कूटनीति कक्षा सञ्चालन कथा : प्रवेश परीक्षामा शक्तिशालीहरु फेल हुँदा ज्यानकै असुरक्षा – Nepal Press

कूटनीति कक्षा सञ्चालन कथा : प्रवेश परीक्षामा शक्तिशालीहरु फेल हुँदा ज्यानकै असुरक्षा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको मुख्यालय कीर्तिपुरमा अरु विभागहरुभन्दा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागको तौरतरिका छुट्टै छ । समयमै परीक्षा हुन्छ । समयमै रिजल्ट आउँछ । चिया र कफी विभागमै खान पाइन्छ । विभिन्न कूटनीतिक निकायदेखि सुरक्षा निकायका सूचनाहरु सूचना पार्टीमा आइरहन्छन् ।

उदाहरणका लागि नेपाली सेनाका पुस्तकालय प्रमुखले असार १० गते संयुक्त राष्ट्रसंघका शान्ति सेनाका सहमहासचिवको लेक्चर कार्यक्रममा विद्यार्थीलाई उपस्थित हुन सूचना जारी गरिएको छ ।

विभागले बैशाख १४ गते टाँसेको सूचना पनि बोर्डमै छ । त्यो सूचनामा ‘नेपालको सीमा सुरक्षा रणनीति’ विषयक अन्तरक्रिया कार्यक्रममा विद्यार्थीहरुलाई निम्तो दिइएको छ । ९ रोपनी क्षेत्रफलमा फैलिएको त्रिवि परिसरको प्राज्ञिक र शैक्षिक क्षेत्रफल भने धेरै ठूलो छ । विभागमा अफगानिस्तान, माल्दिप्सदेखि फिजीसम्मका विद्यार्थीले पढेका छन् ।

तर, यसको स्थापना र सञ्चालन कथा भने संघर्षमय छ । त्यो संघर्षका साक्षी भाव बोकेका विम्ब हुन् प्राध्यापक डाक्टर खड्ग केसी । २०७० सालमा विभाग स्थापनादेखि तीन वर्ष अगाडिसम्म प्रमुख भएर काम गरेका उनी अहिले नेतृत्वमा छैनन् । पठनपाठनमा मात्रै सक्रिय छन् । उनै केसीसँग नेपाल प्रेसले त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागको स्थापना कथा सम्बन्धमा कुराकानी गरेको छ ।

ढिलो सुरु भएको पढाइ र राजनीतिशास्त्रबाट जोडिएको कोर्ष

नेपाल दक्षिण एसियाको सबैभन्दा पुरानो सार्वभौम देश हो । दक्षिण एयिसाली देशहरु बेलायतको उपनिवेश हुँदा नेपालको दूतावास बेलायतमा थियो । सन् १९३४ मै बेलायतमा नेपालको दूतावास थियो । तर, यही सबैभन्दा जेठो सार्वभौम देशको कूटनीतिक पढाइ भने कान्छो हो । ढाका विश्वविद्यालयमा बेलायत कालमै कूटनीतिको अध्ययन सुरु भयो । जेएनयूको पढाइ दक्षिण एसियाली कूटनीति अध्ययनको प्रावशाली मानियो । नेपालमा भने धेरै समयसम्म पढाउन कुनै सुरसार भएन ।

नेपालकै पहिलो त्रिभुवन विश्वविद्यालय २०१६ सालमा स्थापना भयो । स्थापनाको साढे पाँच दशक पुग्दामात्रै त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयको स्नातकोत्तरको पढाइ सुरु भयो । पढाइ सञ्चालन २०७० सालबाट भयो । तत्कालीन राजनीतिशास्त्र विभाग मातहतमा रहेर अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिको स्नातकोत्तर कार्यक्रम सुरु भयो । तत्कालीन उपकुलपति (भीसी) माधव शर्माको ग्रिन सिग्नल र विभागिय प्रमुख प्राध्यापक रामप्रसाद दाहालले सक्रियता देखाएर यो सुरु भएको हो ।

२०३५ सालमै इजिप्ट र इजरायलको तनावबारेमा शोधग्रन्थ लेखेका थिए दाहालले । उनको शोधग्रन्थ हेरेका थिए अहिलेका अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीले । दाहाल कूटनीतिक पढाइमा इच्छुक थिए । उनको इच्छाशक्ति र भीसीको ग्रिन सिग्नलले २०७० सालबाट कूटनीतिक विषयमा स्नातकोत्तर तालिमको सुरुवाती प्रस्थान विन्दु बन्यो । नेपालमा सम्भ्रान्त पठित वर्गले मात्रै गर्ने भनेर कूटनीति चलेकोमा दाहालले आम मान्छेसम्म पुर्‍याउन यो कोर्ष निर्माणमा सक्रियता देखाएको केसी बताउँछन् ।

२०३० सालको दशकमै कूटनीति कक्षा चलाउन पहल भएको थियो । सन् १९७२ मा स्थापना भएको नेपाल र एसियाली अध्ययन संस्थान (इनास) र १९७७ मा रुपान्तरण भएको नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास) यसैका सघन प्रयत्न थिए । कोर्ष बनेर कक्षा सञ्चालनको तहमा आउन थप ४० वर्ष कुर्नुपर्‍यो ।

कार्यक्रम प्रमुख बन्न भएको कुरुप राजनीति

प्राध्यापक डाक्टर खड्ग केसी ।

विभागीय प्रमुख रामप्रसाद दाहालले अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिमा स्नातकोत्तर कक्षा चलाउने भनेपछि उनले प्राध्यापक डाक्टर खड्ग केसीलाई कार्यक्रम प्रमुख बनाए । २०५२ सालमै इजरायल र प्यालेस्टाइन युद्धको स्नातकोत्तर शोधग्रन्थ तयार गरेका थिए केसीले । त्यो विषयमा दाहाल जानकार थिए ।

जापानमा बसेर विद्यावारिधि गरेको, अमेरिकी स्टेट डिपार्टमेन्टको फेलो भएर काम गरेको अनुभव भएका केसीमात्रै तत्कालीन राजनीतिशास्त्र विभागमा विदेशी विश्वविद्यालयबाट विद्यावारिधि गरेर आएका र अन्तर्राष्ट्रिय अनुभव लिएका अनुहार थिए । यही कुराले दाहालले केसीलाई कार्यक्रम प्रमुख बनाए । तर, केसीभन्दा पाका र अग्रज प्राध्यापकहरु बिच्किए । जुनियरलाई बनाएको भन्दै उनीहरुको असहयोग भयो । केसीलाई जहाँ सम्भव हुन्छ, त्यही असहयोग गर्नेसम्मका कामहरु भए ।

‘मभन्दा सिनियरहरु हुनुहुन्थ्यो । कसैकसैको पीएचडी नै थिएन, कुनैको विदेशी विश्वविद्यालयमा उच्च शिक्षा गरेको अनुभव पनि थिएन । त्यही भएर रामप्रसाद दाहालले मलाई बनाउनुभयो जस्तो लाग्छ’, केसी भन्छन्, ‘यो कुराले मलाई धेरै ब्याक फायर भयो । कार्यक्रम सञ्चालनमै समस्या भयो ।’

प्रवेश परीक्षामा शक्तिशालीहरु फेल हुँदा ज्यानको धम्की, कीर्तिपुरमा निषेध

२०७० साल कार्तिकमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा स्नातकोत्तर कार्यक्रमको प्रवेश परीक्षा भयो । २०० जनाको आवेदन भयो । ५० कोटामा १५० फालिए । त्रिविको इतिहासमा पहिलोपटक परीक्षार्थीको अंकसहित पास हुनेको सूची आयो । केही शक्तिशाली मान्छेहरु फेल भए । अहिले एउटा प्रदेशका मन्त्री भएका अनुहार फेल भए । तत्कालीन सर्वोच्च अदालतका न्यायाधीशकी भतिजी पनि फेल भइन् । सिंहदरबारदेखि सर्वोच्च अदालत दुवैबाट केसीलाई दबाब आयो ।

२०६६ सालमा जापानबाट पीएचडी गरेर आएका केसीले त्यहाँको जस्तै मेरिटोक्रेसी लागू गर्न खोजेका थिए । तर, महँगो भयो । उनलाई ज्यानको धम्की आयो । कुटपिट प्रयास भयो । उनी प्रहरी स्कटर्किङ गरेरमात्रै हिँड्नुपर्ने भयो ।

‘मलाई ज्यानको धम्कीमात्रै आएन कि त्रिविभित्रै म र मैले नेतृत्व गरेको कार्यक्रमले बस्ने अवस्था पनि आएन’, केसी सम्झन्छन् ।

विद्यार्थीको प्रवेश परीक्षादेखि टिचिङ फ्याकल्टी तयारी भएपछि कक्षा गर्ने स्थान नहुँदा बडो तनाव भयो केसीलाई । कीर्तिपुरको चौतर्फी असहयोग भयो । त्यसपछि कक्षाहरु त्रिवि मुख्यालयबाट बाहिरिएर बुद्धनगरको प्रेसिडेन्सियल बिजनेस स्कुलमा बसाइ सर्‍यो ।

दुई कक्षा कोठा, एक सानो कार्यालय कक्ष भएको पूर्वाधारमा कूटनीतिक कोर्षको पहिलो कथा सञ्चालन भयो । सन् २०१४ फेब्रुअरी १६ अर्थात २०७० फागुन ४ मा पहिलो कक्षा भयो । त्यही सम्झनामा हरेक फेब्रुअरी १६ मा विशेष दिवस मनाउने केसीले सुरु गरेका थिए ।

पूर्वपरराष्ट्रमन्त्री तथा चीनका लागि राजदूत भइसकेका महेन्द्रबहादुर पाण्डेको सहयोगमा बुद्धनगरमा कक्षा सञ्चालन सम्भव भएको केसी बताउँछन् । ‘धेरैले म र कलेज सञ्चालक लक्ष्मण केसी दाजुभाइ भएको भने । तर, म पर्वतको हुँ, उहाँ सल्यानको’, केसी भन्छन्, ‘बिजुलीको पैसा चै तिर्नुपर्‍यो । अरु उहाँले केही पैसा लिनुभएन ।’

निजी कलेजको शरणमा पाँच वर्ष चलेपछि बल्लबल्ल त्रिवि मुख्यालय आउने बाटो खुलेको केसी बताउँछन् । निजी कलेजमा हुँदामात्रै १३२ लेक्चर सिरिज भएको केसीले बताए । २०७५ मा आएरमात्रै कूटनीतिक कार्यक्रमले त्रिवि मुख्यालयमा ठाउँ पाएको केसीले बताए ।

पहिलो व्याच नै गोल्डेन व्याच, बनायो सबैभन्दा ठूलो सफ्टपावर

केसी २०७० सालको प्रथम व्याचलाई नै गोल्डेन व्याच भन्छन् । त्यो ब्याचमै विभागबाट नेपालमा भएका सबै कूटनीतिक नियोगसँग जोडिनेदेखि विभिन्न प्रभावशाली कार्यक्रमहरु भएको केसी बताउँछन् । नेपालस्थित विदेशी राजदूतहरु, पूर्वराजदूतहरु, परराष्ट्रमन्त्रीदेखि नेपाली सेना तथा सशस्त्र प्रहरीसँगको संस्थागत समन्वय पहिलो ब्याचबाटै भएको केसी बताउँछन् ।

उनी भन्छन्, ‘हाम्रो सबैभन्दा ठूलो सफ्ट पावर बनेको नै बुद्धनगर हुँदा हो । एक औपचारिक चिठी पठाएको भरमा विदेशी राजदूतहरु कार्यक्रममा आउँथे ।’

कमल थापादेखि नारायणकाजी श्रेष्ठसम्म बहालवाला परराष्ट्रमन्त्रीहरुले कार्यक्रममा सक्रिय सहभागी भएर गरिमा बढाएको केसी बताउँछन् ।

कोलम्बो प्लानदेखि सार्क छात्रवृत्ति प्याकेजबाट विदेशी विद्यार्थी आगमन

नेपाल सन् २०१६ मा कोलम्बो प्लानको अध्यक्ष भएको थियो । तीस बढी देशको सहभागिता भएको उक्त समूहको अध्यक्ष नेपाल हुँदा कमल थापा परराष्ट्रमन्त्री थिए । थापालाई एक दिन कार्यक्रममा बोलाएर केसीले कोलम्बो प्लानबाट धेरै नेपालीहरुले विदेशबाट लाभ लिएको भन्दै अब नेपालले पनि त्यस्तै लाभ केही विदेशीलाई दिनुपर्ने भन्दै कूटनीतिक कक्षामा छात्रवृत्तिको प्रस्ताव गरे । थापाले स्वीकार गरे । राष्ट्रिय योजना आयोगको तर्फबाट उक्त छात्रवृत्ति दिने कुरा अगाडि बढ्यो । उक्त योजनामा फिजी र माल्दिभ्सबाट विद्यार्थी आएर पढे ।

यस्तै शिक्षा मन्त्रालयसँग समन्वय गरेर सार्क छात्रवृत्ति तयार भयो । अफगानिस्तानबाट विद्यार्थी आएर पढे । यो छात्रवृत्तिको प्रभाव पनि देखियो । नेपालबाट एसिया प्रशान्त क्षेत्रको आर्थिक कार्यक्रममा फिजी पुगेका तत्कालीन अर्थमन्त्री युवराज खतिवडाको प्रोटोकल अफिसर भएर तिनै विद्यार्थी तथा फिजीका विदेश मन्त्रालयका कर्मचारी खटे । त्यो कुरा केसीलाई खतिवडाले सुनाएका थिए ।

विदेशीहरु पढ्ने भएकाले नै परीक्षादेखि नजितामा कुनै विलम्ब भएन । विदेशी विद्यार्थीहरुले दुई वर्षको मात्रै छात्रवृत्ति पाएको हुनाले एक दिन पनि विलम्ब गर्दा उनीहरुलाई समस्या हुने भएकाले अन्तर्राष्ट्रिय अभ्यासअनुसार समयमै कक्षा हुने र परीक्षा सम्पन्न भएर नतिजा आउने थीति बसाएको केसीले बताए ।

उनले भने, ‘त्रिविको परीक्षा समयमा नहुने र रिजल्ट ढिलो आउने गुनासो छ । तर, त्यो हाम्रोमा आएन ।’

अफगानिस्तानको कथा भने दुःखद छ । मासिक १४ हजारमात्रै सेवा दिइने छात्रवृत्तिले ती विद्यार्थीलाई पुगेन । केसी र नेपाली सेनाका एक जर्नेलले पकेट खर्च दिए । सन् २०२० मा घर फर्किँदा त यस्तोसम्म दुःख भयो कि सबै विद्यार्थीहरु मिलेर खर्च उठाएर जहाजको टिकट खरिद गरिदिएका थिए ।

‘कोलम्बो छात्रवृत्तिमा ३०० अमेरिकी डलर मासिक छ । यो ठीकै हो’, केसी भन्छन्, ‘सार्कको मासिक १४ हजारमात्रै छ । यत्तिले कसरी बाँच्छ मान्छे । यति थोरै भएकैले भुटानका विदेश मन्त्रालयमा काम गर्ने दुई नेपाली भाषीहरु छात्रवृत्ति पाएर पनि आएनन् । बंगलादेशकाले पनि पैसा हेरेरै रुचि गरेनन् ।’

नेपालमा हरेक आर्थिक वर्षमा अर्बौं रकम खर्च नहुने तर यस्ता महत्वपूर्ण कुरामा लगानी गर्न कञ्जुस्याइँ भएको केसीको दुःखेसो छ । ‘नेपालीले विदेशमा पढ्न जाँदा घर-घडेरी जोड्ने गर्छन् । तर, नेपालमा पढ्न आउँदा चै बाँच्न पनि नपुग्ने भएर कसरी हुन्छ ? यस्तो तरिकाले नेपालको इमेज कसरी बन्छ ?’, केसी प्रश्न गर्छन् ।

चिनियाँ राजदूत कार्यक्रममा नआउने, भारतीय विश्वविद्यालयले महत्व नदिने

कूटनीतिक कक्षा सुरु भएपछि अमेरिका, बेलायत, भारतदेखि जापानसम्म सबैजसो देशका राजदूतहरु एक पत्र पठाएको आधारमा लेक्चर दिन आएका छन् । अमेरिकी विदेश मन्त्रालयका एक उच्च अधिकारी त विमानस्थलबाट ओर्लिएर सोझै कक्षा दिन पुगेका थिए ।

जापानी प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार पनि कक्षा दिन आएका थिए । तर, चिनियाँ राजदूत भने पटक पटकको पत्रबाट पनि लेक्चर दिन आएनन् ।

चिनियाँ राजदूतले महत्व नदिए पनि चिनियाँ विश्वविद्यालयले भने महत्व दिँदै आएको छ । त्यो महत्वको कथा पनि रोचक छ । केसीले चाइना फाउन्डेसनकी एक महिला चिनेका थिए । २०७२ सालको भूकम्पमा सहयोग गरेको फाउन्डेसनकी कर्मचारीसँग एक दिन अरुण थापा चौक झम्सिखेलको कफी सपमा भेट भयो । उनीसँगै एक प्राध्यापक थिए ।

उनीहरु काठमाडौं विश्वविद्यालय (केयू) सँग एमओयू गर्न आएका रहेछन् । संयोगवश ती प्राध्यापक र केसी जापानको एकै विश्वविद्यालय पढेका रैछन् । दुवैले परिचय गरेर जापानी भाषामा कुरा गरे । आत्मीयता बढ्यो । त्यो आत्मीयता यतिसम्म बढ्यो कि त्रिवि र सिचुआन विश्वविद्यालयको एमओयू भएर कूटनीतिक कक्षाका विद्यार्थीहरुले केही महिना चीन गएर पढ्न पाए । एमओयू गर्न विश्वविद्यालयका उपकुलपति (भीसी) तीर्थ खनियाँ, डीन चिन्तामणि पोखरेल र केसीलाई चिनियाँ विश्वविद्यालयका अधिकारीले चीन नै बोलाएका थिए ।

अहिलेसम्म झण्डै एक सय विद्यार्थीहरु त्यहाँ पुगेको केसी बताउँछन् । यो सबैमा प्राध्यापक ली ताओको ठूलो भूमिका भएको केसी बताउँछन् ।

भारतको जवाहरलाल नेहरु विश्वविद्यालयमा पनि विद्यार्थीलाई त्यस्तै अवसर दिन केसीले पहल गरे । महेन्द्र लामा र संगीता थपलियालसँग कुरा गरे । दूतावासबाट आउन विश्वविद्यालय नेतृत्वले सुझाएको उनीहरुले भने । थपलियाले धेरै मेहनत गरिन् । सम्भव भएन । यस्तै भारतको थिंक ट्यांक आईडीएससँग पनि पहल गरे । पूर्वनेपाली राजदूतसमेत भएका जयन्तप्रसाद हुँदा भएको पहल पनि पूर्ण भएन ।

केसी र प्राध्यापक शिवप्रसादले आसामको गुहाटी विश्वविद्यालयमा गएर पनि पहल गरे । तर, विद्यार्थीलाई महिनाको पाँच सय भारुमात्रै दिने भनेपछि उनीहरु पछि हटे । यसबारेमा केसीले भने, ‘कतिपयले यो विभाग चीन अध्ययनको केन्द्र भएको भने । तर, हामीले भारतीय विश्वविद्यालयसँग गरेको पहल भने उनीहरुले बुझेका छैनन् ।’

विद्यार्थीको पसिनाले बनेको कूटनीतिक विभागका संरचना

कूटनीतिक कार्यक्रमबाट विभागमा रुपान्तरण २०७६ सालमा भयो । तत्कालीन भीसी तीर्थ खनियाँले त्यसमा ठूलो पहल गरे । उनले विभागमात्रै बनाएनन्, विभागका संरचना बनाउन जमिन दिन पनि अगुवाइ गरे ।

कूटनीतिक विभागको दोस्रो तल्लाको सानो कक्षमा बसेर केसीले वरिपरि ठडिएका भवनहरु देखाएर भने, ‘यी सबै विदेशीको पैसामा बनेका हुन् । तर, यो विभागका भवन नेपाली विद्यार्थीको पसिनाले बनेका हुन् ।’

९ रोपनी क्षेत्रफलमा फैलिएको विभागका भवन २०७६ बाट सञ्चालनमा आएका हुन् । भारतीय राजदूतले पाँच करोड सीधै खर्च गर्न पाउने अधिकारको आधारमा भवन बनाउन सक्ने संकेत गरेका थिए । केसीले मानेनन् । उनले भारत र चीन जस्ता छिमेकीको पैसामा कूटनीतिक विभागको भवन नबनाएर कुनै तेस्रो पक्षबाट चै बनाउन खोजेका थिए । दक्षिण कोरियासँग कुरा पनि भएको थियो । तर, कागजी काममा धेरै फाइल बोकेर हिँड्नुपर्ने भएकोले उनले त्यो विकल्प त्यागे ।

अन्ततः विभागको खातामा विद्यार्थीको पैसाबाट जम्मा भएको रकमले भवन बनाए । शौचालय र बाटोको लागि विश्वविद्यालयले सहयोग गरे पनि बाँकी सबै विद्यार्थीको पैसा भएको केसी बताउँछन् । उनी भन्छन्, ‘त्यै भएर म यो विभाग विद्यार्थीको पसिनाले बनेको भन्छु ।’

निजी कलेजको ‘रेफ्युजी क्याम्प’बाट आफ्नै भवनमा सर्नुमात्रै होइन, विभागले पाएको नेपाल सरकारका कोलम्बो प्लान र सार्क छात्रवृत्तिलाई केसीले सफलता मान्छन् । विभागको सिर्जना गरेको मेरिटोक्रेसीको मानक अर्को सफलता ठान्छ्न केसी । विभागले निकालेका तीन जर्नल र त्यसमा पनि तेस्रो जर्नललाई उनी धेरै राम्रो मान्छन् । नेपाल भारत सीमाको बारेमा लेखिएको जर्नलको भारतीय प्राध्यापक डाक्टर महेन्द्र पी लामाले नेपाल भारत सीमाको मामिला प्राज्ञिक तहमा नेपालको तर्फबाट राम्रोसँग आएको भन्दै तारिफ गरेको केसी सम्झन्छन् ।

कूटनीतिक वृत्तदेखि सुरक्षा निकायले गरेको विश्वास हुँदै विश्वभरका विश्वविद्यालयमा विद्यार्थीले गरेको शैक्षिक प्रगति उनी विभागको प्रगति मान्छन् । नेपाल सरकारमा काम गरेर पढ्नेदेखि पढेर नाम निकालेर काम गर्ने दुवै पक्ष विभागमा भएको केसी सुनाउँछन् ।

नेपाली सेनाले गरेका पछिल्ला तीन सामरिक अनुसन्धानात्मक लेख प्रतियोगितामा तीनै पटक विभागकै विद्यार्थीहरु प्रथम भएका छन् । क्रमशः गौरव भट्टराई, मनिषजंग पुलामी र प्रकाश विष्ट प्रथम भएका हुन् ।

हाल एमफिल र पीएचडी कार्यक्रम पनि सुरु भएका छन् । एक वर्षभित्रमा तीन जनाले पीएचडी सक्दैछन् । ३५० ले स्नातकोत्तर सकिसकेका छन् । विश्व बैंकले सहयोग गरेको एसोसिएट प्रोफेसरको दरबन्दीमा विभाग समेटिनु अर्को सफलता भएको केसी बताउँछन् ।

‘हाम्रो अर्को सफलता कूटनीति क्षेत्र, सार्वजनिक निकाय र सुरक्षा निकायसँगको समन्वय हो’, उनी थप्छन्, ‘एनजीओहरुसँग भने सहकार्य गरेका छैनौं । राष्ट्रिय हितलाई प्राथमिकतामा राखेकाले नगरेका हौं ।’


प्रतिक्रिया

3 thoughts on “कूटनीति कक्षा सञ्चालन कथा : प्रवेश परीक्षामा शक्तिशालीहरु फेल हुँदा ज्यानकै असुरक्षा

  1. Father of International Relations in Nepal. No one can be compared with the professor. Huge respect

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर