प्रधानमन्त्रीलाई राजेन्द्र पाण्डेको सुझाव- तपाईंको सचिवालय भंग गर्नुस्, फ्रस्टेटेड सचिवहरुको अखडा नबनाउनुस् – Nepal Press

प्रधानमन्त्रीलाई राजेन्द्र पाण्डेको सुझाव- तपाईंको सचिवालय भंग गर्नुस्, फ्रस्टेटेड सचिवहरुको अखडा नबनाउनुस्

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सचिवालय भंग गर्न सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले फ्रस्टेटेड सचिवहरुको अखडा प्रधानमन्त्रीको सचिवालय भएकाले काम नलाग्ने बताए ।

उनले असन्तुलित भएकै कारणले सरकारले ल्याएको बजेट यथास्थितिमा पारित गर्न नसक्ने प्रधानमन्त्रीलाई चेतावनी पनि दिए ।

सांसद पाण्डेको भनाइ जस्ताको तस्तैः

राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुगमन विभाग, राजस्व अनुसन्धान विभाग आदि विगतमा प्रधानमन्त्रीको मातहतमा थिएन । अगाडिका प्रधानमन्त्रीहरुले आफ्नो हातमा लिएर केन्द्रीकृत गर्नुभयो । त्यो केन्द्रीकृत गरिएको कुरालाई आजको प्रधानमन्त्रीले पनि विरोध गर्नुभएको छ ।

आफू प्रधानमन्त्री भएपछि पुरानै ठाउँमा किन फर्काउनुभएन ? आज प्रधानमन्त्री भएको भए उहाँको कानले नै सुन्ने गरी भन्ने मेरो विचार हो । किन फर्काउनुभएन ? संघीयताको पक्षमा छौं कि हामी केन्द्रीय राज्य व्यवस्थाको पक्षमा छौं । आफू पावरमा हुँदाखेरी अझै धेरै केन्द्रीकृत गर्दै जाने विचारमा हामी छौं । त्यो कुरा हामीले सोच्न जरुरी छ ।

प्रधानमन्त्रीको नेतृत्वमा मन्त्रालयहरु चलिरहेका छन् या छैनन् म सोध्न चाहन्छु। संघीय मामिला मन्त्रालयको तराई मधेश समृद्धि भन्ने योजना छ। ६९ करोड ६५ लाख रुकम २५ जिल्लाको लागि तर, एउटा निर्वाचन क्षेत्रको लागि ४० प्रतिशत बजेट खनाइएका छन् एउटा मन्त्रीले । यसलाई सन्तुलित भन्न मिल्छ ?

एउटा मन्त्रीले आफ्नै निर्वाचन क्षेत्रमा खन्याउने परिपाटी अन्त्य गर्नुपर्छ । प्रधानमन्त्रीको सचिवालय अस्तव्यस्त छ । आज प्रधानमन्त्रीले उत्तर दिँदैगर्दा एकजना माननीयले सोधेको उत्तर पनि आएको रहेनछ । यो तीन दिनअघि प्रश्न गरेको हो नि ! उहाँको सचिवालयले तयार गरिदिनु पर्छ कि पर्दैनथ्यो ? त्यस्ताे सचिवालय विघटन गरे हुन्छ । अहिले मन्त्रीहरुले मन नपराएका सचिवहरु त्यहाँ कवाडी थन्काए जस्तो थन्क्याउने स्थिति रहेछ । हरेक फ्रस्टेटेड मान्छेहरु थन्काउने भएपछि तिनीहरुले काम गर्छ ? यतातिर ध्यान जान जरुरी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर