एसिया कपमा नेपालको सम्भावित लाइन अप : तेस्रो नम्बरमा को ? – Nepal Press

एसिया कपमा नेपालको सम्भावित लाइन अप : तेस्रो नम्बरमा को ?

काठमाडौं । आउँदो अगष्ट ३० बाट सुरु हुने एसिया कप क्रिकेटका लागि नेपालका क्रिकेट समर्थकहरु धड्कन थामेर बसिरहेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले एक–दुई दिनमा एसिया कप खेल्ने नेपालको टिम घोषणा गर्दै छ ।

एसियाली क्रिकेट काउन्सील (एसीसी) ले अधिकतम १७ सदस्यीय टिम एसिया कपमा सहभागी गराउन अनुमति दिएको छ । त्यस बमोजिम छनोट समितिले क्रिकेट संघलाई खेलाडीहरुको छनोट गरेर क्यानमा बुझाइसकेको स्रोतले बतायो । प्रमुख प्रशिक्षक मोन्टी देसाइले त्यसलाई सदर गरेपछि सार्वजनिक घोषणा गरिने छ ।

स्रोतका अनुसार अहिले घोषणा गरिने टिममा कुनै पनि ठूलो ‘सरप्राइज’ हुने छैन । नेपालका लागि विशिष्ट महत्वको प्रतियोगिता भएकाले नयाँ एक्सपेरिमेन्टको सम्भावना नरहेको स्रोत बताउँछ । टिममा नियमित खेल्दै आएका खेलाडीहरु १७ सदस्यीय स्क्वाडमा रहनेछन् ।

छनोट समितिका अनुसार अहिले नेपाली राष्ट्रिय टीममा पर्न सक्ने सबै सम्भावित खेलाडीहरु एसिया कपका लागि उपलब्ध छन् । यसअघि इमर्जिङ एसिया कपमा केही महत्वपूर्ण खेलाडी विभिन्न कारणले अनुपस्थित थिए । उक्त प्रतियोगितामा नेपालले केही युवा खेलाडीलाई चान्स दिएको थियो । एसिया कपमा भने नेपालले आफ्नो फस्र्ट च्वाइस टिम नै मैदानमा उतार्ने छ । क्यानाडामा ग्लोबल टि–२० खेल्न पुगेका सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी पनि नेपाल फर्किसकेका छन् ।

एसिया कपको समूह चरणमा नेपालको भिडन्त पाकिस्तान र भारतसँग छ । पाकिस्तानले आफ्नो टिम घोषणा गरिसकेको छ भने भारतले गर्न बाँकी छ । दुवै देशले आफ्नो ‘फुल स्ट्रेन्थ’ को टिम एसिया कपमा पठाउने छन् । यद्यपि, भारतको अहम्ताले गर्दा नेपालसँगको खेलमा उसले बिराट कोहली, रोहित शर्मा लगायत केही खेलाडीलाई नखेलाउन सक्ने सम्भावना पनि छ ।

ओपनरमा कुशल र आसिफ नै

विगतमा नेपालका लागि ओपनिङ जोडी सँधै टाउको दुखाइको विषयका रुपमा रहँदै आएको थियो । कुशल भुर्तेल र आसिफ शेखले त्यसको समाधान दिए । उनीहरुले नै एसिया कपमा नेपालको ओपनिङ सम्हाल्ने छन् ।

दुवै ब्याट्सम्यानले आफूलाई म्याचविनरका रुपमा पटक–पटक सावित गरिसकेका छन् । यो जोडीले राम्रो स्टार्ट दियो भने नेपालले बलिया टिमहरुलाई पनि अत्याउन सक्छ । जिम्बाबेविरुद्धका एकदिवसीयमा कुशल र आसिफले १७४ रनको विशाल साझेदारी गर्दै त्यसको छनक दिएका थिए । उक्त म्याचमा कुशल ९९ रन बनाएर आउट भएका थिए ।

यद्यपि, आसिफको फर्म पछिल्ला केही म्याचमा अलिकति खस्किएको छ । नेपालले अतिरिक्त ओपनरका रुपमा विकेटकिपर ब्याट्सम्यान अर्जुन साउदलाई समावेश गर्ने सम्भावना छ । तर, अनुभवका कारण अर्जुनभन्दा आसिफलाई नै नेपालले प्राथमिकतामा राख्नेछ ।

तेस्रो नम्बरमा को ?

पछिल्लो केही समयदेखि नेपालको ब्याटिङ लाइनमा तेस्रो नम्बर भने अस्थिर बनिरहेको छ । विगतमा लामो समय ज्ञानेन्द्र मल्ल यो पोजिसनमा जरो गाडेका गर्थे । ओपनिङ जोडी भरपर्दो नहुँदा ज्ञानेन्द्रले बारम्बार तेस्रो नम्बरमा आएर टिमको उद्दार गरेका छन् ।

तर, पछिल्लो समय ज्ञानेन्द्र आफैं खराब फर्मबाट गुज्रिरहेका थिए । यसले गर्दा उनी टिममा परे पनि प्लेइङ ११ मा पर्न सकिरहेका थिएनन् । फलतः उनी राष्ट्रिय टिमबाटै सन्न्यास लिने निर्णयमा पुगे ।

ज्ञानेन्द्रको नेपालले केही युवा ब्याट्सम्यानहरुलाई प्रयोग गरिरहेको छ । तर, कसैले पनि स्थिर प्रदर्शन गर्न सकेका छैनन् । पछिल्लो वर्षमा तेस्रो नम्बरमा सबैभन्दा बढी युवा ब्याट्सम्यान भीम सार्कीले मौका पाएका छन् । उनले राम्रो रन पनि बनाएका छन्, तर स्तरीय बलिङविरुद्ध भने भीमको ब्याटिङ लड्खडाउने गरेको छ । भारत–पाकिस्तानजस्ता टिमविरुद्ध तेस्रो नम्बरमा उनलाई विश्वास गरिहाल्न सक्ने अवस्था छैन ।

तेस्रो नम्बरमा खेलाइएका अर्का ब्याट्सम्यान कुशल मल्ल हुन् । उनको ब्याटिङ शैली भिमको भन्दा विपरित छ । भीम बढी रक्षात्मक खेल्छन् भने कुशल आक्रामक शैलीका लागि चिनिन्छन् । यदि टिमको रन गति बढाउनुपर्ने छ भने कुशललाई पठाउँदा प्रभावकारी हुन्छ ।

तेस्रो नम्बरका दावेदार अर्का ब्याट्सम्यान हुन् देव खनाल । उनी नेपालले भविष्यका लागि निकै आशा गरेका ब्याट्सम्यानमा पर्छन् । राष्ट्रिय टिमबाट पनि उनले आफ्नो प्रतिभा देखाइसकेका छन् । यद्यपि, उनीसँग पर्याप्त अनुभव छैन ।

नेपालले एकाध म्याचमा गुल्शन झालाई पनि माथिल्लो क्रममा खेलाएको छ । उनी निकै राम्रो फर्ममा पनि छन् । फास्ट बलरभन्दा स्पिनरलाई राम्रो खेल्न सक्छन् गुल्शन । यदि विपक्षी टिमले स्पिनर प्रयोग गरिरहेका छन् भने गुल्शनलाई प्रमोसन गर्नु एउटा अप्सन हुनेछ ।

ब्याटिङ लाइनमा सबैभन्दा महत्वपूर्ण मानिने हुँदा नेपालले तेस्रो नम्बरमा एउटा दिगो समाधान खोज्नुपर्ने छ । यस्तो ब्याट्सम्यान जो विकेटमा टिक्न र रन गति बढाउन दुवैमा पोख्त होस । यी दुवै पक्षमा निपूर्ण ब्याट्सम्यान हुन् दीपेन्द्रसिंह ऐरी । उनी अनुभवी पनि छन् ।

मोन्टी देसाईले दीपेन्द्रलाई फिनिसरका रुपमा सातौं वा आठौं नम्बरमा खेलाइरहेका छन् । यसले गर्दा एकातर्फ उनको क्षमताको पूर्ण सदुपयोग भइरहेको छैन भने अर्कोतर्फ उनी आफैं पनि यो पोजिसनमा खुशी छैनन् । दीपेन्द्र पावर हिटरमात्र होइनन् । उनी टप अर्डरमै फिट हुने ब्याट्सम्यान हुन्, जो लामो इनिङ खेल्न सक्छन् र आवश्यकता पर्दा विष्फोटक अवतार पनि लिन सक्छन् ।

नेपालले दीपेन्द्रलाई दिगोरुपमा तेस्रो नम्बरमा सेट गराएर बरु कुशल मल्ललाई आवश्यकता अनुसार ६–७ नम्बरमा फिनिसरका रुपमा प्रयोग गर्नु बढी फलदायी हुन सक्छ ।

बलियो मध्यक्रम

नेपालको मध्यक्रम बलियो छ, जसको नेतृत्व कप्तानसमेत रहेका रोहित पौडेलले गर्छन् । रोहित प्राविधिकरुपमा नेपालका सबैभन्दा उत्कृष्ट ब्याट्सम्यान हुन् । ब्याटिङमा सबैभन्दा बढी उनीबाटै आशा राख्न सकिन्छ ।

रोहितपछि कुशल मल्ल हुन् जो पछिल्लो समय स्टार ब्याट्सम्यानका रुपमा उदाएका छन् । उनी अट्याकिङ क्रिकेट खेल्छन् । ठूला सटहरु हान्न रुचाउँछन् । टिम दवावमा परेका बेलासमेत खुलेर ब्याटिङ गर्न आत्मविश्वास कुशलमा छ ।

नेपालसँग अनुभवी ब्याट्सम्यानका रुपमा आरिफ शेख छन् भने उदियमान ब्याट्सम्यानका रुपमा सन्दीप जोरा छन् । उनीहरुमध्ये एकजनालाई नेपालले मध्यक्रममा रोज्नुपर्ने हुन सक्छ । आरिफको प्रदर्शनमा एकरुपता छ, तर उनी बढी रक्षात्मक खेल्ने भएकाले कहिलेकाहीँ रनरेटको दवाव बढ्छ । सन्दीप भने सकारात्मक क्रिकेट खेल्न रुचाउने प्रतिभाशाली ब्याट्सम्यान हुन् । उनले भर्खरै इमर्जिङ एसिया कपमा पनि आफ्नो प्रतिभाको छनक दिए ।

गुल्शन झा अर्का ब्याट्सम्यान हुन्, जसबाट नेपालले धेरै आशा राखेको छ । तल्लो मध्यक्रममा आएर उनले नेपालका लागि केही उत्कृष्ट इनिङहरु खेलेका छन् । फास्ट बलरका रुपमा टिममा स्थान बनाए पनि गुल्शनको बलभन्दा ब्याट बढी चम्किरहेको छ ।

फास्ट बलिङमा डर, स्पिनरको भर

नेपालको कमजोर कडी भनेको फास्ट बलिङ हो । विश्वस्तरीय ब्याट्सम्यानहरुले नेपालको फास्ट बलिङलाई धुजाधुजा पार्न सक्छन् । त्यसमाथि पाकिस्तान र श्रीलंकाको पिचमा राम्रा फास्ट बलरहरु पनि संघर्ष गर्छन् ।

नेपालले पहिलो रोजाइको फास्ट बलरका रुपमा लामो समयदेखि सोमपाल कामी र करण केसीलाई प्रयोग गर्दै आएको छ । आफूभन्दा कमजोरी टिममाथि उनीहरु हावी हुन सक्छन्, तर बलिया टिमसँग उनीहरुको बलिङ फितलो हुने गरेको छ । नेपालसँग उनीहरुभन्दा राम्रो अप्सन पनि अर्को छैन । तेस्रो फास्ट बलरका रुपमा गुल्शन झा छन् । उनको बलिङमा पछिल्लो समय केही सुधार देखिएको छ ।

नेपाली टिममा अतिरिक्त फास्ट बलरका रुपमा प्रतिश जिसी र किशोर महतोले अवसर पाउन सक्छन् । तर, प्लेइङ ११ मा उनीहरुले स्थान बनाउने सम्भावना कम छ ।

स्पिनतर्फ भने नेपाल बलियो छ । सन्दीप लामिछानेजस्ता विश्वस्तरीय स्पिनर नेपालसँग छन् । अर्का स्पिनर ललितसिंह राजवंशीको प्रदर्शन पनि पछिल्लो समय सन्दीपकै हाराहारीमा छ । यो जोडीविरुद्ध कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सहज हुँदैन । तेस्रो स्पिनरका रुपमा नेपालले दीपेन्द्र सिंह ऐरीलाई ढुक्कले १० ओभर बलिङ गराउन सक्छ । उनी पनि कसिलो बलिङका लागि चिनिन्छन् । आवश्यकता पर्दा कुशल भुर्तेल र कुशल मल्लले पनि स्पिन बलिङ गर्न सक्छन् ।

खासमा नेपाली टिम अलराउन्डरहरुले भरिएको छ । टिममा पुछारसम्म नै अलराउण्डरहरु छन् । सोमपाल कामी, करण केसी र सन्दीप लामिछानेले बलबाट मात्र नभएर ब्याटबाट पनि योगदान दिन सक्छन् । सन्दीपले पछिल्लो समय ब्याटिङमा पनि कमाल गरिरहेका छन् । ११ नम्बरमा आउने ललित सिंह राजवंशी मात्रै ब्याटिङ गर्न नसक्नेमा गनिन्छन् ।

सम्भावित १७ खेलाडी

कुशल भुर्तेल

आसिफ शेख

भीम सार्की

रोहितकुमार पौडेल

कुशल मल्ल

दीपेन्द्र सिंह ऐरी

गुल्सन झा

सोमपाल कामी

सन्दीप लामिछाने

करण केसी

ललितसिंह राजवंशी

देव खनाल

अर्जुन साउद

सन्दीप जोरा

प्रतिश जिसी

किशोर महतो

श्याम ढकाल/सुर्य तामाङ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *