मधेशका अर्थमन्त्री यादवले भने- एक सय प्रोजेक्ट बनाउने दिशामा अगाडि बढिसकेका छौं, १० वटा रेडी भइसक्यो – Nepal Press

मधेशका अर्थमन्त्री यादवले भने- एक सय प्रोजेक्ट बनाउने दिशामा अगाडि बढिसकेका छौं, १० वटा रेडी भइसक्यो

जनकपुरधाम । मधेश प्रदेशका अर्थमन्त्री सञ्जयकुमार यादवले संसद सदस्यहरुले राखेको सल्लाह र सुझावबमोजिम नै नीति तथा कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएका छन् ।

प्रदेशसभा बैठकमा भएको प्रि-बजेट छलफलमा उठेको प्रश्नहरुको जवाफ दिँदै उनले जनजनको मुहार फेर्ने नीति तथा कार्यक्रम ल्याउने बताए ।

‘नीति तथा कार्यक्रम एकथरि र बजेट अर्कोथरिको हुने विगतको परिपाटी अन्त्य गर्छु । यो पटक नीति तथा कार्यक्रममै टेकेर बजेट ल्याउँछौं’, उनले भने ।

उनले अर्थ मन्त्रालयकै मेकानिजमले युनिट खडा गरेर सय वटा प्रोजेक्ट बनाउने दिशामा अगाडि बढिसकेको जानकारी गराए । जसमा १० वटा प्रोजेक्ट रेडी भइसकेको उनको भनाइ छ ।

‘भूमि व्यवस्था र गुठीसम्बन्धी ऐन तुरुन्त अगाडि बढाउने छौं’, अर्थमन्त्री यादवले भने, ‘भूमि बैंक पनि निर्धारण गरेर तमाम उद्योगपति, लगानीकर्ता, दातृ निकायहरुलाई सहभागी गराई लगानी सम्मेलन गर्छौं ।’

लगानीमैत्री वातावरण बनाउने दिशामा सरकार अगाडि बढिसकेको र यसले रोजगारी पनि सृजना हुने उनको भनाइ थियो ।

सरकारको नीति तथा कार्यक्रममा कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिनुका साथै कारागार व्यवस्थापन र खेलकुदलाई समेत परिस्कृत गरिने उनले प्रतिबद्धता जनाए ।

‘संसदमा माननीयज्यूहरुले किसानको कुरा उठाउनुभएको छ’, उनले भने, ‘किसानको पीडा सम्बोधन गर्ने खालको योजना ल्याउँछौं । मलखाद समयमा नपाउने ठूलो समस्या छ । यो पनि सम्बोधन गर्छौं । सिंचाइमा पनि जोड दिनेछौं ।’

प्रदेशमा लागुऔषधको कुलतमा ठूलो संख्यामा युवाहरु फसकेको कुरा उठेकाले यो समस्या निराकरण गर्ने कार्यक्रम पनि ल्याउने अर्थमन्त्री यादवले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर