प्रचण्ड कूटनीति: भारत जानु अगाडिका सबै निम्तो अस्वीकार, चीन जानु अगाडिका स्वीकार ! – Nepal Press
टिप्पणी

प्रचण्ड कूटनीति: भारत जानु अगाडिका सबै निम्तो अस्वीकार, चीन जानु अगाडिका स्वीकार !

काठमाडौं । शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड युरोपेली देश इटालीको भ्रमणमा गए । नेपाली प्रधानमन्त्रीले विश्वको कुनै मञ्चमा आएको निम्तो मान्न गरेको यो भ्रमण सरसर्ती हेर्दा सामान्य नै देखिन्छ । तर, प्रचण्डले भारत भ्रमणको मेसो मिलाउनु अगाडिका अरु देशका भ्रमण रद्द गरेको कथा हेर्दा भने यो भ्रमण अस्वाभाविक देखिन्छ ।

कसरी ?

योभन्दा अगाडि उनी जेठ १७ देखि २० सम्म भारतको औपचारिक भ्रमणमा गए । प्रचण्डले भारतको नयाँ दिल्लीस्थित बाह्रखम्बाको नेपाली राजदूतावासमा रात्रि भोजको भाषणदेखि भारत भ्रमण सकेर नेपाल आउँदासम्मको सामाजिक सञ्जालमा भने जस्तो उनी भारतको राजकीय भ्रमणमा थिएनन् । औपचारिक भ्रमणमा थिए । गार्ड अफ अनर नदिएको उनको भ्रमण राजकीय नभएर औपचारिक नै भएको भारतीय विदेश मन्त्रालयले जारी गरेको रिलिजले पनि भनेकै हो ।

भारतको औपचारिक भ्रमण गर्न प्रचण्ड यति धेरै व्यग्र भए कि उनले त्यो निम्तो आउनु अगाडिका दुई महत्वपूर्ण निम्तोहरु रद्द गरे । एक, चीनले निम्तो दिएको बोआओ फोरम फर एसियाको । बोआओ फोरम चैत १४ मा भयो । त्यसको निम्तो प्रचण्डलाई चिनियाँ राजदूतले फागुन १० गते नै दिएका थिए । प्रचण्डका निजी सचिव रमेश मल्लले यसको मिडियामा सार्वजनिक जानकारी दिएका थिए । तर, सन् २०१६ र २०१७ मा पुगेका प्रचण्ड सन् २०२३ को बोआओ फोरममा भने पुगेनन् । सिंगापुर, मेलिसया, स्पेनका प्रधानमन्त्रीहरु पुगेको फोरममा प्रचण्ड पुगेनन् ।

यसो गर्नुमा उनले भारतलाई रिझाउन खोजेको त उनैले सदनमा बोलेर प्रस्ट पारेका थिए ।

जेठ ९ गते सदनमा प्रचण्डले भनेका थिए, ‘यहाँको राष्ट्रपति, उपराष्ट्रपति चुनावको दबाब, यहाँ गठबन्धन बन्ने र भत्किने प्रक्रिया देखेपछि सरकारको अप्ठेरोलाई बुझेर चिनियाँ राजदूतले नै ‘तपाईं बोआओ फोरममा जान सम्भव देखिराखेका छैनौं हामीले । अलि पछि गरौं कि क्या हो चीन भ्रमण’ भनेपछि मैले उहाँलाई तपाईंले यहाँको मर्का बुझिदिनुभयो, धन्यवाद भनेकोमात्र हो ।’

चीनको निम्तो आएर पनि किन नगएको भन्ने सांसदहरुको प्रश्नमा प्रचण्डले चिनियाँ राजदूत चेन सोङकै सल्लाहमा पहिले भारत गएको दाबी गरे । यसमा चिनियाँ राजदूतले १० गते आपत्ति जनाएर प्रचण्डलाई भेटेका समाचारहरु आए । प्रचण्ड कांग्रेस र एमालेसँग खेले जस्तो भारत र चीनसँग कसरी खेलाँची गरेर नेपाली कूटनीतिलाई कमजोर प्रस्तुत गरिरहेका छन् भन्ने सबैभन्दा ताजा उदाहरण त्यही घटना हो ।

प्रचण्डले भारत पहिले भ्रमण गर्ने कार्यक्रम बनाउन चीनको बोआओ फोरम फर एसियामात्रै स्किप गरेनन् । उनले कतारमा भएको एक अर्को कार्यक्रम पनि स्थगन गरे । फागुन १९ गते कतारमा भएको अल्पविकसित देशहरुको सम्मेलनको भ्रमण तालिका सार्वजनिक गरेर पनि प्रचण्ड गएनन् ।

तर, चीन भ्रमणको सवालमा भने प्रचण्ड भारतसँग जस्तो सचेत भएका छैनन् । त्यसैको फलस्वरुप उनी शनिबार इटाली प्रस्थान गरेका छन् । साउन ८ देखि १० सम्म इटालीको रोममा आयोजना हुने विश्व खाद्य कार्यक्रमको संयुक्त राष्ट्रसंघ खाद्य प्रणालीको शिखर सम्मेलनमा भाग लिन प्रचण्ड त्यसतर्फ लागेका हुन् । नेपालमा दूतावास समेत नभएको देशको सहरमा नेपालले नेतृत्वदायी नगर्ने मञ्चको लागि प्रचण्ड हप्ता दिनका लागि इटाली प्रस्थान गरेका छन् । यो पनि जानैपर्ने भ्रमण थिएन ।

भारत जानु अगाडि चीनको बोआओ फोरमदेखि कतारको अल्पविकसित देशको सम्मेलनमा नजानुको जस्तो बहाना अहिले पनि थिए । सुन काण्डको अनुसन्धानदेखि भुटानी शरणार्थी प्रकरणसम्मका लफडा छन् । त्यसमा प्रधानमन्त्रीले नेतृत्वदायी समय दिने बेलामा उनी इटाली पुगेका छन् ।

प्रचण्ड इटाली जानु कुनै समस्या होइन । तर, उनले भारतको भ्रमण गर्नु अगाडि चै यस्तै कार्यक्रमहरुमा चीन र कतार जान अस्वीकार गरे । चीन भ्रमणमा जानु अगाडि भने उनी सबै भ्रमण भ्याउँदैछन् । यसबाट प्रचण्डको छिमेक कूटनीतिक कोर्ष प्रस्ट देखिन्छ- भारत जानु अगाडि अन्तका निम्तो अस्वीकार, चीन जानु अगाडिका सबै स्वीकार !

नेपालले चीन सहभागी भएका जलविद्युत आयोजना खोसेर भारतीय कम्पनीलाई दिनु, भारत भ्रमण पहिले गर्न चिनियाँ राजदूतले सुझाएको हल्ला गर्नु, भारत नपुगुञ्जेल चीनको पहिले आएको निम्तो अस्वीकार गर्नुदेखि सरकारको न्यूनतम साझा कार्यक्रमको बुँदा २.२ को २ मा चीनसँगको सीमा विवाद भएको उल्लेख भएको पृष्ठभूमिमा प्रचण्डको यो भ्रमणले चिनियाँ पक्षलाई धेरै शंका गर्ने आधार दिएको छ । यसलाई चिर्न प्रचण्डले निकै मेहनत गर्नुपर्ने र विश्वास जित्नुपर्ने देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर