चर्च ब्वाइजमा फुलेका कमल, डेढ वर्ष थलिएपछि बने उपाधि विजेता (भिडिओ) – Nepal Press

चर्च ब्वाइजमा फुलेका कमल, डेढ वर्ष थलिएपछि बने उपाधि विजेता (भिडिओ)

काठमाडौं । यसपटक नवप्रवेशी चर्च ब्वाइज युनाइटेडले डेब्यु सिजनमै सहिद स्मारक ए डिभिजन लिगको उपाधि उचाल्यो । सी डिभिजन छनोटबाट सी र बी हुँदै ए डिभिजन लिग च्याम्पियन हुने चर्च ब्वाइज दोस्रो टीम बन्यो । यसअघि यो उपलब्धि मनाङ मर्स्याङ्दी क्लबले हात पारेको थियो ।

चर्च ब्वाइजको यो सफलताको कारण खेलाडीहरुको प्रदर्शन नै हो । जसमा एक प्रमुख खेलाडी थिए कमल श्रेष्ठ । जसको दरिलो प्रदर्शनले गर्दा नै चर्च ब्वाइजले एक खेलअगावै उपाधि पक्का गरेको थियो ।

अघिल्लो सिजनको ए डिभिजन लिगलाई फर्केर हेर्दा कमलको कथा त्यति कोमल थिएन । अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेलिसकेका कमलले खेलेको क्लब च्यासल युथ क्लब रेलिगेशनमा परेको थियो ।

ए डिभिजन लिगमा सफल क्लब मनाङ मर्स्याङ्दीमा करिब पाँच वर्ष बिताएर च्यासल आएका थिए कमल । उनी भन्छन्, ‘सधैं सफल क्लबमा खेलेको मनाङले शीर्ष डिभिजन उक्लिएदेखि रेलिगेसनमा संघर्ष गर्नुपरेको थिएन । च्यासल गएपछि हारमात्रै भयो । अन्त्यमा रेलिगेसनमा परियो । धेरै नराम्रो लागेको थियो ।’

क्लब रेलिगेसनमा पर्दा टीमका खेलाडीहरुमा पनि शंका उपशंकाहरु उब्जिन्छन् । रेलिगेशनमा परेको टीमका खेलाडीलाई अरुले हेर्ने नजर पनि फरक हुन्छ । च्यासल रेलिगेसनमा परेपछि कमलमाथि पनि दबाब बढ्यो । तर, च्यासल रेलिगेसनमा परेर बी डिभिजनमा ओर्लिए पनि कमल भने ए डिभिजनमै उक्लिए चर्च ब्वाइजको खेलाडी बनेर । जसबाट पहिलो वर्ष नै च्याम्पियन बने ।

‘च्याम्पियन हुन पाउँदा रमाइलो लागेको छ । लिग पनि धेरै पछि भयो अनि डबल राउन्ड रोबिनमा । नयाँ क्लबसँग आवद्ध भएर धेरै पछि खेल्न पाउँदा अनि च्याम्पियन बन्दा खुशी त भइहालिन्छ’, कमल भन्छन् ।

चर्च ब्वाइजमा अञ्जन विष्ट, अनन्त तामाङ जस्ता स्टार खेलाडीहरु भित्रिइसकेका थिए । लामो समयदेखि उनीहरुसँगै खेलेका कमलले अफर आउँदा पनि अरु क्लबमा जाने रहर गरेनन् । पुरानै टीमका खेलाडीहरु भित्रिएको क्लबमा कमल पनि भित्रिए ।

नेपालमा उपलब्ध खेलाडीहरुमा कमल उत्कृष्ट राइटब्याक डिफेण्डर हुन् । १२ वर्षको उमेरमा फुटबल यात्रा सुरु गरेका उनका बुवा मनाङ मर्स्याङ्दीका डाइहर्ट फ्यान हुन् । बुवा फुटबल समर्थक हुँदा फुटबललाई नै करियर बनाउन कमललाई सहज पनि भयो ।

कमललाई अझै पनि सम्झना छ, आफू स्कुलका दाइहरुको हात समातेर दशरथ रंगशाला पसेकाे । त्यतिवेलै उनले अठोट लिएका थिए, ‘म पनि एक दिन मनाङ मर्स्याङ्दीबाट खेल्छु ।’

कमलले फुटबललाई नै निरन्तरता दिइरहे । राम्रो खेल्दै पनि गए । विद्यालयस्तरका प्रतियोगिता खेल्दै गए । अन्ततः २०६६/६७ को सिजनमा ब्वाइज युनियनबाट डेब्यु गरे । डेब्यु सिजनको पहिलो खेलको दृश्य कमलको आँखामा झलझली छ । दशरथ रंगशालामा त्रिभुवन आर्मी क्लबविरुद्ध कमलको ब्वाइज युनियन मैदानमा उत्रिएको थियो । उक्त खेलमा उनले त्यसवेलाका उत्कृष्ट गोलकिपर विकास मल्लविरुद्ध गोल गरेका थिए ।

खेल सकियो । खेल सकिएपछि सबैले ‘विकास मल्ललाई गोल हानेको’ भनेर हौस्याए । त्यो हौसलाले कमलमा थप ऊर्जा थपियो । त्यसवेलादेखि अहिलेसम्म भएका ए डिभिजन लिगमा कमल सदाबहार छन् ।

मल्लविरुद्ध गोल हानेका कमलको फुटबल करियर त्यही समय झण्डै सकिएको समेत थियो । ब्वाइज युनियनकै खेल चलिरहँदा जम्प गरेर ल्यान्डिङ गर्दा डिसब्यालेन्स भएर उनको ढाडमा समस्या देखियो । त्यही बिरामी बल्झँदै जाँदा उनको बायाँ खुट्टा प्यारालाइसिस जस्तै भयो । करिब करिब उनको बायाँ खुट्टा चल्नै छाडेको थियो ।

खुट्टामा समस्या भए फुटबलको अर्थ के ? भर्खर करिअरलाई अगाडि बढाएका कमलको खुटटमै समस्या आइपर्दा केही समय त सोच्न पनि सकेनन् । बरु खुट्टा ठीक भए पुग्छ भनेर भगवानलाई पुकार्नुबाहेक कमलसँग अर्को विकल्प थिएन ।

कमल विगत सम्झिन्छन्, ‘त्यो समय मैले फुटबल खेल्ने सपनालाई माया मारेको थिएँ ।’

६ महिनाको अस्पताल बसाइपछि कमल बैशाखी टेकेर हिँड्ने भए । डेढ वर्ष फुटबलबाट टाढिए । कमल भन्छन्, ‘त्यसवेला म यसरी च्याम्पियन हुन्छु । फेरि फुटबल खेलेर यो ठाउँसम्म आइपुग्छु भनेर सोचेको पनि थिएनँ ।’

डेढ वर्ष मैदान बाहिर रहेका कमल न्यूरोड टीम (एनआरटी) बाट ए डिभिजनमा पुनः फर्किए । त्यसपछि मच्छिन्द्र गए । अन्ततः बाल्यकालदेखि खेल्ने सपना देखेको मनाङ मर्स्याङ्दी क्लबमा सन् २०१५ मा अनुबन्धित भए । मनाङबाटै सन् २०१८ मा ए डिभिजन लिगको उपाधिसमेत जिते ।

कमलले राष्ट्रिय टीममा उमेर समूह हुँदै सिनियर टीममा डेब्युसमेत गरिसकेका छन् । उनी सन् २०१६ देखि २०१९ सम्म निरन्तर राष्ट्रिय टीममा परे । त्यसपछि भने कमल टीममा परेका छैनन् । राष्ट्रिय टीममा नपरेको गुनासो वेलावेला सामाजिक सञ्जालमा समेत पोख्छन् कमल ।

‘मेरो प्रदर्शनबारे अरुले फिडब्याक दिँदा राम्रो खेलेका छौ भन्नुहुन्छ । मलाई पनि राम्रै गरे जस्तो लाग्छ । पछिल्लो ४ वर्षदेखि बन्द प्रशिक्षणमा पनि परेको छैन’, कमलको दुःखेसो छ, ‘मलाई राम्रै गरिरहेको छु जस्तो लाग्छ । तर, बन्द प्रशिक्षणमा पनि किन परिनँ होला जस्तो सधैं लागिरहन्छ । तर, कुनै न कुनै दिन प्रशिक्षकको नजरमा परिएला कि भनेर मेहनत गर्न छाडेको छैन । हरेस खाइसकेको छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर