राप्रपामा चन्दलाई अघि सारेर लिङदेनविरुद्ध घेराबन्दी प्रयास, किन असन्तुष्ट छन् डा. लोहनी ? – Nepal Press

राप्रपामा चन्दलाई अघि सारेर लिङदेनविरुद्ध घेराबन्दी प्रयास, किन असन्तुष्ट छन् डा. लोहनी ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका बयोवृद्ध नेता लोकेन्द्रबहादुर चन्द करिब एक दशकदेखि लगभग निष्क्रिय अवस्थामा छन् । तर, एकाएक उनलाई ‘सक्रिय’ गराउँदै पार्टीभित्रको एउटा समूहले अध्यक्ष राजेन्द्र लिङदेनदमाथि धावा बोल्ने प्रयास गरेको छ ।

८५ वर्षीय नेता चन्दले हिजो आफैंले एक लट अध्यक्षबाहेकका थुप्रै नेताहरूलाई फोन घुमाए । पार्टीको केन्द्रीय निर्देशन समितिमा रहेका नेताहरूलाई फोन गरेर उनले ‘अनौपचारिक भेटघाटका लागि’ भन्दै आफ्नो निवासमा निम्त्याएका थिए । यसरी बोलाउनुको उद्देश्य थियो, अध्यक्ष लिङदेनमाथि संगठित दबाब बढाउनु । तर, उद्देश्य पूरा नभएको स्रोतहरू बताउँछन् ।

संस्थापननिकट एक नेताकाअनुसार चन्दले आफ्नै स्वविवेकमा यो पहलकदमी लिएका होइनन् । उनलाई अर्का बयोवृद्ध नेता डा. प्रकाशचन्द्र लोहनी (उमेर करिब ८० वर्ष) ले प्रयोग गरेको ती नेताको दाबी छ ।

‘डा. लोहनीले चन्दलाई सिखण्डी बनाउनु खोज्नुभएको हो, तर पहिलो प्रयास नै असफल भयो,’ ती नेताले भने ।

चन्द आफैंले फोन गर्दा पनि बैठकमा थुप्रै प्रभावशाली नेताहरू आएनन् । पूर्वअध्यक्ष पशुपतिशम्शेर राणा (उमेर ८२ वर्ष) ले चन्दको निम्तो अस्वीकार गरे । निर्वाचित पदाधिकारीहरू बुद्धिमान तामाङ, विक्रम पाण्डे, रोशन कार्की, भुवन पाठक र कुन्ती शाही पनि बैठकमा गएनन् । बैठकमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, मनोनीत उपाध्यक्षहरू हेमजङ गुरुङ र उद्धव पौडेल, निर्वाचित महामन्त्री डा. धवलशम्शेर राणा र राजेन्द्र गुरुङ, कोषाध्यक्ष नीलकण्ठ काफ्ले, नवराज सुवेदी, हरिबबहादुर बस्नेत, निरञ्जन थापा, दीपक बोहरालगायतका नेताको उपस्थिति थियो ।

केही दिनअघि पार्टीका ८० वर्ष नाघेका तीन बयोवृद्ध नेताहरू डा. लोहनी, हरिबहादुर बस्नेत र नवराज सुवेदीले चन्दलाई भेटेर गनगन गरेका थिए । अध्यक्ष लिङदेनले विधि मिच्दै गएको र निर्णय प्रक्रियामा वृद्ध नेताहरूलाई उपेक्षा गरेको गुनासो उनीहरूको थियो । उनीहरूले नै चन्दलाई निर्देशन समितिका सदस्यहरूको अनौपचारिक बैठक बोलाउन कन्भिन्स गरेका हुन् ।

के भयो बैठकमा ?

बैठकमा लोहनीसहित सुवेदी र बस्नेतले अध्यक्ष लिङदेनको कार्यशैलीमाथि प्रश्न उठाएका थिए । आफूहरूले दु:ख गरेर पार्टी निर्माण गरेको तर, अहिले आएर पुरानो पुस्तालाई उपेक्षा गरिएको उनीहरूको आवाज थियो । पार्टी विधिसम्मत नचलेर अध्यक्षको तजविजमा चलिरहेको आरोप उनीहरूले लगाए । अध्यक्ष लिङदेनले आफूहरूसँग सल्लाह नगरिकन मनोमानीरूपमा अध्यक्ष र केन्द्रीय सदस्यहरू नियुक्त गरेको तथा विभागहरू गठन गरेको असन्तुष्ट नेताहरूको भनाइ थियो । वरिष्ठ उपाध्यक्ष मिश्रले भने तटस्थ विचार राखेका थिए । उनले पार्टी विधि र पद्दतिमा चल्नुपर्नेमा जोड दिए तर लिङ्देनको खासै आलोचना गरेनन् ।

छलफलमा सहभागी धेरै नेताहरूले भने लिङदेनको बचाउ गरेका थिए । राप्रपाको गत महाधिवेशनमा विधान मस्यौदा समितिका संयोजकसमेत रहेका निरञ्जन थापाले विधि मिचेर उपाध्यक्ष तथा केन्द्रीय सदस्यहरू नियुक्त गरिएको भन्ने आरोपको प्रतिवाद गरे । उपाध्यक्ष राजेन्द्र गुरुङले पार्टी अध्यक्षलाई बाहिर राखेर यसरी बैठक बस्नुको औचित्व नरहेको बताए ।

अर्का उपाध्यक्ष प्रल्हाद शाहले चन्दमाथि नै पार्टी विभाजन गरेर राप्रपालाई कमजोर बनाएको आरोप लगाएका थिए ।

उनले भने, ‘राप्रपा अहिले कहाँबाट कहाँ पुगिसक्थ्यो । तपाईंले नै फुटको श्रृंखला सुरू गर्नुभएको हो । सुरूमै दुईवटा पार्टी खोल्नुभयो । सुरुदेखि एकताबद्ध भएको भए अहिले हामी राष्ट्रिय राजनीतिको निर्णायक शक्ति रहनु पुग्थ्यौं ।’

यसरी अध्यक्ष लिङदेनको बचाउ गर्नेहरू हाबी भएपछि वैठकले कुनै निर्णय लिन सकेन । चन्दले थुप्रै नेताहरू आफूकहाँ गुनासो लिएर आएकाले आफूले यो भेटघाट राखेको स्पष्टीकरण दिएका थिए ।

यस्तो छ विवादको चुरो

राप्रपा विवादको जरो खोज्न अलिकति पछाडि फर्किनुपर्छ ।

राप्रपाको २०७८ साल पुसमा भएको महाधिवेशनमा कमल थापा र राजेन्द्र लिङदेनबीच चुनावी भिडन्त भएको थियो । त्यसमा डा. लोहनीले लिङदेनलाई समर्थन गरेका थिए । पशुपतिशमशेर राणा घोषितरूपमा ‘तटस्थ’ रहे पनि उनको झुकाव कमल थापातर्फ थियो । लोकेन्द्रबहादुर चन्द महाधिवेशन प्रतिनिधि थिएनन्, तर उनका छोरा जयन्त चन्दले कमल थापालाई समर्थन गरेका थिए । उनी अहिले निर्देशन समितिका सदस्य छन् ।

महाधिवेशनपछि लोहनीलाई पार्टीको शक्तिशाली निर्देशन समितिको अध्यक्ष बनाइयो । यो समितिमा पूर्वप्रधानमन्त्रीका हैसियतले लोकेन्द्रबहादुर चन्द पनि सदस्य छन् । पूर्वअध्यक्ष राणा, पार्टीका वरिष्ठ उपाध्यक्ष मिश्रसहित सबै उपाध्यक्ष तथा महामन्त्रीहरू पनि निर्देशन समितिका पदेन सदस्य रहेका छन् । पछिल्लो समय लोहनी र वरिष्ठ उपाध्यक्ष मिश्रको निकटता बढेको छ । यद्यपि, मिश्र अध्यक्ष लिङदेनले खिलाफमा छैनन् ।

डा. लोहनी भने लिङदेनसँग चिढिँदै गएका छन् । उनको असन्तुष्टि गत मंसिरमा भएको संसदीय चुनाव अघिदेखिको हो । उक्त चुनावका लागि समानुपातिक उम्मेदवार तय गर्ने क्रममा राप्रपामा लोहनी र राणाबीच रस्साकस्सी भएको थियो । प्रत्यक्षमा उम्मेदवार नबनेका उनीहरु दुवै समानुपातिकबाट संसदको यात्रा गर्न चाहन्थे । त्यसमा पनि आफूलाई खस आर्यतर्फ एक नम्बरमा राखिनुपर्ने दुवैको अडान थियो ।

अप्ठेरोमा परेका लिङदेनमाथि चलाखी गर्दै एक नम्बर उम्मेदवार छान्ने जिम्मा कार्यसम्पादन समितिका सदस्यहरुलाई सुम्पिए । यो समितिभित्र समानुपातिकमा लोहनी र राणामध्ये कसलाई एक नम्बरमा राख्ने भनेर मतदान नै भयो । राप्रपाको इतिहासमा पहिलोपटक यसरी कार्यसम्पादन समितिभित्र मतदानबाट निर्णय लिइएको थियो । यस मतदानमा लोहनीलाई पछि पार्दै राणा विजयी बने । उनी समानुपातिक उम्मेदवारको सूचीमा पहिलो स्थानमा रहे ।

निर्वाचनपछि पार्टीले एकजना मात्रै खस आर्य पुरुषबाट संसदमा प्रतिनिधित्व गराउन पाउने भयो । त्यसबमोजिम स्वतः राणालाई सिफारिस गरियो । लोहनी हिस्स परे । त्यसयता लोहनीले कुण्ठा पालेर बसेको बताइएको छ । आफूले महाधिवेशनमा खुलेर सहयोग गर्दा पनि लिङ्देनले आफूलाई सांसद बन्न सहयोग नगरेको उनको गुनासो छ ।

यतिबेला पार्टीका प्रभावशाली महामन्त्री डा. धवलशम्शेर राणा पनि अध्यक्ष लिङ्देनसँग खुशी छैनन् । उनी पार्टीभित्र एक्ला स्थायी प्रतिपक्षजस्तै हुन् । उनले महाधिवेशनमा लिङ्देनको प्यानलबाट जितेका थिए । तर, अहिले उनी लिङ्देनको कार्यशैलीसँग निकै असन्तुष्ट रहेको बुझिएको छ । लोहनी–राणाको भनाइमा राप्रपा अध्यक्ष लिङ्देन विधि-पद्दतिमा नचलेर आफूखुशी निर्णयहरू लिइरहेका छन् । यसमा वरिष्ठ उपाध्यक्ष मिश्रको पनि आंशिक सहमति छ ।

बरु गत महाधिवेशनमा कमल थापाको प्यानलबाट जितेका पदाधिकारीहरू भने लिङदेनसँग मिलेरै काम गरिरहेका छन् । उनीहरू चन्दले बोलाएको ‘अनौपचारिक भेटघाट’ सहभागी भएनन् । थापाको प्यानलबाट जित्नेहरूमा उपाध्यक्षहरू बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र रोशन कार्की तथा महामन्त्री भुवन पाठक र कुन्ती शाही छन् । उनी कोही पनि कमल थापाले खोलेको राप्रपा नेपालमा गएनन् । अहिले लिङदेनसँग उनीहरूको खासै गुनासो छैन ।

जथाभावी उपाध्यक्ष नियुक्तिले किचलो

लिङदेनले हालैमात्र दिलविकास राजभण्डारीलाई उपाध्यक्ष नियुक्त गरेका छन् । यससँगै राप्रपामा उपाध्यक्ष संख्या ९ पुगेको छ । जबकि विधानले ८ जना मात्रै उपाध्यक्ष रहनसक्ने व्यवस्था गरेको छ । मनलाग्दी उपाध्यक्षहरु बनाएर लिङ्देनको विधानको धज्जी उडाएको असन्तुष्ट समूहको आरोप छ ।

संस्थापन पक्षले भने अध्यक्ष राजेन्द्र लिङदेनले सबै पक्षलाई मिलाएर सन्तुलितरूपमा पार्टीको नेतृत्व गरिरहेको दाबी गरेको छ । लिङदेननिकट एक पदाधिकारीले अहिलेको विवाद डा. लोहनीको कुण्ठाको उपजमात्रै भएको बताए ।

‘महाधिवेशनमा कमल थापालाई समर्थन गरेका नेताहरूलाई समेत विश्वासमा लिएर उहाँले काम गरिरहनुभएको छ । तर, डा. लोहनीले आफ्नो व्यक्तिगत इगोका आधारमा चन्दलाई अध्यक्षविरुद्ध प्रयोग गर्न खोज्नुभयो,’ ती पदाधिकारीले भने, ‘विधिको कुरा गर्नेहरूले नै विधिविपरीत गुट भेला बोलाए ।’

लिङदेन नेतृत्वमा राप्रपाले गत संसदीय निर्वाचनमा पार्टीको स्थिति सुधार गरेको थियो । अघिल्लो चुनावमा संघीय संसदमा प्रत्यक्षतर्फ एक सीटमात्र जितेको राप्रपाले यसपालि १४ सीट जितेको छ भने प्रदेशमा १८ जना निर्वाचित भएका छन् । स्थानीय चुनावमा पनि यसपटक राप्रपाको सन्तोषजनक परिणाम छ ।

पार्टीमा उपाध्यक्षहरूको बिस्कुन लगाएकोमा भने लिङदेन आलोचित छन् । विधानमा उल्लेखित संख्याभन्दा बढी उपाध्यक्ष नियुक्ति गरिएकोमा संस्थापन पक्षको आफ्नै तर्क छ । महाधिवेशनपछि सहमतिका आधारमा बाहिरबाट आएर वरिष्ठ उपाध्यक्ष बनाइएका रवीन्द्र मिश्रलाई ८ जनाको कोटामा राख्न नमिल्ने संस्थापन पक्षका नेताहरू बताउँछन् ।

‘विधान उल्लंघन भएको छैन । हामीले बाहिरका दल र समूहहरूसँग वार्ता गरेर उनीहरुलाई उचित जिम्मेवारी दिन सकिने व्यवस्था गरेका छौं । त्यसअनुसार बनाइएका उपाध्यक्ष विधानले तोकेको ८ जनाभित्र पर्दैनन्,’ एक पदाधिकारीले भने ।

मिश्र भन्छन्- गुटबन्दी गरेको होइन

यसैबीच राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले हिजोको बैठकका विषयमा सामाजिक सञ्जालबाट प्रष्टीकरण दिएका छन् । चन्दको आमन्त्रणमा शिष्टाचारवस अनौपचारिक छलफलमा सहभागी भएको उनको भनाइ छ ।

मिश्रले लेखेका छन्, ‘स्वास्थ्यका कारण घरबाट बाहिर हिँडडुल गर्न गाह्रो पर्ने झण्डै ८५ वर्ष उमेरका पार्टीका एकमात्र जिवित संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले यसो भेटघाट र छलफलका लागि मैले ‘निर्देशन समिति’ मा रहेका साथीहरूलाई शनिबार ३ बजे बोलाउँदै छु, आउनोस् न है’ भन्नुभएपछि नजाने भन्ने कुरै थिएन । शिष्टताको लागि पनि जानैपर्थ्यो ।’

भेटघाटमा पुराना नेताहरूको ‘नोस्ट्यालजिक’ हाँसठट्टादेखि लिएर, देशको राजनीति, पार्टीको राजनीति, पारिवारिक कुराकानी सबै भएको उनको भनाइ छ ।

‘त्यति राम्रो भेटघाटलाई गुटबन्दी भनेर सूचना दिने पनि कस्ता होलान्, छाप्ने पनि कस्ता होलान् ?’ मिश्रको प्रश्न छ । राप्रपाका मूलभूत एजेण्डा स्थापित नभइ देशको राजनीति ठीक ठाउँमा नआउने भन्दै उनले त्यसका लागि राप्रपा एक ढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

‘कमजोर र विभाजित पार्टीले कुनै हालतमा आफ्नो एजेण्डा स्थापित गर्न सक्दैन,’ उनी भन्छन्, ‘मेरो हर प्रयास सबल र सुदृढ राप्रपा निर्माण गरेर यो देशको राजनीति ठीक ट्र्याकमा लेराउने, देशको दूरगामी हितसहितको रूपान्तरण सुनिश्चित गर्ने र भावी पुस्ताका लागि यो देश बस्न योग्य बनाउनेमा केन्द्रित छ र रहनेछ । यसमा कसैलाई भ्रम नरहोस् ।’


प्रतिक्रिया

One thought on “राप्रपामा चन्दलाई अघि सारेर लिङदेनविरुद्ध घेराबन्दी प्रयास, किन असन्तुष्ट छन् डा. लोहनी ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर