प्रधानमन्त्री र गृहमन्त्रीको कदमबाट झस्कियो कांग्रेस- एमालेको उच्चस्तरीय छानबिन समितिको अडानमा साथ देला ? – Nepal Press

प्रधानमन्त्री र गृहमन्त्रीको कदमबाट झस्कियो कांग्रेस- एमालेको उच्चस्तरीय छानबिन समितिको अडानमा साथ देला ?

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस पनि सुन प्रकरणमा उच्चस्तरीय छानबिन गठन गर्नुपर्ने पक्षतिर ढल्किएको छ । समितिको अडान राख्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गरिरहेको बेलामा सत्तारुढ नेपाली दल कांग्रेस पनि समितिकै पक्षमा उभिने देखिएको हो ।

शुक्रबारदेखि बसेको पार्टी संसदीय दलको बैठकमा अधिकांश सांसदहरुले सुन प्रकरणलाई टुंगोमा पुर्याउनुपर्ने जोड दिएका छन् । यद्यपी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो पार्टीका नेताहरुलाई जोगाएर अन्य पार्टीका नेताहरुमाथि मात्रै छानबिन अघि बढाएपछि कांग्रेस नेतृत्व पनि झस्किएको छ ।

इलेक्ट्रिक सिगरेट (भेप) भित्र ९ किलो सुन लुकाएर ल्याउने तस्करसँग महरा र उनका छोरा राहुलको नाम जोडिँदासमेत छानबिन प्रक्रिया अघि बढाएको छैन । तर, प्रधानमन्त्री र गृहमन्त्रीले राजनीतिक पूर्वाग्रह साँधेको नेताहरुले आरोप लगाएका छन् ।

कांग्रेसका सांसद उदयशमशेर राणाले सरकारले अघि बढाएको छानबिनमा कांग्रेस नेताहरुलाई मात्रै टार्गेट गरेकोप्रति असन्तुष्टि व्यक्त गरे ।

उनले भने, ‘कांग्रेसका नेता कार्यकर्तामाथि मात्रै अनुसन्धानको घेरामा राख्न मिल्दैन । महराका बाउछोराको सुन प्रकरणमा नाम जोडिरहेको छ उहाँहरुमाथि किन छानविन भएन त्यो कुरा पनि आएको छ ? भुटानी शरणार्थी प्रकरणमा पनि त्यो प्रक्रिया बादल गृहमन्त्री हुँदा सुरु भएको छ । किन उहाँलाई अनुसन्धानमा ल्याइएन। अरुलाई किन ल्याइयो ? तर, कांग्रेसलाई मात्रै टार्गेट गरियो ?’

त्यसो त कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्रीको पीए रहेका नवराज ढुंगानालाई राजश्व अनुसन्धानको प्रमुख बनाएर पठाइले अनुसन्धानमा शंका गर्ने ठाउँ भएकाले उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने पक्षमा उभिएका छन् ।

अहिले सुन प्रकरणलाई टुंगोमा पुर्याउनको लागि उच्च स्तरको न्यायिक समिति बनाउनुपर्नेमा दलहरुको समर्थन बढ्दै गइरहेको छ ।

नेता कोइरालाले प्रधानमन्त्री र गृहमन्त्रीले प्रतिशोध साँध्न खोजेको आरोप लगाए । हङकङबाट क्वीन्टल सुन आइरहेको अवस्थामा गृहमन्त्रीले त्यहाँको अवस्थाबारे जानकारी लिन पत्र पठाएको या नपठाएको स्पष्ट पार्न माग गरे ।

उनले भने, ‘सुन बाहिरबाट ल्याएर नेपाललाई अखडा बनाइँदैछ । यहाँबाट टनका टन भारत गइरहेका छ । योभन्दा धेरै टनका टन सुन पहिला पनि गएको हुनसक्छ । सुन तस्करी प्रकरणलाई हामीले गम्भीर रुपमा लिनुपर्छ, सोच्नुपर्छ। प्रधानमन्त्रीको निजी सचिवलाई राजस्व अनुसन्धान विभागको प्रमुख बनाएर पठाएको सात दिनमै एक क्विन्टल सुन समातिएको छ ।’

अहिले अनुसन्धान झन् गिजोलिएको भन्दै त्रिभुवन विमानस्थल सुन तस्करको अखडा भइसकेको दाबी गरे ।

यस्तै, अर्का सांसद सांसद प्रदीप पौडेलले पनि सुन प्रकरणमा उच्च स्तरिय छानबिन समिति गठन गर्न माग गरे । सरकारले समिति गठन गर्न नचाहे प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन समेत फिर्ता गर्नुपर्ने उनले बताए ।

पौडेलले भने, ‘प्रधानमन्त्री र गृहमन्त्री छानबिनका समिति गठन गर्न तयार हुनुहुन्न । यो देख्दा उच्च तहसम्म संलग्नता भएको देखिन्छ । अब छानबिन समितिको प्रस्ताव कांग्रेसले नै गर्नुपर्छ । यदि उहाँहरू तयार भएर प्रचण्ड नेतृत्वको सरकारमाथि दिएको समर्थन फिर्ता लिनुपर्छ ।’

त्यसो त कांग्रेसका अर्का सांसद सुनिल शर्माले पनि सुरुदेखि नै गृहमन्त्री र अर्थमन्त्रीमाथि प्रश्न उठाउँदै छानबिन समितिको माग राख्दै आइरहेका छन् । उनले गृहमन्त्रीको राजीनामा आफ्नो बटमलाइन भएको उल्लेख गर्दै संसदमा बोल्न नदिए विद्रोह गर्ने चेतावनी दिए ।

उनले भने, ‘मैले बैठकमा पनि यो यो सरकार आतंककारी हो भनेँ । मलाई सरकारमा भएको फिल भएको छैन । गृहमन्त्रीले उत्तर कोरियाजस्तो आतंककारी व्यवस्था लागू गरिरहेका छन् । उनले राजीनामा दिनुपर्छ । यो सरकार टिक्दैन ।’

उनले विहान मात्रै बालकोट गएर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर कांग्रेस र एमालेको सरकार बनाउन पहल गर्ने बताएका थिए । उनी बालकोट पुगेपछि उनीमाथि पनि नेताहरुले प्रश्न उठाएका थिए । पार्टीबाटै अर्थमन्त्री बनेका डा. प्रकाशशरण महतमाथि पनि प्रश्न उठाएपछि उनले बैठकबाट आरोपको पुष्टि गर्न चुनौति दिए ।

अर्थमन्त्री महतले भने, ‘ममाथि लाञ्छना लगाएर अनावश्यक शंका गर्ने काम भएको छ । मैले पदमा बसेर गलत गरे भनियो । प्रमाण देखाउनुस् म यो पद छाड्न तयार छु ।’

त्यसो त सुन प्रकरणमा छानविन समितिको माग गर्दै एमालेले अडान राखिरहेको बेलामा राप्रपाले पनि साथ दिएको छ । योसँगै कांग्रेसका संस्थापनइतरका नेताहरुले पनि समितिकै पक्षमा उभिएका हुन् । तर, अहिलेसम्म पार्टीले औचापरिक निर्णय गरेको छैन ।

प्रमुख सचेतक रमेश लेखकले भोलि बिहान बस्ने बैठकले महत्वपूर्ण निर्णय लिने बताए । उनले भने, ‘अहिलेसम्म ५० जनाले बोल्नुभएको छ । अब भोलि ११ बजे बैठक बस्छ । सबैको धारणलाई समेटेर भोलि महत्वपूर्ण प्रस्ताव पारित गर्छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर