पाँच प्रश्नोत्तरमा बुझौँ वाग्नरको निजी जहाज दुर्घटनाका तथ्य – Nepal Press

पाँच प्रश्नोत्तरमा बुझौँ वाग्नरको निजी जहाज दुर्घटनाका तथ्य

काठमाडौं । बुधवार रुसमा भएको वाग्नर समूहको निजी जहाज दुर्घटनाले विश्व हेडलाइन बनाएको छ ।

रुसले सार्वजनिक गरेको दुर्घटनाको बारेमा अहिले विश्वभर चासो छ । सोही चासोको बारेमा पाँच प्रश्नोत्तरमा यहाँ चर्चा गरिएको छ ।

१ प्लेन दुर्घटना कहाँ भएको हो ?

रुसको भाडाका सैनिकहरू चलाउने संस्था वाग्नर समूहका प्रमुख इभ्जेनी प्रिगोजिन समेत सवार भएको भनिएको निजी जहाज रुसमा दुर्घटना भएको हो ।

रुसी राजधानी मस्को र प्रमुख सहर सेन्ट पिटर्सबर्गको बिचको क्षेत्र तेभिरमा दुर्घटना भएको हो । इम्ब्रेसरर १३५ बिजे लिगेसी ६०० जेट दुर्घटना भएको हो ।

२ जहाजमा कति सवार थिए ?

तीन चालक दलका सदस्य सहित सात यात्रु जहाजमा भएको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ । आरटीका अनुसार मस्को देखी सेन्ट पिटर्सबर्गतर्फको यात्राको क्रममा दुर्घटना भएको हो ।

आरटीका अनुसार प्रिजोगिन सहित वाग्नर समूहका ठूलठूला कमान्डरहरू समेत जहाजमा सवार भएका थिए ।

३ के वाग्नर प्रमुख प्रिगोजिनको मृत्यु भएको हो ?

रुसी मिडियाले प्रिगोजिन समेत सवार भएको यात्रु सूचि भएको जहाज भएकोले उनको पनि मृत्यु भएको हुनसक्ने बताएका छन् । तर, जहाज दुर्घटना क्षेत्रबाट भएको उद्धारमा निकालिएका अनुहारहरू सबै नचिनिने भएकोले प्रिगोजिन चिन्न अहिलेसम्म गाह्रो भएको छ ।

४ जहाज दुर्घटनाका फुटेज कसरी बाहिरिए ?

आरटीका अनुसार जहाज फनन घुमेर भुइँमा ठोकिएको केहि भिडियोहरू रुसको चर्चित सामाजिक सञ्जाल टेलिग्राममा भाइरल भएका छन् । प्रत्यक्षदर्शीले खिचेर हालेको बताइएको छ ।

५ दुर्घटनाको कारण के हो ?

हालसालै दुर्घटना भएकोले यसै भन्न सकिने अवस्था छैन । तर, दुर्घटनाका तीन कारणमा एक कारण हुन सक्छन् । एक, प्राविधिक कारण । जहाजी खराबी वा मौसमी खराबीका कारण जहाज दुर्घटना भएको हुनसक्छ । दुई, रुसले जहाज खसाएको पनि हुनसक्छ ।

रुस सत्ताले केहि महिना अगाडि विद्रोह प्रयास गरेपछि वाग्नर समूह भंग गरेको थियो । भंग गरेपछि वाग्नर समूह बेलारुस पुगेको थियो ।

बेलारुसमा भएको वाग्नर समूहको जहाज मस्कोबाट सेन्ट पिटर्सबर्गतर्फ उड्नुले रुसले कतै बोलाएर हत्या त गरेको होइन भन्ने प्रश्न उठ्छ । पुटिनले आफ्ना पछिल्ला सम्बोधनहरूमा वाग्नर अस्तित्वमै नभएको भन्दै आलोचनात्मक टिप्पणीहरू गरिरहेका थिए । त्यसको समाचार आरटीले प्राथामिकताका साथ प्रकाशन गर्दै आएको थियो ।

जहाज नेटो, युक्रेन वा पोल्यान्डले पनि झारेको हुन सक्छन् । वाग्नर समूह रुसबाट बेलारुस पुगेपछि आफ्नो सीमा सुरक्षामा तनाव भएको पोल्यान्डले बताउँदै आएको थियो । युक्रेन त वाग्नरको कट्टर दुस्मन भइहाल्यो ।

नेटोलाई सिरियादेखि अफ्रिकी महादेशसम्म तनाव दिएको वाग्नर समूह घाँडो भएकै थियो । त्यसैले यि पक्षबाट पनि जहाज खसाएको हो कि भन्ने शंका गर्न सकिन्छ । रुसका विभिन्न सहरहरूमा युक्रेनी ड्रोन हमलाहरू तारकातार भइरहेका थिए । त्यसै क्रममा जहाज खसाउन पनि हमला भएको हो कि भन्ने अनुमान गर्न सकिन्छ ।

यी नै तीन कारणमा एक कारण हो जहाज दुर्घटनाको । तर, युद्धको समयमा भएको दुर्घटना भएकोले सत्य वा तथ्य आम जानकारीमा आउने कुरामा शंकाको सुविधा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर