५ वर्षमा राष्ट्र बैंकले किन्यो अवैध रूपमा भित्रिएको ३७६ केजी सुन – Nepal Press

५ वर्षमा राष्ट्र बैंकले किन्यो अवैध रूपमा भित्रिएको ३७६ केजी सुन

साउन ४ मा बरामद सुनको तौल र गुणस्तर जाँचको छैन अत्तोपत्तो

काठमाडौ । पछिल्लो ५ वर्षमा विभिन्न नाकाबाट अवैधरूपमा भित्रिएको ३ सय ७६ केजी ९ सय ६९ ग्राम सुन राष्ट्र बैंकले खरिद गरिसकेको छ । आर्थिक वर्ष २०७५/७६ देखि २०७९/८० सम्म राष्ट्र बैंकले २ अर्ब १२ करोड १२ लाख ५६ हजार बराबरको सुन खरिद गरेको हो ।

अवैध सुन बजार मूल्यको ५ प्रतिशत बढी दिएर खरिद गरिँदै आएको केन्द्रीय बैंकले जनाएको छ । भन्सार शुल्क नलागेको भएर ५ प्रतिशत बढी मूल्य दिइएको हो । राष्ट्र बैंकले यसलाई असर्फी बनाउन प्रयोग गर्दै आएको छ ।

यो अवधिमा अवैधरूपमा भित्रिएको ९ सय ९४ केजी ५ सय ६७ ग्राम चाँदी खरिदमा राष्ट्र बैंकले ५ करोड ६७ लाख ४७ हजार ५ सय ५ रूपैयाँ खर्चिएको छ ।

जुन सरकारी निकायले सुन बरामद गरेको हो त्यसैलाई राष्ट्र बैंकले सुन खरिद गरेको रकम शोधभर्ना गर्छ ।

एक क्विन्टल सुन जोख्ने कहिले ?

गत साउन ४ गते हङकङबाट ल्याएर अन्तर्राष्ट्रिय विमानस्थल भन्सार समेत जाँचपास गरी सिनामंगल सडकमा निकालिएको करिब एक क्विन्टल सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गर्‍यो । बरामदपश्चात जोख्न राष्ट्र बैंक लगिएको सो सुनको एकिन परिणाम भने अझै आएको छैन । ‘ब्रेक सु’ सहित गरी १५५ केजी देखिएको उक्त सुन राष्ट्र बैंकको टक्सार महाशाखामा थन्किएको छ ।

१५ दिन बितिसक्दासम्म सुनको वास्तविक तौल आएको छैन । महाशाखाका थानेश्वर आचार्यका अनुसार राजस्व अनुसन्धानबाट तौल लिन अनुमतिसहितको आधिकारिक पत्र पठाएपछि मात्र जोखिने छ । तर, विभागले अहिलेसम्म सुनको तौल तथा गुणस्तर परीक्षणको लागि राष्ट्र बैंकलाई अनुमति दिएको छैन ।

यता, राजस्व अनुसन्धान विभागमा महानिर्देशक नवराज ढुंगानले विभागले ९० दिनसम्म अनुसन्धान गर्न पाउने भएकाले आवश्यकताअनुसार सो अवधिको जुनसुकै बेला पत्र पठाइने नेपाल प्रेसलाई जानकारी दिए ।

ढुंगाना भन्छन, ‘अहिले हामी अनुसन्धानकै क्रममा छौं । नियमअनुसार हामीले ९० दिनसम्म अनुसन्धान गर्न पाउँछौ । त्यो भित्र सुनको वास्तविक तौल लिइन्छ ।’

अवैधरूपमा भित्रिएको जतिपनि सुन नेपाल राष्ट्र बैंकमा लगेर त्यसको शुद्धता र तौल जाँच गरिदै आएको छ ।

अहिले राष्ट्र बैंकसँग सुन पगाल्ने एउटा मात्र मेसिन छ । एकपटकमा १० केजीसम्म पगाल्न सकिने बैंकले जनाएको छ । यसका लागि २० देखि ३० मिनेटसम्मको समय लाग्छ । सय केजी सुन पगाल्न एकैदिनमा सकिने भएपनि शुद्धता जाँच्न भने ३ देखि ४ दिन लाग्नेछ ।

हङकङबाट आएको क्याथे प्यासेफिकको उडानमा स्कुटरको ‘ब्रेक सु’ को आवरणमा सुन ल्याइएको थियो । नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको सम्भवतः पहिलो घटना हो । बूढानीलकण्ठ ठेगाना भएको ‘रेडी ट्रेडर्स प्रालि’ को नाममा विमानस्थल भन्सारले उक्त ब्रेक सु जाँचपास गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर