कोशीमा एक-एक वर्ष पालो गरेर मुख्यमन्त्री चलाउन राप्रपालाई गठबन्धनको प्रस्ताव – Nepal Press

कोशीमा एक-एक वर्ष पालो गरेर मुख्यमन्त्री चलाउन राप्रपालाई गठबन्धनको प्रस्ताव

भक्ति सिटौला भन्छन्- भागबन्डा गरेर मुख्यमन्त्री हुने पक्षमा म छैन

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी कोशी संसदीय दलका नेता भक्ति सिटौलाले नयाँ गठबन्धनमा मिसिने या नमिसिने निर्णय गठबन्धनको रणनीति र योजनाका आधारमा गर्ने बताएका छन् । तर, भागबण्डामा आफू मुख्यमन्त्री बन्ने पक्षमा भने नभएको उनको भनाइ छ ।

‘साथीहरू ४ वटा पार्टीबाट एक-एक वर्षका लागि मुख्यमन्त्री बनौं भन्दै हुनुहुन्छ । राप्रपा यस्ता कुराको पछि लाग्दैन । यसरी भागबन्डा गरेर मुख्यमन्त्री बन्ने दौडमा म छैन । म लामो समयको लागि राजनीति गरेर लामै समय राजनीतिमा रहन आएको हो । मुख्यमन्त्री पाउँदैमा सरकारमा जान्न’, सिटौलाको प्रष्टोक्ति छ ।

राप्रपालाई पाच्य हुने योजना र रणनीति लिएर आए स्थिरताका लागि राप्रपा गठबन्धनमा सहभागी हुनसक्ने उनले बताए ।

‘अहिलेसम्म बजार हल्ला र उचाल्ने कुरामात्रै आएकाले अहिले नै राप्रपा एमालेको साथ छाडेर गठबन्धनमा सामेल हुँदैन । हामी अहिले नै यसै गर्छौं भन्ने अवस्थामा छैनौं । हामी प्रदेशमा राजनीतिक अस्थिरता नहोस् भन्ने चाहन्छौं, यसका लागि हामी सवैसँग खुल्ला छौ गठबन्धनको प्लान र योजना त आउनु पर्‍यो नि ‘, सिटौलाको भनाइ थियो ।

फेरिएको परिस्थितिबारेमा एमालेको पनि आधिकारिक धारणा पर्खिएर बसेको भन्दै सिटौलाले राप्रपासँग गठबन्धनको औपचारिक कुरा नभएको बताएका छन् ।

प्रदेशमा फेरिएको राजनीतिक अवस्थाका विषयमा अध्यक्ष राजेन्द्र लिङ्देनसँग छलफल भएको र समन्वय र सहकार्य गर्ने अधिकार अध्यक्षलाई दिएको बताए ।

संसदीय दल र प्रदेश कमिटीका पदाधिकारीसहित अध्यक्षसँग बैठक बसेको जानकारी दिँदै उनले भने, ‘सबै कुराको निर्णय केन्द्रले नै गर्ने चलन हाम्रो पार्टीमा पनि छ उनले भने, फेरिएको परिस्थितिको विश्लेषण गरी निर्णयमा पुग्न पार्टी अध्यक्षलाई जिम्मेवारी सुम्पेका छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर