सम्पादकसँग प्रधानमन्त्री संवादको सात बुँदे समीक्षा – Nepal Press

सम्पादकसँग प्रधानमन्त्री संवादको सात बुँदे समीक्षा

‘ललिता निवासमा अदालतको आदेश र संसद विघटनकारीको मक्सद कहीँ न कहीँ मिलेको देखियो, सीआईबीको अनुसन्धानमा बाहिरबाटै प्ले हुन थाल्यो कि जस्तो लाग्दैछ’

काठमाडौं । मूलधारका प्रमुख मिडियाका सम्पादकहरुसँग प्रधानमन्त्रीले सोमबार र मंगलबार लगातार दुईपटक प्रत्यक्ष संवाद गरे । सोमबार साँझ ५ बजे बोलाइएका सम्पादकहरुलाई गठबन्धनको अपर्झट बैठकका कारण छोटो संवाद गरेर प्रधानमन्त्रीले भोलिपल्ट विस्तृत संवाद गर्नेगरी बिदा भएका थिए ।

मंगलबार दिउँसो ३ बजे सम्पादकहरु बालुवाटार छिर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सिंहदरबारमा काठमाडौंका मेयर बालेन शाहसहितको छलफलमा थिए । ५ बजे मन्त्रिपरिषद बैठकमा निस्कनुअघि २ घण्टा उनले देशका प्रमुख सन्चारमाध्यमका सम्पादकसँग सवाल जवाफमा बिताए ।

सम्पादकहरुबाट सुझाव र प्रश्न संकलन गरेर बोल्न थालेका प्रधानमन्त्रीले कतिपय विषयमा खुलेर कुरा गर्न चाहे । उनले प्रधानमन्त्रीकै सचिवालयको भिडिओ क्यामेरा र केही मोबाइलको रेकर्ड समेत बन्द गर्न लगाएर ‘अफ द रेकर्ड’ नभनी भावनात्मक अभिव्यक्ति समेत दिए ।

भयंकर षडयन्त्र र संकटको कथ्य निर्माण गरेर आफू बलियो हुन खोज्ने प्रचण्डको परम्परागत स्वभाव नै हो । मंगलबार सम्पादकहरुसँगको संवादमा पनि प्रधानमन्त्रीले केही गम्भीर संकेतहरु गरे । ललिता निवास प्रकरणमा अदालतको आदेशमा ठूलो राजनीतिक संकट खडा गर्न खोजिएको देखि सीआईबीले गरिरहेका अनुसन्धानमा बाह्य प्रभावका आशंका उनले गरे ।

प्रधानमन्त्रीले सत्ता गठबन्धनमै ठूलो संकट सिर्जना गरेर सरकार ढाल्न विभिन्न प्रकरणमा चलखेल भइरहेको बताउँदै कतिपय निर्णय सरकारकै अंगबाट भए पनि आफू लाचार वा अनविज्ञ हुने गरेको समेत उनले बताए । उनले कतिपय निर्णयहरु कहाँबाट भइरहेका छन् भनेर आफैं अन्यौलमा रहेको सुनाए ।

प्रधानमन्त्रीले समासामयिक विषयमा भनेका कुराहरु सम्पादक बालुवाटारभित्र रहदै टुक्रा टुक्रा समाचारका रुपमा अनलाइन मिडियामा आइसकेका थिए । धेरै विषयमा प्रधानमन्त्रीले प्रष्ट पारेका छन् भने कतिपय संकेतहरु गरेका छन् ।

करिब दुई घण्टाको प्रधानमन्त्रीसँगको संवाद र बडी ल्याङ्ग्वेजको संक्षिप्त समीक्षा गर्दा यस्तो बुझियोः

१. आर्थिक सूचक सकारात्मक छन्, तर अर्थतन्त्र गम्भीर संकटमा छ

२. ललिता निवासमा अदालतको आदेश र संसद विघटन गर्नेको कनेक्सन

३. सीआईबीको अनुसन्धानमा बाहिरबाटै प्ले हुन थालेको आशंका छ

४. कतिपय निर्णय कसले गरिरहेको छ, म आफैं कन्फ्युजनमा छु

५. भूराजनीतिक चलखेल र दबाब हामीले धान्नै नसक्नेगरी बढ्यो

६. तीनवटा सभापति दिँदा पनि एमालेको संसद अवरोध रहस्यमय

७. मबाहेक अरुले सक्दैन, मिडियाले सरकारलाई सहयोग गर्नुपर्यो

बुँदा नम्बर १- प्रधानमन्त्रीले शुरुमै देशको आर्थिक अवस्था र अर्थतन्त्र गम्भीर मोडमा रहेको स्वीकार गरे । भर्खरै मौद्रिक नीतिको बारेमा समेत छलफल गरेको सुनाउँदै उनले रेमिट्यान्स, डलर सञ्चितीलगायतको बढोत्तरीले आर्थिक सूचकहरु सकारात्मक रहे पनि अर्थतन्त्र संकटग्रस्त रहेको बताए । विशेषगरी व्यापार, व्यवसायी र उद्योगपतिहरुमा चरम निराशा तथा असुरक्षा रहेको स्वीकार पनि गरे । अझ यसबीचमा ठूला ब्यापारीमाथि भएको धरपकड तथा भागभागको अवस्थाबारे सम्पादकहरुले गरेको आलोचनामा प्रधानमन्त्रीले पनि कहीँ न कहीँ त्रुटी भएको स्वीकारे ।

बुँदा नम्बर २- ललिता निवास प्रकरणमा अदालतको आदेशप्रति प्रधानमन्त्री प्रचण्ड असन्तुष्टमात्र देखिएनन्,उनले गम्भीर आशंका समेत व्यक्त गरे । सरकारले अनुसन्धान गरेर मन्त्री तहमा पुगेका बेला निर्णय गर्ने प्रधानमन्त्रीलाई पनि अनुसन्धान गर भन्नुले आफूहरुलाई गम्भीर आशंका भएको बताए । उनले यसलाई सामान्य रुपमा लिन नहुने भन्दै संसद विघटन गर्नेहरु र अदालतको आदेशकोबीच मिलन देखिएको आरोप लगाए । उनले अब मन्त्री र प्रधानमन्त्रीहरुले काम गर्न नसकने अवस्था आएको र यसअघि सचिवहरुले फाइलमा सही गर्नै नमानेको अनुभव सुनाए ।

बुँदा नम्बर ३- अहिले भ्रष्टाचार र संगठित मुद्दाहरुको अनुसन्धानमा सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई सक्रिय बनाएको छ । तर प्रधानमन्त्री सीआईबीकै अनुसन्धानमा विश्वस्त देखिएनन् । उनले सम्पादकहरुसँग खुल्दा खुल्दै भनिहाले- कतै सीआईबीको अनुसन्धानमा बाहिरबाट प्ले भइरहेको त छैन ? मलाई आशंका भइरहेको छ । ललिता निवास प्रकरणमा आफूले नचाहेको भइरहेको र सुन तस्करीमा पनि बाहिरतिरबाट सीआईबी प्रभावित भइरहेको हो कि भन्ने प्रधानमन्त्रीको आशंका बुझियो । महराको कनेक्सनकै प्रकरणमा पनि उनले सीआईबीको भूमिकाप्रति असन्तुष्टि जनाए । महराको संलग्नता नभए किन अभियोजन पत्रमा उनको र छोराको नाम अनावश्यक रुपमा राखियो र संलग्नता भए किन अभियोग लगाइएन भनेर आफूले प्रश्न गरेको उनले बताए ।

बुँदा नम्बर ४- आफू कार्यकारी प्रधानमन्त्री भए पनि कतिपय निर्णयहरु कहाँबाट कसले गरिरहेको छ भनेर बेला बेलामा आफैं ‘कन्फ्युजन’मा रहेको उनले सुनाए । प्रधानमन्त्रीमा आफ्नै संयन्त्रहरुमाथि समेत आशंकामात्र होइन फँसाउछन् कि भन्ने डर पैदा भएको सहजै बुझ्न सकिन्छ । उनले सुनिल शर्माको गिरफ्तारी पनि एक सातासम्म रोकेका रहेछन् ।

सबै प्रमाण पुगेको र पक्राउ नगरे बर्बादै हुने भनेर आफूलाई ब्रिफिङ गरिएको भन्दै उनले पक्राउ गर्ने बेला ‘झ्यापझुप’ तरिकाले थाहै नदिएको संकेत गरे । बिना तथ्य र प्रमाण धरपकड र जता पनि हात हाल्दा समस्या भएको उनको संकेत बुझिन्छ । उनले धेरै विस्तारमा त गएनन् तर आफूले थाहै नपाई भइरहेका कतिपय गतिविधिले गठबन्धनलाई नै संकटमा पार्ने र सरकार नै ढल्ने अवस्था आउन सक्नेमा सचेत देखिए ।

बुँदा नम्बर ५- नेपाल भूराजनीतिक भूमरीमा फँस्दै गएको र कतिपय अवस्थामा धान्नै नसक्नेगरी शक्ति राष्ट्रहरुको दबाबमा परेको अनुभव प्रधानमन्त्रीले सुनाएका छन् । नेपालमा अब भारतमात्र होइन अमेरिका र चीनको पनि प्रत्यक्ष सक्रियता बढेको प्रधानमन्त्रीले स्वीकार गरेका छन् । यी शक्ति राष्ट्रका स्वार्थहरुको मैदान नेपाल बन्न सक्नेमा उनी गम्भीर देखिए । यसमा रुस युक्रेन युद्ध र पछिल्लो शक्ति सन्तुलनको पनि उनले व्याख्या गरे । यसै क्रममा उनले आगामी महिना अमेरिकाबाट सिधै चीनको भ्रमण गर्न लागेको र केही महत्वपूर्ण सफलता यस भ्रमणबाट पनि हात लाग्ने उनको दाबी छ ।

बुँदा नम्बर ६- प्रधानमन्त्रीको संकेत प्रष्ट रुपमा के देखिन्छ भने नेकपा एमाले संसद अवरोधलाई विघटनको बिन्दूसम्म लैजान चाहन्छ । अदालतको पछिल्लो आदेश र संसद विघटनको सन्दर्भ जोडेका प्रधानमन्त्रीले सरकार र संसदलाई असफल बनाउने खेल भइरहेको भन्दै त्यो खेल सफल हुन भने नदिने बताए । एमालेसँग छलफल भएर ३ वटा संसदीय समितिको सभापति दिएर सदन खुलाउने सहमति भएकोमा संसद भवन नपुग्दै केपी ओलीले सहमति नमानेको दाबी गरे ।

उनले संसद नचल्दा धेरै चीज बिग्रने र एमालेले त्यही चाहिरहेको बताए । एमालेको संसद अवरोधभित्र निकै ठूलो रहस्य लुकेको प्रधानमन्त्रीको बुझाइ रहेछ । यसमा प्रधानमन्त्रीको भय पनि झल्किन्छ । उनले त्यही मेसोमा गिरिबन्धु टि स्टेटको फाइल पनि खोल्न लागिएको प्रसंग झिके । त्यसमा केपी ओलीको सरकारको नीतिगत निर्णयमाथि प्रश्न उठाएर दबाबमा राख्न सकिन्छ कि भन्ने आशय प्रधानमन्त्रीमा भल्किन्छ । तर त्यो प्रकरण प्रतिशोधको हिसाबले आउँछ कि फाइल खोल्न सक्ने आधार छन् ? यसबारे उनले प्रष्ट पारेनन् ।

बुँदा नम्बर ७- प्रधानमन्त्रीले अन्तिममा र त्यसअघि पटक पटक दोहोर्याएको एउटा वाक्य स्मरणीय छ, त्यो के भने– मैलेबाहेक अरुले देशको अहिलेको अवस्था पार लाउन सक्दैन । कम्तिमा यसपटक मबाहेक अरु विकल्प नखोजियोस् र मलाई सबैले सहयोग गरुन् । यो पटक आफूबाहेक अरु प्रधानमन्त्री बन्न नमिल्ने अवस्था भएकैले समीकरण फेरि फेरि आफू बनेको भन्दै मिडियाबाट सहयोग होस् भन्ने आशा व्यक्त गरे । मिडियाको सहयोग आफूलाई चाहिएको भन्दै आलोचना शुरु भएकोमा उनले चित्त दुःखाएका रहेछन् ।

उठ्दा उठ्दै पनि प्रधानमन्त्रीले भने- मबाहेक अरुबाट पार लाग्दैन है, तपाईंहरुले गम्भीर भएर सोच्नुस् र अलि मज्जाले नै सहयोग गर्नुस् ।


प्रतिक्रिया

One thought on “सम्पादकसँग प्रधानमन्त्री संवादको सात बुँदे समीक्षा

  1. अदालतले प्रधानमन्त्री भन्दैमा छोडन मिल्दैन भन्यो । के संसद विघटन सँग कनेक्सन देखियो ? माधवलाई कारवाहि हुँदा तिम्रो पद धरापमा पर्ने भयो भनेर कनेक्सन ? लाज छैन अलिकति जे पनि भन्न ? प्रधानमन्त्रीले ले जे गरे पनि कानून नलाग्ने ? महाराज हौ तिमीहरू ? चोलेन्द्रले यहि निर्णय गर्न खोज्दा महाअभियोग लगायौ । सधै सबैलाई महाअभियोग लगाउँला भन्ठानेको ? यस्ता चटके कुरा अब जनताले पत्याउनेवाला छैनन । तिमीहरू भ्रष्टाचारी हौ । विदेशीका दलाल हौ भनिरहेका छन् जनताले । होशियार चटकेहरू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर