भैरहवा भन्सार निरीक्षणपछि अर्थमन्त्री महतले भने- चोरी पैठारी बढ्यो – Nepal Press

भैरहवा भन्सार निरीक्षणपछि अर्थमन्त्री महतले भने- चोरी पैठारी बढ्यो

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले भैरहवा भन्सार कर्मचारीलाई कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्न निर्देशन दिएका छन् ।

सोमबार भैरहवा भन्सार कार्यालयको निरीक्षण गर्दै मन्त्री महतले कर्मचारीहरुलाई कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्न निर्देशन दिएका हुन् ।

उनले विभागमा सुरक्षा निकायसहितको समन्वय समितिसमेत रहेको र कुनै कारणबाट राजस्व उठाउने क्रममा दुरुपयोग वा गैरकानूनी तरिकाबाट नाका र नाका बाहिरबाट प्रवेशलाई सरकारले गम्भीरताका साथ लिएको बताए ।

महतले भने, ‘अहिले राजस्व कम उठेको छ, यसका धेरै कारण छन् । केही समयअघि आयात रोकियो, त्यो कारणले पनि भन्सार उठ्ती कम भयो । आन्तरिक आर्थिक गतिविधिमा कमी भएपछि राजस्व कम उठ्यो । सँगसँगै नाका र नाका बाहिर दुरुपयोग गर्ने तथा अन्य उपाय उपयोग गरेर सामान भित्र्याउने प्रवृत्ति विद्यमान छन् ।’

अर्थमन्त्री महतले प्राप्त जिम्मेवारीबाट पन्छिने छुट कसैलाई नभएको बताए ।

‘काम गर्न मन लागेको छैन, मन नलागी काम गरियो भने त्यसबाट परिणाम नआउने र जसले जहाँ जिम्मेवारी पाएको छ, उसले पूर्ण समर्पणका साथ काम गर्‍यो भने मात्र परिणाम आउँछ’, उनले भने, ‘गत वर्ष सामान कम आयात भएर राजस्व कम उठ्यो । चोरी पैठारी बढ्यो । सामान समानान्तर किसिमबाट प्रवेश गरेको छ भन्ने कुरा आएको छ । सुरक्षा निकायको समन्वयमा यो प्रवृत्ति अन्त्य गर्नुपर्छ । केन्द्रमा पनि गृह र अर्थ मन्त्रालयको समन्वय हुन्छ, जिल्ला तहमा पनि त्यो समन्वय हुनुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर