ज्ञानेन्द्रलाई भेट्दै पारसले भने- ह्याप्पी रिटायरमेन्ट ! अब हामी एउटै ‘क्लबमा’ – Nepal Press

ज्ञानेन्द्रलाई भेट्दै पारसले भने- ह्याप्पी रिटायरमेन्ट ! अब हामी एउटै ‘क्लबमा’

काठमाडौं । नेपाली क्रिकेट टीमका पूर्वकप्तानद्वय पारस खड्का र ज्ञानेन्द्र मल्लबीचको केमेस्ट्री धेरैलाई थाहा नै छ ।

दुवै राष्ट्रिय टीममा छँदा मैदानभित्र उनीहरुको जति ट्युनिङ मिल्थ्यो, मैदानबाहिर पनि उनीहरुबीच उत्तिकै बलियो दोस्ती थियो । मैदान बाहिरको दोस्ती अहिले पनि कायम छ ।

आजबाट ज्ञानेन्द्रले पनि सन्न्यास लिएका छन् । दुई वर्षअघि पारसले जुन मिति (१९ साउन) मा सन्न्यास लिएका थिए, ज्ञानेन्द्रले पनि यही दिन रोजे । यसबाट पनि उनीहरुबीच कति केमेस्ट्री मिल्छ भन्ने अनुमान लगाउन सकिन्छ । पत्रकार सम्मेलनमा ज्ञानेन्द्रले बारम्बार पारसलाई सम्झेका थिए ।

पत्रकार सम्मेलनमा ज्ञानेन्द्र हिँड्ने तर्खर गर्दै थिए, अचानक त्यहाँ उपस्थित भए पारस । उनले ज्ञानेन्द्रलाई अंकमाल गरे, हात मिलाए र भने- ह्याप्पी रिटायरमेन्ट । केही भावुक मुद्रामा रहेका ज्ञानेन्द्र पारसलाई भेटेपछि उज्यालिएका थिए ।

पारसले माहोललाई हल्का बनाउन खोज्दै भने, ‘आजबाट हामी दुवै एउटै क्लबमा भयौं ।’ दुवैले फोटोको लागि पोज पनि दिए ।

ज्ञानेन्द्रको पत्रकार सम्मेलनपछि पारसले फेसबुकबाट पनि उनलाई मिठो सन्देश दिएका थिए । नेपाली क्रिकेटमा गरेको अनवरत सेवाका लागि उनले आभार प्रकट गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *