इलिप्स स्कुलकाे छात्र आत्महत्या प्रकरण: किटानी जाहेरी परेका प्रिन्सिपलसहित २ जनालाई मुद्दा नचलाउने निर्णय – Nepal Press

इलिप्स स्कुलकाे छात्र आत्महत्या प्रकरण: किटानी जाहेरी परेका प्रिन्सिपलसहित २ जनालाई मुद्दा नचलाउने निर्णय

काठमाडौं। काठमाडौंको नयाँ बजारस्थित इलिप्स स्कुलमा ५ कक्षामा अध्ययनरत छात्र होस्टेलमा झुण्डिएको अवस्थामा मृत भेटिएको घटनामा एक जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ।

होस्टलका वार्डेन ३९ वर्षीय रायन भन्ने रामप्रसाद सापकोटाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दायर गरिएको हो। मृतकका आफन्तले प्रिन्सिपल दिर्घहरी दाहाल र होस्टलमै बस्ने अर्का शिक्षक पुरुषोत्तम अधिकारीविरुद्ध पनि किटानी जाहेरी दिएका थिए।

प्रहरीले अनुसन्धानपछि बुझाएको प्रतिबेदनका आधारमा बाँकी दुई जनाविरुद्ध प्रमाण नभेटिएको भन्दै सापकोटाविरुद्ध मात्र मुद्दा चलाउने निर्णय गरेको हो। १२ वर्षीय अभिषेक तामाङ गत जेठ १६ गते मध्यरात आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परेका थिए।

मृतकका आमा वैदेशिक रोजगारीमा छन्। श्रीमानले छाडेपछि अभिषेकलाई उनकी आमा सन्दिराले गत वर्ष इलिप्समा भर्ना गरेर पढाउँदै आएकी थिइन्।

सन्दिराले दिएको किटानी जाहेरीमा अभिषेकलाई सजायका रुपमा ट्वाइलेट सफा गर्न लगाउने गरिएको, कुटपिट तथा मानसिक यातना दिइने गरिएको उल्लेख छ। आरोपी सापकोटाले होस्टलमा जेठ १६ गते अपरान्ह कोठा फोहोर गरेपछि आफूले अभिषेकसहितलाई सम्झाएको, कोठा र शौचालय सरसफाई गर्न लगाएको बयान दिएका छन्।

उनले आफूले अभिषेकलाई कहिल्यै हात नलगाएको तर बेलाबखतमा सम्झाउने गरेको बताएका छन्। अभिषेक अन्य ६ जनासहित एउटै कोठामा बस्दै आएका थिए। अभिषेकसँगै सुत्ने गरेका उनीसँगै पढ्ने साथीले भने अघिल्लो दिन वार्डेनले गाली गर्नुका साथै शौचलाय सफा गर्न लगाएपछि कोठामा पुगेर रोइरहेको अवस्थामा भेटेको प्रहरीलाई बताएका थिए।

प्रहरीले अनुसन्धानमा तानेका अन्य दुई आरोपीले घटनामा आफ्नो कुनैपनि संलग्नता नरहेको र मृतकलाई कहिल्यै गाली पनि नगरेको दावी गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर