काठमाडौंमा मोटरसाइकल-स्कुटर प्रतिबन्ध गरौं  ! – Nepal Press

काठमाडौंमा मोटरसाइकल-स्कुटर प्रतिबन्ध गरौं  !

लेखको शीर्षक देख्नेबित्तिकै मोटरसाइकल-स्कुटर धनीहरुको दिमागमा के कुरा आयो ? निश्चय पनि धेरैको मनमा प्रस्तुत विचारका विरुद्धमा प्रारम्भिक धारणा बन्यो होला ! यो कुनै हालतमा सम्भव छैन भन्ने पनि लाग्यो होला । मैले २०८० असार १२ गते ट्राफिक प्रमुख पोषराज पोखरेललाई भेटेर काठमाडौं उपत्यकामा मोटरसाइकल-स्कुटर प्रतिबन्ध गर्नुपर्ने कुरा गरें । प्रमुख पोखरेलबाट कुनै हालतमा यो सम्भव छैन भन्ने जवाफ आयो । कतिपयलाई यस्तो बेकारको लेख किन छापेको होला भनेर नेपाल प्रेसका सम्पादकप्रति मनमनै आलोचनाको भाव आयो होला ! यदि काठमाडौंलाई सरल, सहज, सुरक्षित, सुन्दर र सभ्य बनाउने हो भने मोटरसाइकल-स्कुटर प्रतिबन्ध अनिवार्य भइसकेको निष्कर्ष मैले निकालेको छु । राज्यले यो कठोर निर्णय लिन ढिलाइ भइसकेको छ । त्यसका लागि सडकदेखि सदनसम्म खुला छलफल गरौं र मोटरसाइकल-स्कुटर प्रतिबन्ध गरौं ।

आउनुस्, पाठकहरुलाई एकैछिन मेरो आफ्नै यातायात दैनिकीतिर लैजान्छु । म काठमाडौंको बुढानिलकण्ठ बस्छु । बिहान ६ बजे गाडी चढेर कोटेश्वर हुँदै ठीक ७ बजे पुग्ने गरी भक्तपुरको दधिकोटस्थित ‘काठमाडौं स्कुल अफ ल’मा पढ्न जान्छु । जहाँ मैले औपचारिक पढाइ छोडेको दश वर्षपछि अन्तर्राष्ट्रिय कानूनमा स्नातकोत्तर पढ्दैछु । क्याम्पसमा बिहान ९ बजे कक्षा छुट्छ । म दधिकोटबाट बबरमहलस्थित मेरो ल फर्ममा ९ बजेर ३० मिनेटमा आइपुग्छु । आउँदा साथीहरुले मोटरसाइकलमै जाऔं भनेर लिफ्ट दिन्छन् ।

कहिलेकाहीं बस चढेर आउँदा पनि ढिलोमा ९ बजेर ४० मिनेट भएको हुन्छ । अर्थात् बसमा आउँदा जम्मा १० मिनेट ढिलो हुन्छ । उच्च अदालत जानुपर्ने भयो भने बबरमहलबाट टेम्पु चढेर कृष्ण गल्ली झरेर उच्च अदालत पाटन पुग्छु । अन्य काम पर्दा पनि सार्वजनिक यातायात नै चढ्ने गर्दछु । अफिसका सबै काम सकिएपछि हिंड्दै रत्नपार्क पुग्छु र बस चढेर बुढानिलकण्ठ फर्किन्छु । सार्वजनिक यातायातका आफ्नै कठिनाइ भए पनि हावा, घाम, पानी, दुर्घटना आदिबाट सुरक्षित महसुस हुने गर्दछ ।

मोटरसाइकल-स्कुटर छ, पुगिहालिन्छ भनेर २० मिनेट ढिलो निस्किने र सडकमा ट्राफिक नियमको उल्लंघन गर्दै, ओभर स्पिड बनाउँदै, हर्न बजाउँदै, सडक पार गरिरहेका पैदलयात्रीलाई कस्तो पाखे रहेछ भनेर गाली गर्दै कुँद्ने धेरैको बानी हुन्छ ।

अब तपाईंहरुलाई लाग्ला, यति धेरै दूरी बसमा हिंडेर कसरी भ्याइन्छ ? मोटरबाइकमा खुरुरु हिँडेपछि छिटो पुगिन्छ । तर, वास्तविकता त्यस्तो हुँदै होइन भन्ने कुरा लेख पढ्दै गएपछि थाहा पाउनु हुनेछ । मलाई धेरै साथीहरुले मोटरसाइकल किन्न सुझाव दिने गरेका छन् । मैले भएको मोटरसाइकल पनि बेचेर सार्वजनिक बस चढ्न थालेको पाँच वर्ष भयो । मेरो एक जना साथी छन्, बद्री भुसाल, उनी कलेज पढ्न स्वयम्भूबाट मोटरसाइकलमा दधिकोट आउँछन् । उनी मोटरसाइकल चढ्ने समय मेरोभन्दा जम्मा दश मिनेट ढिलो छ । म ६ बजे बस चढ्छु भने उनी ६ बजेर १० मिनेटमा मोटरसाइकल चढ्छन् । स्वयम्भू र बुढानिलकण्ठको दूरी हिसाब गर्दा लगभग उस्तै हुन्छ ।

काठमाडौंमा मोटरसाइकल-स्कुटर आवश्यक छ ?

काठमाडौं चक्रपथको जम्मा दूरी ३७ किलोमिटर छ । चक्रपथभित्र मोटरसाइकल÷स्कुटर नकुँदाइकन पनि अर्थात् सार्वजनिक बसमा बढीमा १० मिनेट ढिलो जुनसुकै स्थानमा पुग्न सकिन्छ । उदाहरणको लागि महाराजगञ्ज चक्रपथबाट कोटेश्वरसम्मको दूरी ९ किलोमिटर छ । गुगल म्यापले सवारीसाधनबाट १९ मिनेटको समय देखाउँछ । अब सार्वजनिक बस चढ्दा पनि तीस मिनेटभन्दा धेरै लाग्दैन । म आफैं जाम नभएको समयमा कैयौंपटक ३० मिनेटमा चक्रपथबाट कोटेश्वर पुगेको छु । अब कतिपयले प्रश्न उठाउलान्, एक जनाको दश मिनेट भनेको हजार जनाको दश हजार मिनेट हो ।

यसरी हिसाब गर्नेहरुलाई यस्तो जवाफ दिउँ- त्यसो भए घरबाट २० मिनेट ढिलो निस्किँदा २० हजार मिनेट ढिलो हुन्छ । सडकमा निस्किएको समयलाई मात्रै गणना गर्ने कि घरमा अनावश्यक बिताएको समयको पनि गणना गर्ने ? घरबाट निस्कनुभन्दा अगाडि मोजा खोज्दै, झोला मिलाउँदै, ऐना हेर्दै, कपाल मिलाउँदै होस् वा मोटरसाइकल-स्कुटर छ, पुगिहालिन्छ भनेर २० मिनेट ढिलो निस्किने र सडकमा ट्राफिक नियमको उल्लंघन गर्दै, ओभर स्पिड बनाउँदै, हर्न बजाउँदै, सडक पार गरिरहेका पैदलयात्रीलाई कस्तो पाखे रहेछ भनेर गाली गर्दै कुँद्ने धेरैको बानी हुन्छ । यदि यो बानी छोडने र २० मिनेट अगाडि घरबाट निस्कने हो भने धेरैको लागि मोटरसाइकल-स्कुटर आवश्यक पर्दैन ।

मोटरसाइकल-स्कुटरका कारण मान्छेहरु निकै अल्छी भएका छन् । अब अल्छीपनाले जेनेटिक स्वरुप धारणा गरेको छ । अर्थात् पन्ध्र मिनेट को हिँडोस्, आधा घण्टा को हिंडोस् ∕ धेरै मान्छेहरु आधा घण्टाको कुरै छोडौं, पाँच सय मिटर हिंड्न अल्छी मान्छन् । ट्राफिक प्रमुख पोषराज पोखरेलका अनुसार काठमाडौं उपत्यकामा बस स्टाण्ड घटाउन यातायात व्यवसायी तयार हुँदैनन् ∕ अर्थात् एकातिर मान्छेले जहाँ मन लाग्यो, त्यही हात दिन्छन् । अर्काेतिर कार्यान्वयन गर्ने निकाय यातायात व्यवसायीको अगाडि कठपुतली जस्तै लाग्नेरहेछ । वैज्ञानिक र व्यवहारिक नियम बनाएर कडाइपूर्वक लागू गर्ने हो भने कसले मान्दैन ? काठमाडौं उपत्यकामा सामान्यतया १ देखि १.५ किलोमिटरको दूरीमा सार्वजनिक यातायात उपलब्ध हुन्छ । कुनै ठाउँमा केही असहज हुनसक्छ । दुई किलोमिटर भन्दा धेरै त कोही कसैलाई हिँडनु पर्दैन । दुई किलोमिटर हिँड्नुपर्ने दूरी कहाँ कहाँ हो भन्नेबारेमा पनि अध्ययन गर्न सकिन्छ ।

मोटरसाइकल-स्कुटरका कारण मान्छेहरु निकै अल्छी भएका छन् । अब अल्छीपनाले जेनेटिक स्वरुप धारणा गरेको छ । अर्थात् पन्ध्र मिनेट को हिँडोस्, आधा घण्टा को हिंडोस् ∕ धेरै मान्छेहरु आधा घण्टाको कुरै छोडौं, पाँच सय मिटर हिंड्न अल्छी मान्छन् ।

निजी सवारीसाधनको रुपमा एउटै घरमा दुई-तीन वटा मोटरसाइकल-स्कुटर हुनैपर्ने, आफ्नै आँगनबाट मोटरसाइकल चढ्नैपर्ने, अफिसको ढोकासम्मै मोटरसाइकल लैजानैपर्ने मनोरोगबाट मोटरसाइकल-स्कुटर चालकहरु ग्रस्त भएका छन् । यो मोटरसाइकल-स्कुटर चालकहरुमा मौलाएको खतरनाक मनोरोग हो । सामान्य उपचारबाट यो मनोरोग निको हुनेवाला छैन । यो मनोरोग देशका शासक र कर्मचारीतन्त्रमा भएकै कारण जनतामा सरेको हो ।

एक वा दुई सय मिटर हिँड्न नमानेर ट्राफिक नियमको उल्लंघन गर्ने, जहाँ मन लाग्यो त्यहाँ पार्किङ गर्ने, अनावश्यक हर्न बजाउने, पैदलमार्गमा पनि मोटरसाइकल-स्कुटर गुडाउने जस्ता कार्यहरु चालकहरुबाट हुँदै आएका छन् । दुर्घटनाको प्रमुख कारण नै मोटरसाइकल-स्कुटर हुन् । यो काठमाडौंमा देखिएको असभ्य, आततायी र कुरुप प्रणाली हो । मोटरसाइकल-स्कुटरहरुलाई प्रतिबन्ध गर्नेबित्तिकै यातायात प्रणालीलाई पूरै फेर्न सकिन्छ । काठमाडौं उपत्यकामा चार पाङ्ग्रे वा ठूला बसहरुबाट सार्वजनिक यातायातलाई धेरै सुधार गरेर लैजान सकिन्छ । तिनीहरुलाई सुधार गर्न धेरै सजिलो पनि हुन्छ ।

मेरो एक जना साथी छन् । उनी तीनकुने बस्छन् र संसद सचिवालयमा जागिर गर्छन् । उनी तीनकुनेबाट सिंहदरबारसम्म मोटरसाइकलमा आउँछन् । तिनलाई तीनकुनेबाट सिंहदरबारसम्म आउन मोटरसाइकल किन चाहियो ? उनी पैदल हिंडेर २५ मिनेटमा सजिलोसँग सिंहदरबार आउन सक्छन् । तर, उनलाई यस्तो बानी लागिसक्यो कि २५ मिनेट हिंड्न सकस पर्छ । काठमाडौं उपत्यकामा जागिर गर्ने सबैलाई आधा घण्टाको दूरी अनिवार्य हिँड्न लगाउने हो भने आधा मोटरसाइकल-स्कुटर आवश्यक नै पर्दैनन् । मोटरसाइकल-स्कुटरमा चढ्दा जम्मा १० मिनेट लाग्छ । मान्छेहरुले १० मिनेट मोटरसाइकल-स्कुटरमा हिंडेर शान देखाउँछन् । यदि तीन किलोमिटरभन्दा टाढाको कार्यालय छ भने सार्वजनिक यातायात प्रयोग गर्न सकिन्छ । घरबाट २० मिनेट छिटो निस्कियो भने सजिलोसँग समयमै कार्यालय पुग्न सकिन्छ । मोटरसाइकल-स्कुटरको आवश्यकता पर्दैन ।

मोटरसाइकल-स्कुटरको तमासा

प्रधानमन्त्रीदेखि मन्त्री, कर्मचारीसम्मलाई मोटरसाइकल-स्कुटरले निम्त्याएको भद्रगोल, दुर्घटना, मृत्यु, घाइते, दीर्घरोग, वायु प्रदूषण, कुरुपता आदिबारेमा जानकारी छ जस्तो देखिँदैन । मोटरसाइकल-स्कुटर चालकहरुले आफूलाई बेग्लै मानव भएको अभिनय गर्छन् । तिनीहरुसँग देखासिकी, तडकभडक, कृतिम तरिका देखिनुको कारण हो, तिनीहरुले मोटरसाइकल-स्कुटरविना आफ्नो जीवन चल्दैन जस्तो गरेर आफूलाई अभ्यस्त बनाएका हुन्छन् । तिनीहरुको दिमागमा मोटरसाइकल-स्कुटरबाहेक अरु थोक छैन ।

काठमाडौं उपत्यकामा सामान्यतया १ देखि १.५ किलोमिटरको दूरीमा सार्वजनिक यातायात उपलब्ध हुन्छ । कुनै ठाउँमा केही असहज हुनसक्छ । दुई किलोमिटर भन्दा धेरै त कोही कसैलाई हिँडनु पर्दैन । दुई किलोमिटर हिँड्नुपर्ने दूरी कहाँ कहाँ हो भन्नेबारेमा पनि अध्ययन गर्न सकिन्छ ।

काठमाडौं उपत्यकामा ट्राफिक नियमको उल्लंघन गर्नेहरु अधिकांश मोटरसाइकल-स्कुटर चालक हुन् । सानो ठाउँबाट छिराउन सकिहालिन्छ भनेर तिनीहरु जहाँ मन लाग्यो, त्यतै लैजाने गर्दछन् । नागबेली आकारमा कुँदाएर लेन अनुशासन मिच्नेहरु पनि अधिकांश मोटरसाइकल-स्कुटरवालाहरु हुन्छन् । ट्राफिक प्रहरीले दुर्घटनाहरुको मात्रै वर्ग छुट्याएर तथ्यांक राखिएको विवरण उपलब्ध गराएको छ ।

ट्राफिक कार्यालयले उपलब्ध गराएको विवरणअनुसार आर्थिक वर्ष २०७७/७८ मा मोटरसाइकल-स्कुटरको दुर्घटना संख्या ७ हजार ९४५ रहेको छ । त्यस्तै २०७८/७९ मा ८ हजार ३६४ र २०७९/८० मा ७ हजार ५६८ दुर्घटना भएका छन् । उपत्यका ट्राफिक प्रहरी प्रमुख पोषराज पोखरेल र प्रवक्ता राजेन्द्र भट्टसँग मैले कुराकानी गरेको थिएँ । दुवै जनाको भनाइ थियो- दुर्घटनाको ८० प्रतिशत कारण मोटरसाइकल-स्कुटर हुन् । ट्राफिक प्रहरीसँग काठमाडौं उपत्यकामा आर्थिक वर्ष २०७७/७८ मा ३ लाख ३० हजार ९६७ जना, २०७८/७९ मा ५ लाख ४ हजार ५९७ जना, २०७९/८० मा ८ लाख ९ हजार ४९४ जनालाई कारबाही गरिएको विवरण रहेको छ । यसरी कारबाही खानेहरुमा अधिकांश मोटरसाइकल-स्कुटरवालाहरु नै रहेका छन् ।

मोटरसाइकल-स्कुटरको आवरणमा देशमा धेरै ठूलो विकृति मौलाएको छ । कक्षा ११ र १२ पढ्ने विद्यार्थीलाई मोटरसाइकल किन चाहिन्छ ? अफिस वा घरबाहिर काम नभएकी गृहणीलाई स्कुटर किन चाहिन्छ ? अफिसमात्रै जान मोटरसाइकल किन चाहिन्छ ? दुई लाख जम्मा भयो कि मोटरसाइकल-स्कुटर किनिहाल्ने विकृति नेपालमा धेरै नै मौलाएको छ ।

मोटरसाइकल-स्कुटरको कारण देशमा विचित्रको भुईंफुट्टा वर्गको उदय भएको छ । यो भुईंफुट्टा वर्गले आफूले कमाएको अधिकांश पैसा मोटरसाइकल किन्न, तेल हाल्न, मर्मत गर्ने काममा सिध्याएको छ । यो भुइँफुट्टा वर्ग निकै ढोंगी र देखावटी बन्दै गएको छ । कमाएको पैसा जोगाएर आफ्नो र परिवारको लागि बचत गर्नेभन्दा पनि मोटरसाइकल किनेर त्यसैमा खर्च गर्ने ध्याउन्नमा देखिन्छ । मोटरसाइकलकै कारण यो भुइँफुट्टा वर्ग ढोंगी, असहिष्णु, अधैर्य, नक्कली र अनुशासनहीन बनेको हो । कमाएको पैसा जति मोटरसाइकलमा खर्च गरेर पढाइ, खानपान, स्वास्थ्य, बचत जस्ता कुरामा लापरबाही गरिरहेको छ । मोटरसाइकल-स्कुटरबाट देखिएको विकृति, विसंगति, दुर्घटना, पैसाको सत्यानाश, वायु प्रदूषण जस्ता जटिल समस्या भएको र कुनै उपलब्धि नभएको हुनाले प्रतिबन्ध नै एकमात्र विकल्प हो ।

निजी सवारीसाधनको रुपमा एउटै घरमा दुई-तीन वटा मोटरसाइकल-स्कुटर हुनैपर्ने, आफ्नै आँगनबाट मोटरसाइकल चढ्नैपर्ने, अफिसको ढोकासम्मै मोटरसाइकल लैजानैपर्ने मनोरोगबाट मोटरसाइकल-स्कुटर चालकहरु ग्रस्त भएका छन् । यो मोटरसाइकल-स्कुटर चालकहरुमा मौलाएको खतरनाक मनोरोग हो ।

प्रतिबन्धपछि आउने परिणामहरु

काठमाडौं उपत्यभित्र मोटरसाइकल-स्कुटर प्रतिबन्ध गर्ने हो भने ट्राफिक जाम लगभग हट्छ भन्दा पनि फरक पर्दैन । काठमाडौंमा कुनै अध्ययन भएको जस्तो मलाई लागेको छैन । किनभने मोटरसाइकल प्रतिबन्धबारे कोही कसैले सोचेकै छैनन् । मोटरसाइकल काठमाडौं उपत्यकामा अनावश्यक र बेकारको सवारीसाधन हो । मोटरसाइकलले अर्बौं रुपैयाँको पेट्रोल उडाइरहेको छ । मोटरसाइकल-स्कुटर चालकहरुमा ढाड दुख्ने, छाती दुख्ने जस्ता दीर्घकालीन रोग पाल्ने र अस्पताल धाउनेबाहेक मोटरसाइकलको कुनै थप उपलब्धि छैन ।

लामो समय मोटरसाइकल चढ्ने व्यक्तिलाई दीर्घकालीन रुपमा ढाड र छातीको समस्या हुन्छ, हुन्छ । त्यस्ता समस्या लिएर डाक्टरकहाँ जाने बिरामीलाई मोटरसाइकल-स्कुटर चढ्न छोड्नुपर्ने सुझाव दिइन्छ । मोटरसाइकल-स्कुटर चढ्ने व्यक्तिहरु सार्वजनिक सवारीसाधन चढ्ने हो भने मोटरसाइकलभन्दा धेरै सस्तो पर्न जान्छ । मोटरसाइकलमा ३० किलोमिटरको दुरी पार गर्न १८० रुपैयाँ खर्च हुन्छ भने सार्वजनिक सवारीसाधनमा त्यतिकै दूरी पार गर्न ६० रुपैयाँमात्रै खर्च हुन्छ । मोटरसाइकल-स्कुटरको कर, मर्मत खर्च आदि जोड्दा झनै महँगो पर्दछ ।

काठमाडौंमा एक महिना मोटरसाइकल पूरै प्रतिबन्ध गरेर परीक्षण गर्न सकिन्छ । एक महिना परीक्षण गर्न ठूलो योजना चाहिँदैन र धेरै कठिनाइ भोग्नुपर्दैन । मलाई लाग्छ, यसबाट काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनमा गहिरो अध्ययन गर्न सकिन्छ । मोटरसाइकल-स्कुटर प्रतिबन्ध गर्नेबित्तिकै सार्वजनिक यातायात कति आवश्यक पर्न सक्छ भन्ने पनि अनुमान हुन्छ ।

मोटरसाइकल-स्कुटर प्रतिबन्ध गरियो भने उपत्यकामा दुर्घटना निकै घट्ने निश्चित छ । काठमाडौं उपत्यकामा जति पनि सवारी दुर्घटना हुने गरेका छन्, ती धेरैजसो अर्थात् पोषराज पोखरेलको शब्दमा ८० प्रतिशत दुर्घटनाहरु मोटरसाइकल-स्कुटरका कारण भएका छन् । यदि ठूला गाडीहरु र पैदल यात्रु दुर्घटना भएका छन् भने त्यसको कारण पनि अधिकांश मोटरसाइकल नै हुन् । मोटरसाकइकल दुर्घटनाको कारक र निकै असुरक्षित सवारीसाधन हो ।

कक्षा ११ र १२ पढ्ने विद्यार्थीलाई मोटरसाइकल किन चाहिन्छ ? अफिस वा घरबाहिर काम नभएकी गृहणीलाई स्कुटर किन चाहिन्छ ? अफिसमात्रै जान मोटरसाइकल किन चाहिन्छ ? दुई लाख जम्मा भयो कि मोटरसाइकल-स्कुटर किनिहाल्ने विकृति नेपालमा धेरै नै मौलाएको छ ।

सार्वजनिक यातायातको अहिलेको क्षमता र गुणस्तर वृद्धि हुनेछ, गर्नुपर्दछ । सार्वजनिक यातायातलाई व्यवहारिक, वैज्ञानिक, सरल, सहज, सुरक्षित, सस्तो र भरपर्दाे बनाउन बाध्यता हुनेछ । जनताको सार्वजनिक यातायातको अधिकार र सुरक्षाको लागि महत्वपूर्ण हुनेछ । अहिले भएका रुटहरुलाई थप व्यवस्थित बनाउने र नयाँ रुटहरुबाट पनि सार्वजनिक यातायात सञ्चालन गर्नुपर्दछ । गाडी चढ्ने र ओर्लने निश्चित स्थान तोकिनुपर्दछ । जथाभावी रोक्ने गाडीहरुलाई कडा कारबाही गरिनुपर्दछ । यात्रु चढाउने र ओराल्नेबाहेक पर्खिन दिनुहुँदैन ।

सडकमा मोटरसाइकल-स्कुटर नहुनेबित्तिकै अहिलेको जाम लगभग पूरै हट्नेछ । त्यसो गर्दा सार्वजनिक यातायातले छिटो गन्तव्यमा पुर्‍याउनेछ । दुर्घटना थोरै हुनेछ । काठमाडौंको प्रदूषणमा पनि उल्लेख्य कमी आउनेछ । काठमाडौं उपत्यकामा मोटरसाइकल-स्कुटर प्रतिबन्ध गर्नेबित्तिकै कुरुप काठमाडौं मुहार फेरिनेछ । यात्रुको यात्रा सुरक्षित र सहज हुनेछ । मान्छेहरुको हिंड्ने बानीको विकास हुनेछ र थोरै भए पनि जीवन प्राकृतिक लयमा फर्किनेछ ।

चीनको अभ्यास

चीनमा मोटरसाइकल दुर्घटना अत्यधिक भएपछि धेरै शहरहरुमा सन् १९९० देखि नै मोटरसाइकल प्रतिबन्ध गरिएको थियो । बेइजिङमा त सन् १९८५ देखि नै मोटरसाइकलमा प्रतिबन्ध लगाउन थालिएको थियो । मोटरसाइकल प्रतिबन्ध भएपछि त्यहाँ दुर्घटना र त्यसबाट मृत्यु हुनेहरुको संख्या उल्लेख्य घटेको थियो । चीनका होङजाओ, डालिया, निग्बो, साओछिङ, वेन्झाओसहित १८५ शहरमा मोटरसाइकल प्रतिबन्ध गरिएको छ ।

चीनमा मोटरसाइकल प्रतिबन्ध गरिएपछि ट्राफिक व्यवस्थापनमा व्यापक सुधार भएको देखिएको थियो । मोटरसाइकल प्रतिबन्धपछि चीनका सबै शहरहरुमा दुर्घटना र यसबाट मृत्यु हुनेहरुको संख्यामा उल्लेख्य कमी आएको थियो । चीनको उदाहरणबाट नेपालले पनि सिक्न सक्छ । नागरिकको जीवनभन्दा ठूलो मोटरसाइकलबाट असुलउपर गरिने कर, जरिवाना, ट्राफिक उल्लंघनबाट उठ्ने जरिवाना हुन सक्दैन । जनताको सुरक्षालाई दाउमा राखेर उठाइने कर, जरिवाना भनेको अनैतिक र आपराधिक हो भन्ने कुरा छर्लङ्ग छ ।

मोटरसाइकल काठमाडौं उपत्यकामा अनावश्यक र बेकारको सवारीसाधन हो । मोटरसाइकलले अर्बौं रुपैयाँको पेट्रोल उडाइरहेको छ । मोटरसाइकल-स्कुटर चालकहरुमा ढाड दुख्ने, छाती दुख्ने जस्ता दीर्घकालीन रोग पाल्ने र अस्पताल धाउनेबाहेक मोटरसाइकलको कुनै थप उपलब्धि छैन ।

संसदमा छलफल चलोस्, मन्त्रिपरिषद्ले प्रतिबन्धको निर्णय गरोस्

शासकहरुमा योजना र आत्मविश्वास हुने हो भने यो सम्भव छ । माथि चीनको उदाहरण दिइसकिएको छ । काठमाडौं उपत्यकामा यति धेरै भद्रगोल हुन दिनुहुँदैन थियो । मोटरसाइकल-स्कुटरकै कारण काठमाडौं भद्रगोल भएको हो । योजनाविहीन तरिकाले जथाभावी सवारीसाधनहरु भित्र्याइयो । जथाभावी भित्र्याइएका सवारीसाधनबाट वैध, अवैध रकम उठाएर तलब खाने र भ्रष्टाचार गर्ने लोभमा सारा भद्रगोल बनाइएको हो । उपत्यकामा सार्वजनिक सवारीसम्बन्धी केही अध्ययन, अनुसन्धान भएका भए पनि तिनले दीर्घकालीन समाधान दिने देखिएको छैन ।

काठमाडौं उपत्यकामा सार्वजनिक यातायात सुरक्षित र भरपर्दाे बनाउन, शहरलाई सुरक्षित र सुन्दर बनाउन, प्रदूषण घटाउन मोटरसाइकल-स्कुटर प्रतिबन्ध गर्नैपर्दछ । झट्ट हेर्दा यो असम्भव लाग्न सक्छ । तर, गहिरोसँग अध्ययन गरियो भने मोटरसाइकल-स्कुटर काठमाडौं उपत्यकाको लागि अनावश्यक रुपमा खरिद र प्रयोग गरिएका सवारीसाधन हुन् । काठमाडौं उपत्यकाको सुन्दरतालाई कुरुप बनाउने, दुर्घटना र मृत्यु साधन भनेको मोटरसाइकल-स्कुटर नै हुन् ।

वि.सं. २०७७ सम्म देशभर रहेका ३१ लाख ६० हजार मोटरसाइकल-स्कुटर दर्ता भएका थिए । २०८० सम्म आइपुग्दा काठमाडौं उपत्यकामा १४ लाख ५० हजारभन्दा बढी मोटरसाइकल-स्कुटर गुडिरहेका छन् । अहिलेको जनसंख्यालाई यति धेरै दुई पाङ्ग्रे सवारीसाधन आवश्यक हुन् कि होइनन् ? असुरक्षित र भद्रगोल बनाइरहेको दुई पाङ्ग्रे सवारीसाधनको विकल्प के हुनसक्छ भनेर कहिल्यै बहस र छलफल भएको पाइँदैन । यदि कोही व्यक्तिले दुई वा तीन किलोमिटरको दूरीमा रहेको कार्यालयमा जान सवारीसाधन प्रयोग गर्छ भने त्यो सडक र सवारीसाधनको दुरुपयोग होइन ?

सडक यातायातलाई सुरक्षित र भरपर्दाे बनाउन, ट्राफिक जाम र दुर्घटना कम गर्न, दुर्घटनाबाट हुने मृत्यु कम गर्न, शहरी सुन्दरता कायम राख्न, वायु प्रदूषण कम गर्न, मोटरसाइकल-स्कुटरमार्फत् भुईंफुट्टा वर्गले अपनाइरहेको असुरक्षित र खतरनाक जीवनशैलीलाई व्यवहारिक र सहज बनाउन मोटरसाइकल-स्कुटर तत्काल प्रतिबन्ध गर्न आवश्यक छ ।


प्रतिक्रिया

10 thoughts on “काठमाडौंमा मोटरसाइकल-स्कुटर प्रतिबन्ध गरौं  !

  1. तिमीलाई कुरेर र कोच्चिएर अनि दिनदिनै पकेट मार्न दिएर बस चढन रहर भए चढ न त ।अरूलाई यस्ता बकम्फुस्से अर्ति नदेउ ।

    1. बरु सकै आफ्नो आफ्नो गाउँ फर्कौँ न भाइ ! किन अरुको सुविधामा तिम्रो डाहा जाग्ने?

  2. एकदम उत्कृष्ट लेख ,लेखक प्रति आभारी छु ,यसका चुनौती हरु अझै समाधान सहित लेखिएको भए समाधान र समस्याको पहिचान हुने थियो ,जे होस् सुगन्ध त छैन तर सुन हो ।

  3. अरुको सुविधामा तिम्रो आँखा किन पाल्ने? यस्तो तर्क त निरर्थक हाे
    “नजाने गाउँको बाटो नसाेध्नु” भनेर पढिन्थ्यो!
    बरु पाेखरेल बाबु! सबै जान आ-आफ्नो गाउँ फर्कौँ तर यस्तो असम्भव कुरा नगरौं!

  4. पहिले यो लेखक पत्रकार हो कि , बुद्धिजिवि हो कि ,कुनै प्रोफेसनल हो कि के हो, नेपाल प्रेसले यो खुलाएर लेख छाप्नु ठिक होला

  5. यस्ता पागल लेखक रे! पझेरो वाला हाै? कि दरिद्र हाै?जनता यो सहर मा आफुखुशि हिड्न नपाऊने?😭🇳🇵

  6. याे लेख सन्दर्बिक लाग्यो । तर पर्तिबन्ध लगाउन चाहिँ हुदैन किअ कि ब्यक्ति को मोउलिक अधिकार हनन हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *