सुमनाको प्रश्न- अर्थमन्त्रीज्यू ! बजेट गरिबमारा भो, हरेक सासको कति कर लिनुहुन्छ ? (भिडिओ) – Nepal Press

सुमनाको प्रश्न- अर्थमन्त्रीज्यू ! बजेट गरिबमारा भो, हरेक सासको कति कर लिनुहुन्छ ? (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सरकारले बजेटमार्फत् ल्याएको कर नीतिको सशक्त ढंगले विरोध गर्ने बताएकी छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले गरिबलाई झन् गरिब बनाउने गरी सरकारले कर नीति ल्याएको जिकिर गरिन् । सुमनाले त्यसको विरोधमा आफूहरूले संसद बैठकसमेत अवरुद्ध गर्नसक्ने चेतावनी दिएकी छन् ।

दैनिक उपभोग्य खाद्यान्नमा समेत सरकारले १३ प्रतिशत कर लिने नीति लिएकोमा उनको आपत्ति थियो । गरिब किसानलाई राहत दिने कार्यक्रम बजेटमा के छ ? भनी उनले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई प्रश्न सोधेकी छन् ।

श्रेष्ठले भनिन्, ‘गरिबलाई कर थोपर्ने काम भयो । करको नियम कस्तो बनाएका छौं भने गरिब झन् गरिब बनाउने, अनि कुपोषण निवारणको ठूल्ठूला कुरा गर्ने ? गरिबहरूको कथा सुनाउने दातृ संस्थाहरूलाई । गरिबलाई यसमा लेखिएको करले कसरी सहुलियत दिन्छ भनेर प्रक्षेपण देखाउनुस् । आफूले टार्गेट गरेको कर उठेन भने अब त अर्को वर्ष तपाईँले सासमा पनि कर लगाउनुहुन्छ । हरेक सासको कति मोल लिनुहुन्छ ? यो सदन पटकपटक राजनीतिक हिसाबले रोकिएको छ । जनताको लागि अव हामी रोक्छौं । यस्तो गरिबहरूलाई बढी गरिब बनाउने कर स्वीकार्य छैन । यसको विरोध गर्छौं ।’

सांसद श्रेष्ठले गरिबीलाई देखाएर दातृ निकायबाट बजेट ल्याउने र उनीहरूलाई मारमा पार्ने काम हुनै नसक्ने बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर