अप्पर लोहोरे खोलाको आईपीओ सर्वसाधारणका लागि बिक्री खुला, कस्तो कम्पनी हो ? – Nepal Press

अप्पर लोहोरे खोलाको आईपीओ सर्वसाधारणका लागि बिक्री खुला, कस्तो कम्पनी हो ?

काठमाडौँ । अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ सर्वसाधारणका लागि खुला भएको छ ।

आज बिहीबार (साउन १८ गते) कार्यालय समयबाट सर्वसाधारणका लागि कम्पनीले जारी पुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९५ अर्थात् १९ लाख ८८ हजार २३६ कित्ता साधारण सेयर बिक्रीमा ल्याएको हो ।

यसमध्ये १ लाख ९८ हजार ८२४ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन भइसकेको छ ।

यसमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा साउन ३२ गतेसम्म सेयर भर्न सकिने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न पाइनेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल रहेको छ ।

कस्तो कम्पनी हो ?

एक सय रुपैयाँ अंकित दरमा आईपीओ निष्कासन गरेको यस हाइड्रोपावरको आईपीओलाई रेटिङ एजेन्सी केयर नेपालले केयर एनपी डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ ।

अप्पर लोहोरेको प्रति सेयर आम्दानी विगत ४ वर्षदेखि लगातार घाटामा रहेको छ । गत वर्ष २०७९.८० मात्र यसको प्रतिसेयर आम्दानी ०.२३ रुपैयाँ घाटामा छ ।

चालु आवमा (२०८०/८१) भने ४.४९ रुपैयाँ प्रतिसेयर आम्दानी पुग्ने प्रक्षेपण कम्पनीले गरेको छ । यस्तै सञ्चालन पनि लगातार घाटामा रहेको कम्पनी हो ।

अप्पर लोहोरे ४ मेगावाटको माथिल्लो लोहोरे साना जलविद्युत आयोजना हो । कम्पनीले सार्वजनिक गरेका विवरणपत्र अनुसार यसको लागत प्रति मेगावाट २३ करोड ६८ लाख ४ हजार २ सय ५० रुपैयाँ लाग्ने उल्लेख छ ।

आयोजनाको लगानी फिर्ता हुने अवधि (पे ब्याक पिरियड) ८.२२ वर्ष र डिस्काउन्ट पे ब्याक पिरियड १७.८४ वर्ष रहेको छ । यसको कुल लागत भने ९४ करोड ७२ लाख रुपैयाँ रहेको छ । यो आयोजना दैलेखको नौमुलेमा छ ।

यस कम्पनीको संस्थापकहरूबाट तत्काल चुक्ता पूँजी २६ करोड रहेको छ । जसलाई १०० रुपैयाँका दरले २६ लाख थान शेयरमा विभाजन गरिएको छ ।

यस विवरण पत्र मार्फत सर्वसाधारणका निमित्त छुट्टाइएको साधारण शेयर निष्कासन गरी बाँडफाँड गरे पश्चात् कम्पनीको चुक्ता पूँजी ५० करोड ९८ लाख रुपैयाँ पुग्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर