क्यान अध्यक्षको दौडः आकांक्षी रोशन सिंहले चतुरलाई समर्थन गर्ने ! – Nepal Press

क्यान अध्यक्षको दौडः आकांक्षी रोशन सिंहले चतुरलाई समर्थन गर्ने !

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा फेरि उठ्ने घोषणा गरेका चतुरबहादुर चन्दलाई अर्का आकांक्षी हालका कोषाध्यक्ष रोशनबहादुर सिंहले समर्थन गर्ने सम्भावना बढेको छ । यस विषयमा उनीहरूबीच प्रारम्भिक समझदारी भएको स्रोतले बतायो ।

मंगलबार साँझ वर्तमान अध्यक्ष चन्द, कोषाध्यक्ष सिंह, कार्यवाहक सचिव दुर्गाराज पाठक र पूर्वसचिव प्रशान्तविक्रम मल्लबीच छलफल भएको थियो । छलफलपश्चात खिचिएको तस्बिर सामाजिक सञ्जालमा अपलोड गर्दै पाठकले लेखेका छन्, ‘हामी चार भाइ साथमा छौं ।’

क्यानको केन्द्रीय कार्यसमिति निर्वाचन आगामी असोज ५ र ६ गते हुँदैछ । त्यसअघि ४५ जिल्लाको निर्वाचन सकेर अहिले प्रदेशको निर्वाचन भइरहेको छ । ८६ मतदाताले १७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्ने छन् ।

वर्तमान कार्यसमितीमा १० जना चन्दको पक्षमा र ५ जना उनको विपक्षमा देखिँदै आएका थिए । ५ जनाले क्यानको कार्य शैलीमा प्रश्न उठाउँदै आएका छन् । ती ५ जनासहित राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का एकातिर रहेको बताइन्छ ।

बागमती प्रदेश अध्यक्षमा उठ्ने तयारी गरिरहेका पारस क्यानको केन्द्रीय अध्यक्षमा पनि प्रतिस्पर्धा गर्नसक्ने चर्चा छ । यता चतुर पक्षले भने देशभर फेरी आफ्नो टिमको पक्षमा माहोल देखिएको र सजिलै बहुमत प्राप्त गर्ने दाबि गरिरहेको छ ।

कोषध्यक्ष सिंहले आफू निकटस्थहरूसँग क्यान अध्यक्षमा प्रतिस्पर्धा गर्ने बताइरहेका थिए । यद्यपि, उनले उम्मेदवारीको औपचारिक घोषणा गरिसकेका थिएनन् । पूर्वसचिव मल्लले चन्द र सिंह एउटै टीममा रहेको बताए ।

उनले भने, ‘हामी एउटै टीमको हो । अब चतुर दाइले घोषणा गरेपछि त्यही टिमको अर्कोले घोषणा गर्ने कुरा आउँदैन । उहाँलाई अब समर्थन गर्ने हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर