सशस्त्रका राजीव र मोडर्न कलेजकी दीया बने च्याम्पियन – Nepal Press

सशस्त्रका राजीव र मोडर्न कलेजकी दीया बने च्याम्पियन

भक्तपुर । सशस्त्र प्रहरी बलका राजीव चिकंबञ्जार र मोडर्न कलेजकी दीया देउला भक्तपुर नगरपालिका ५ स्थित न्यातापोल कर्नर टीमको ४०औं स्थापना दिवसका अवसरमा आयोजित खुला टेबुलटेनिस प्रतियोगिताका च्याम्पियन भएका छन् ।

प्रतियोगिताअन्तर्गत पुरुषतर्फको फाइनलमा भक्तपुर नपा १० वडा खेलकुद समितिका रजोजमान थकुलाई ११-७, १३-११ र ११-६ को सोझो सेटमा पराजित गर्दै सशस्त्रका राजीव च्याम्पियन भएका हुन् । त्यस्तै महिलातर्फको फाइलनमा मोडर्नकी दीयाले भक्तपुर नपा २ वडा खेलकुद समितिकी क्यारिना सुवाललाई ११-९, ११-७, र ११-८ को सोझो सेटमा हराइन् ।

पुरुषतर्फ भक्तपुर नपा १० वडा खेलकुद समितिका सुमेध प्रधान र भक्तपुर नपा २ वडा खेलकुद समितिका श्रीजल सुवालले तृतीय स्थान हासिल गरे ।

महिलातर्फ प्रोक्सिमा इन्टरनेशनल एकेडेमीकी नर्मदा खाइतू र भक्तपुर नपा २ वडा खेलकुद समितिकी प्रदीपा सुवाल संयुक्त तृतीय भए ।

प्रतियोगिताको पुरुष एकल (३५ वर्षमाथि) मा आयोजक न्यातापोलका कृष्णसुन्दर खाइतूले होटल सेन्ट्रल भक्तपुरका जीवन गोसाईंलाई ११-६, ११-७, ७-११ र ११-७ को सेटमा पराजित गर्दै प्रथम स्थान हासिल गरे । उक्त स्पर्धामा आयोजक टीमका रविन धौभडेल र विष्णुराम न्हुछें संयुक्त तृतीय भए ।

पुरुष डबल्समा होटल सेन्ट्रल भक्तपुरका जीवन गोसाईं र कृष्णगोविन्द शिल्पकारको जोडीले आयोजक टीमका रविन धौभडेल र विष्णुराम न्हुछेंको जोडीलाई ११-७, ११-६, ७-११ र ११-८ को सेटमा हराउँदै प्रथम स्थान हासिल ग¥यो ।

आयोजक टीमकै कृष्णसुन्दर खाइतू र रत्नसुन्दर खाइतू तथा हेल्डी फुटसलका सञ्जीव किबानायो र विक्रम जधारीको जोडी संयुक्त तृतीय भए ।

प्रतियोगितामा प्रोक्सिमा इन्टरनेशनल एकेडेमीकी निरु गाइँजूले राइजिङ खेलाडीको पुरस्कार हात पारिन् ।

प्रतियोगिताका विजेता खेलाडीहरुलाई भक्तपुर नपाका मेयर सुनिल प्रजापतिले मेडल, शिल्ड, प्रमाणपत्रसहित नगद पुरस्कार वितरण गरेका थिए ।

न्यातापोल कर्नर टीमका अध्यक्ष एवं टेबुलटेनिसका पूर्वराष्ट्रिय च्याम्पियन शिवसुन्दर गोथेले टीमको स्थापना दिवसमा रक्तदान कार्यक्रमसमेत गरिएको जानकारी दिए । उनका अनुसार स्थानीय समाजसेवी न्हुछेरत्न खाइतूले विजयी खेलाडीहरुलाई नगद पुरस्कार सौजन्य गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *