपमा चिनिन्छ । यहाँको पीचमा ब्याट्सम्यानहरुले भरपुर रन बटुल्ने गरेका छन् । प्राय म्याचहरु ‘हाइस्कोरिङ हुन्छन् । टस जित्ने टिमले प्राय ब्याटिङ रोज्छन्, ताकि ठूलो टार्गेट दिएर विपक्षी टीमलाई दवावमा राख्न सकियोस ।

नेपाली टीमलाई बलिङ पीचभन्दा ब्याटिङ पीच नै बढी अनुकुल हुने गर्छन् । गति र उछाल भएको पीचमा नेपालका ब्याट्सम्यानहरु संघर्ष गर्ने गरेका छन् । त्रिवि क्रिकेट मैदानमा नेपालले राम्रो स्कोरिङ गर्ने गरेको छ र मुल्तानमा पनि त्यही शैलीमा खेल्न सके नेपालले पाकिस्तानलाई चुनौती दिन सक्छ ।

पीचको ड्राइनेसले गर्दा मुल्तानको पीच बलरका लागि भने प्रतिकुल मानिन्छ । फास्ट बलरहरुले पीचबाट खासै सहयोग पाउँदैनन् । राम्रो ब्याट्सम्यानलाई आउट गर्न बलरले अतिरिक्त प्रयास गर्नुपर्छ । विश्वस्तरीय फास्ट बलरहरु पनि मुल्तानको पीचमा पिटिने गरेका छन् ।

स्पिनरलाई भने यहाँको पीचले केही सहयोग गर्छ । खासगरि इनिङको उत्तराद्र्धमा पीच स्पिनरका लागि अनुकुल बन्ने गर्छ । यदि स्पिनरले राम्रो लाइन र लेन्थ समात्न सके भने ब्याट्सम्यानहरुलाई समस्यामा पार्न सक्छन् ।

नेपालको फास्ट बलिङ कमजोर र स्पिन बलिङ बलियो छ । सोमपाल कामी र करण केसी नेपालका प्रमुख फास्ट बलर हुन् । तर उनीहरु दुवैसँग खासै गति नभएकाले यस्तो पीचमा सफलता पाउने गुञ्जायस कम छ । त्यसैले नेपालले उनीहरु दुईमध्ये एकजनालाई बेञ्चमा राखेर ललित राजवंशीलाई अतिरिक्त स्पिनरको रुपमा प्लेइङ ११ मा समावेश गर्नु बुद्धिमत्तापूर्ण हुने देखिन्छ ।

स्पिनमा नेपालसँग सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरी पनि छन् । सन्दीप, दीपेन्द्र र ललितले स्तरीय ३० ओभर फ्याक्न सक्छन् । बाँकी २० ओभरमा पनि आवश्यक पर्दा कुशल मल्ल, कुशल भुर्तेल र स्वयम् कप्तान रोहित पौडेलले पार्ट टाइम स्पिन गर्न सक्छन् । फास्ट बलर चाहिएमा गुल्शन झा र आरिफ शेख पनि उपलब्ध हुनेछन् । तर पाकिस्तानलाई बाँधेर राख्ने हो भने नेपालले बढीभन्दा बढी स्पिन बलिङ नै गर्नुपर्ने हुन्छ ।

यो भेन्यूमा पहिलो इनिङको औसत स्कोर २५५ रन हो । दोस्रो इनिङमा ब्याटिङ केही असहज हुन सक्ने भएकाले टस जितेर पहिलो ब्याटिङ रोज्नु नै फलदायी हुने छ । यदि पाकिस्तानले पहिले ब्याटिङ गर्यो भने रनको पहाड खडा गरेर नेपाललाई दोस्रो इनिङमा पूर्णरुपमा दवावमा राख्न सक्छ ।

स्थानीय समयअनुसार दिउसो तीन बजे खेल सुरु हुनेछ । खेलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्टस् र डीडी स्पोट्र्सले गर्नेछन् ।

मुल्तान क्रिकेट स्टेडियम एउटा बहुउद्देश्यीय रंगशाला हो, जुन पाकिस्तानको पञ्जाव प्रान्तस्थित मुल्तानमा अवस्थित छ । यसमा ३० हजार दर्शक अटाउन सक्छन् । सन् २००१ मा उद्घाटन भएको यो रंगशालामा पहिलो म्याच पाकिस्तान र बंगलादेशबीच खेलाइएको थियो । एकदिवसीयमा यो रंगशालामा बनेको उच्च स्कोर ३२३ रन हो, जुन पाकिस्तानले सन् २००३ मा बंगलादेशविरुद्ध बनाएको थियो । यो रंगशालामा ३०६ रन सम्म सफलतापूर्वक चेज गरिएको छ ।


प्रतिक्रिया

One thought on “३० हजार दर्शक अट्ने यो रंगशालामा हुँदैछ नेपाल-पाकिस्तान म्याच, ब्याट्सम्यानका लागि अनुकुल पीच

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर