पूर्वगृहमन्त्री खाणको बयान: धार्मिक प्रवृत्तिको व्यक्ति हुँ, अनुचित लाभ लिने साेच्न पनि सक्दिनँ – Nepal Press
नक्कली भुटानी शरणार्थी प्रकरण

पूर्वगृहमन्त्री खाणको बयान: धार्मिक प्रवृत्तिको व्यक्ति हुँ, अनुचित लाभ लिने साेच्न पनि सक्दिनँ

रुपन्देही । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका खाणले काठमाडौं जिल्ला अदालतको २५ नं इजलासमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेसमक्ष शुक्रबार बयानका क्रममा यो प्रकरणमा आफूलाई अनावश्यक रुपमा मुछिएको दाबी गरे ।

खाणसहित भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र ललितपुर निवासी हरिभक्त महर्जनको बयान शुक्रबार सकिएको छ । शुक्रबार बिहान ११ देखि साढे ५ बजेसम्म बयान लिइएको थियो ।

खाणको पक्षले शुक्रबार ढिलाइ गर्न खोजे पनि न्यायाधीश र इजलास अधिकृतले रातिसम्म भए पनि बयान सकाएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले ३० जनालाई प्रतिवादी बनाएकोमा १८ जना पक्राउ परेका छन् । १२ जना फरार छन् । १५ जना प्रतिवादीसँग बयान लिइसकिएको छ । शुक्रबारसम्म सबैको बयान सकिएपछि आइतबारदेखि थुनछेक बहस सुरु हुने भएको छ ।

यस्तो छ प्रहरीले अदालतमा बुझाएको प्रतिवेदन

प्रहरीले बुझाएको प्रतिवेदनमा पूर्वगृहमन्त्री खाणले तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, प्रतिवादी केशवप्रसाद दुलाल, नरेन्द्र केसी, आङटावा शेर्पासमेतलाई प्रत्यक्ष परिचालन गरेर सङ्गठित ठगी र राष्ट्र हित प्रतिकूल काम गरेको र अपराधको नेतृत्वदायी र सक्रिय भूमिका निर्वाह गरेको निष्कर्ष निकालेको छ ।

‘आपराधिक समूहका अन्य प्रतिवादीहरूलाई परिचालन गरी जाहेरवालाहरूसमेतबाट सङ्कलन गरिएको ठगीको रकम बाँडफाँट गर्ने र लिने खाने काममा संलग्न देखियो’, प्रतिवेदनमा उल्लेख छ ।

गृहमन्त्री रहँदा भुटानी शरणार्थी समस्या समाधानको आवरणमा खाणले गरेका र गराएका निर्णय, पहिलेको मन्त्रिपरिषद्बाट फिर्ता भएको प्रतिवेदनसँग मिल्ने समानान्तर प्रतिवेदन बनाएर मन्त्रिपरिषद्बाट स्वीकृत गराउने, केशवप्रसाद दुलालले एक करोड २४ लाख दिएको बयानलाई प्रमाण मानेको छ ।

खाणलाई दुलालले रकम दिने, गिफ्ट दिनेलगायतका संवाद, पक्राउ पर्नु अगाडि प्रमाण मेट्न मोबाइलको फ्याक्ट्री रिसेट गराउनुलाई समेत प्रमाणको रूपमा उल्लेख गरिएको छ ।

सचिव पाण्डे पक्राउ परिसकेपछि हिरासतबाटै उनले खाणलाई कसुरबाट जोगाउन प्रधानमन्त्री समेतलाई भनेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन नदिन तथा दुलाल र सानु भण्डारीले दिएको रकम फिर्ता गरेर इन्कारी बयान गर्न लगाउने ब्यहोराको सूचना खाण र उनको स्वकीय सचिव नरेन्द्रबाटै बरामद भएको उल्लेख छ ।

खाणले आङटावा शेर्पालाई भण्डारी र दुलाललाई हिरासतमा भेट्न पठाएको, दुवै सहमत भएपछि शेर्पामार्फत एक करोड रकम फिर्ता गरेको विषयलाई समेत प्रमाण लिएको देखिएको प्रतिवेदनमा जनाइए पनि उनले न्यायाधीशसमक्ष बयानमा यी कुरा अस्वीकार गरेका छन् ।

बयानमा खाणले आफ्नो राजनीतिक इतिहास जोड्दै बयानमा भनेका छन्-

प्रजातन्त्रको लागि संघर्ष गर्दा विभिन्न समयमा जेलनेल पनि गएको छु । राष्ट्र, राष्ट्रियता, राष्ट्रहित र राज्यविरुद्ध सोच्न पनि सक्दिनँ । म गाउँबाट आएको एउटा व्यक्ति आफ्नो मेहनत राष्ट्र र जनताप्रतिको समर्पण र प्रजातन्त्रप्रतिको प्रतिबद्धताले उठेको मान्छे है । विद्यार्थीकालमा त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको सभापति निर्वाचित हुँदै नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्षको जिम्मेवारी, जनान्दोलन २०४६ को समयमा सम्हालेको हुँ । मैले २०५४ सालमा नेपाल तरुण दलको केन्द्रीय सभापतिको सम्हालेको हुँ ।

म २०४८ सालमा प्रतिनिधिसभाको सदस्य २०६४ साल र २०७० संविधानसभाको सदस्य, २०७४ मा प्रतिनिधिसभाको सदस्य तथा विभिन्न मितिमा चार पटकसम्म मन्त्रीको जिम्मेवारी सम्हाले मौका पाएँ । मैले चौथो पटक मन्त्रीको जिम्मेवारी सम्हाल्दा संविधान र कानूनको पालना गर्दै देशमा शान्ति व्यवस्था र अमनचयन कायम गर्ने भूमिका निर्वाह गरेको विभिन्न कारण नियमित सेवा गरिरहे पनि राज्यबाट उपचार खर्चसमेत लिएको छैन । म धार्मिक प्रवृत्तिको व्यक्ति हुँ । जनतालाई झुक्याउने अनुचित लाभ लिने कुनै कार्य गर्नेबारे सोच्न पनि सक्दिनँ ।’

यस्तो थियो अभियोगपत्रमा खाणविरुद्धको व्यहोरा

भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समाधानका उपायहरु पहिल्याउन गठित कार्यदल २०७६ ले तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादललाई प्रतिवेदन बुझाएपश्चात सो प्रतिवेदनसहितको प्रस्ताव मिति २०७६।०८।१८ गते मन्त्रिपरिषद्मा पेश भएको र सो प्रतिवेदनको सम्बन्धमा मन्त्रिपरिषद्बाट कुनै निर्णय नै नभई सरकार परिवर्तनपछि फिर्ता आएको उक्त प्रतिवेदन पुनः मन्त्रिपरिषद्मा प्रस्ताव नै नगरी माथि उल्लेखित पीडितहरुलाई विश्वासमा पार्न मिति २०७८।०६।१४ गते सचिवस्तरीय निर्णयबाट जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रजिअको संयोजकत्वमा समिति बनाइ छुट भएका शरणार्थीहरुको विवरणलाई पुनः Verify गरी पेश गर्नेसमेतको कार्यादेश दिएको । सो समितिले कुनै काम नै नगरेको अवस्थामा मिति २०७९।०२।२७ गते माननीय मन्त्रीस्तरको निर्णयबाट पुनः २ महिना म्याद थप हुँदा छुट शरणार्थीहरुको नाम समावेश गर्नेसमेतको कार्यादेश थप गरेको, बुझिएका गृह मन्त्रालयका कर्मचारीहरु फणिन्द्रमणि पोखरेल, सागरमणि पाठक, चोमेन्द्र न्यौपाने, यन्तोष प्रधानसमेतले पहिले UN\HCRसमेतको Joint Verification Team ले Verify गरेका ४२९ जना शरणार्थीहरु नै विवादित रहेको अवस्थामा थप छुट दर्ता गराउन नहुने, भुटानी शरणार्थीहरुलाई मानवीय सहायतासम्बन्धी विषयमा निर्णय गर्दा अन्य देशका शरणार्थीहरुको हकमा समेत निर्णय गर्न दबाब पर्नसक्ने र सो गर्न अन्तर्राष्ट्रिय सम्बन्धका दृष्टिकोणले समेत कठिन हुने भएकोले थप छुट शरणार्थीहरु दर्ता गर्नेसमेतको कार्य नगर्न तत्कालीन गृहमन्त्री बालकृष्ण खाण र गृह सचिव टेकनारायण पाण्डेलाई सुझाव दिएकोमा सो बेवास्ता गरी छुट शरणार्थीहरुसम्बन्धी निर्णय गरे गराएको भनी खुलाएको, UN\HCRले नेपालमा रहेका भुटानी शरणार्थीहरुको दर्ता प्रक्रिया र तेस्रो मुलुकमा पुनःस्थापनाको कार्य 31 Dec 2016 मा नै पूर्ण रुपमा बन्द भइसकेको भन्ने सार्वजनिक सूचना जारी गरिसकेको अवस्थामा समेत नेपालमा रहेका भुटानी शरणार्थीहरुको नाममा नेपाली नागरिकहरुलाई समेत भुटानी शरणार्थीको रुपमा दर्ता गराउनका लागि गृह मन्त्रालयका कर्मचारीहरु र कार्यदलका सदस्यहरुलाई प्रत्यक्ष र अप्रत्यक्ष दबाब दिइएको भनी कागज गर्ने मानिसहरुले खुलाइदिएको, आफू गृहमन्त्री हुँदाका बखतको भन्दा पहिलेको मन्त्रिपरिषद्बाट फिर्ता भएको प्रतिवेदन पुनः आफू सामेल तत्कालीन मन्त्रिपरिषद्बाट स्वीकृत गराई सो स्वीकृत प्रतिवेदनसँग मिल्ने समानान्तर प्रतिवेदन तयार गरी गराई नेपाली नागरिकहरुलाई भुटानी शरणार्थीको सूचीमा समावेश गराइ झुक्यानमा पारेको, तत्कालीन अवस्थामा जिल्ला प्रशासन कार्यालय झापामा RCO (शरणार्थी समन्वय अधिकृत)को रुपमा शरणार्थी शिविरहरुको रेखदेख र अभिलेख राख्ने जिम्मेवारी पाएका नासु सुरेन्द्र दाहाललाई नाम दर्ता हुन छुट भुटानी शरणार्थीहरुको विवरणमा थप समेत गर्नका लागि तत्कालीन गृहमन्त्री बालकृष्ण खाणसमेतबाट दबाब दिएको र सो काम निजले गर्न आलटाल गरेकोले निजको गृहमन्त्रीकै आदेशमा तत्कालै सरुवा गरिदिएको भन्ने निजकै कागजबाट खुलेको, पक्राउ प्रतिवादी केशवप्रसाद दुलालले प्रतिवादी बालकृष्ण खाणलाई नेपालीहरुलाई भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने कार्यकै लागि भनी एक करोड चौबीस लाख पचास हजार नगदै दिएपश्चात लगत्तै कार्यादेशसमेत थप गरी समितिको म्याद थप गरेको, पक्राउ प्रतिवादी केशवप्रसाद दुलालको मोबाइलमा फेला परेको केशवप्रसाद दुलाल र टेकनारायण पाण्डेबीचको संवादमा (९८०११४२९९९-९८६००५२१००, 18 Apr. 2022) केशवले सर पन्थी सरले कस्तो राय दिनुभयो हजुर भनी भनेको, टेकनारायणले डिटेल कुरा भो, अब UN\HCR सँग मिटिङ छ, अनि थप काम हुन्छ भनी भनेको । केशवले छुट भएको हकमा कसरी गर्ने हजुर भनी भनेको । टेकनारायणले मिलाउँछन् भनी भनेको । केशवले क्याम्पमा नभएकाको हकमा भनी भनेको । टेकनारायणले ठीक छ, मिलाउने हो भनी भनेको । केशवले भोलि UN\HCR सँगको मिटिङपछि भेटौन हजुर भनी भनेको । टेकनारायणले हस् भनी भनेको । टेकनारायणले छलफल हुँदैछ भनी भनेको । (31 May 2022) केशवले प्रमोद शर्मा मन्त्रीसँग नजिक छन् हजुर, टेकनाथ रिजाललाई हाम्रो डिसिजनविना हुन्न भन्दै थिए रे भनी भनेको । टेकनारायणले प्रमोद चिन्छु, मन्त्रीज्यूको सामान रेडी भएन भनी भनेको । केशवले भोलि रेडी हुन्छ जस्तो छ हजुर भनी भनेको । टेकनारायणले मन्त्रीज्यूलाई म भेट गराउँछु भनी भनेको । केशवले भोलि Financial arrange भएपछि हजुरमार्फत् भेट्ने हो हजुर भनी भनेको । टेकनारायणले हस् भनी भनेको । (02 jun 2022) केशवले सर नमस्ते मन्त्री ज्यूसँग कति बजे टाइम भयो हजुर भनी भनेको । टेकनारायणले मन्त्रीज्यूको गिफ्ट ल्याएनौ भनी भनेको । केशवले ओके, गेटमा हजुर तल भन्दिनु भनी भनेको । टेकनारायणले, मन्त्रालय गेट हो नि भनी भनेको । केशवले हजुर भनेको । टेकनारायणले ल भन्या छु, गिफ्ट माथि लिएर आउनु, गिफ्ट कहाँ छ सँगै लिएर आउनु भनी भनेको देखिँदा बालकृष्ण खाणलाई केशवप्रसाद दुलालले रकम दिने, गिफ्ट दिने, भेट्नेलगायतका संवादहरुबाट बालकृष्ण खाणसमेतको आपराधिक समूहमा संलग्नता रहेको पुष्टि भएको ।

पक्राउ पर्नुभन्दा पूर्व बालकृष्ण खाणले आफ्नो निजी मोबाइल विवरणहरु मेटाउने उद्देश्यले  Factory Reset गरेको, टेकनारायण पाण्डे पक्राउ परिसकेपश्चात हिरासतबाटै निजले मन्त्री बालकृष्ण खाणलाई कसुरबाट जोगाउन प्रधानमन्त्रीसमेतलाई भनेर निजउपरको अनुसन्धान प्रक्रिया अगाडि नबढाउन दबाब दिनुपर्ने, प्रतिवादीहरु केशवप्रसाद दुलाल र सानु भण्डारीले दिएको रकम फिर्ता गरी बालकृष्ण खाणको नाम नलिने गरी इन्कारी बयान गर्न लगाउनु भन्नेसमेत व्यहोराका लिखित सूचनाहरु दिएको र सो सूचनाहरु निजै प्रतिवादी बालकृष्ण खाण र निजका स्वकीय सचिव नरेन्द्र केसीको साथबाट बरामद भएको उक्त लिखित सूचना परीक्षणका लागि पठाउँदा प्रतिवादी टेकनारायण पाण्डेको हस्तलिखत रहेको भनी खुल्न आएको, प्रतिवादी बालकृष्ण खाणले आङटावा शेर्पालाई सानु भण्डारी र केशवप्रसाद दुलाललाई हिरासतमै भेट्न पठाइ पहिले लिएको रकम फिर्ता गर्ने र बयानमा आफूसमेतलाई पोल नगर्न भनी पठाएको र सो कुरा हिरासतमा रहेका प्रतिवादीहरु सानु भण्डारी र केशवप्रसाद दुलालले आङटावा शेर्पाले भनेपछि सहमत भै सहमति गरेबमोजिम एक करोड निजका स्वकीय सचिव नरेन्द्र केसीमार्फत आङटावा शेर्पाले लिई सोमध्ये तीस लाख सानु भण्डारीको दाजु राजु भण्डारीलाई भर्पाइ गरिदिएको घटना विवरण कागज र भर्पाइ कागजसमेतबाट खुलेको देखिन्छ । यही अवधिमा आङटावा शेर्पा र नरेन्द्र केसीबीच मोबाइल फोनमा ४९ पटक कुराकानी भएको, नरेन्द्र केसीसँग भेट भएको र प्रतिवादीहरु सानु भण्डारी र केशवप्रसाद दुलाललाई मुद्दा मिलाउन हिरासतमा भेट्न गएको अडियोबाट र आङटावा शेर्पाको मुद्दा मिलाउन गएको बयानसमेतबाट पुष्टि हुन आउँछ । नरेन्द्र केसीको मोबाइल परीक्षण गर्दा 15 mar 2023 11 PM Factory Reset गरेको उक्त मोबाइल फोनसेटमा आर्थिक लेनदेनसम्बन्धी म्यासेज रहेको, उक्त मोबाइल फोन सेटमा शरणार्थी समन्वय इकाइ बेलडाँगी झापाको सूचना, गृह मन्त्रालयको निर्देशन र भुटानी शरणार्थी समन्वयसम्बन्धी पत्र, Fake-Bhutani refugee document शरणार्थी परिचयपत्र विवरण मेटेको, whats app Account narendra KC बाट news share फोन सेटको emaliमा भुटानी शरणार्थी शीर्षक भएको Word document narendra sir docx भएको विभिन्न नागरिकता, भुटानी शरणार्थीसम्बन्धी document रहेको देखिन्छ । प्रतिवादी टेकनारायण पाण्डेले थप बयान गर्दा भुटानी शरणार्थीहरुको सम्बन्धमा प्रतिवादी केशवप्रसाद दुलालले तत्कालीन गृहमन्त्री बालकृष्ण खाणकै कार्यकक्षमा निजलाई रकम दिएको भन्नेसमेत खुलाएको कारण यी प्रतिवादी बालकृष्ण खाणले तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, प्रतिवादी केशवप्रसाद दुलाल, नरेन्द्र केसी, आङटावा शेर्पासमेतलाई प्रत्यक्ष रुपमा परिचालन गरी प्रस्तुत संगठित ठगी लिखत कीर्ते एवं राष्ट्र हित प्रतिकूल काम गरी आपराधिक समूहका अन्य प्रतिवादीहरुलाई परिचालन गरी जाहेरवालाहरु समेतबाट संकलन गरिएको ठगीको रकम, लिनेखाने काममा संलग्न रहेको देखिन आएकोले प्रतिवादी बालकृष्ण खाणले गैरभुटानी शरणार्थी अर्थात आमनेपाली नागरिकलाई भुटानी शरणार्थी बनाइ अमेरिका पठाइदिने समूहमा आवद्ध भई प्रतिवेदनलगायत गृह मन्त्रालयका पत्रहरुका आधारमा विश्वास दिलाइ करौडौं रकम उठाउन लगाइ ठगी गरी लाभ लिइ मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा (१) र (२) बमोजिम ठगीको कसूर गरेको पुष्टि हुन आयो ।

यी प्रतिवादी बालकृष्ण खाणले बालकृष्ण पन्थी संयोजक रहेको भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समाधानका उपायहरु पहिल्याउन गठित कार्यदलको प्रतिवेदन २०७६ मा ४२९ जना छुट भएका भुटानी शरणार्थी भनी उल्लेख भएकोमा सो प्रतिवेदनका आधारमा गैरभुटानी शरणार्थीलाई अमेरिका पठाउन सम्भव नभएको हुँदा करौडौं रकम ठगी गरी लिनका लागि आपसमा मिलोमतो गरी बालकृष्ण पन्थी संयोजक रहेको सक्कली प्रतिवेदनलाई गृह मन्त्रालयका तत्कालीन सचिव प्रतिवादी टेकनारायण पाण्डेमार्फत सो प्रतिवेदनको पृष्ठ ३ को ६ नं बुँदामा अन्तिम वाक्यको व्यहोरा थप गरेको, पृष्ठ १० को २.५ नं. बुँदामा फरक व्यहोरा देखिएको, पृष्ठ नं १३ को क्र.नं., (क.अ) नं. १४ को ग.नं.को दोस्रो एबचब, पृष्ठ १६ को ३.६, ३.६.१ र ३.६.२ पृष्ठ नं. १७ र पृष्ठ नं. १८ को निष्कर्षमा व्यहोरा फेरबदल गरी गृह मन्त्रालयमा सक्कल प्रतिवेदनका ठाउँमा नक्कली प्रतिवेदन राखी भुटानी शरणार्थी बनाइ अमेरिका पठाइदिने भनी लिखत कीर्ते संगठित अपराध र ठगी गरी अकुत सम्पत्ति आर्जन गरेको र पन्थीको प्रतिवेदन हेरफेर गरी नेपाली नागरिकताको नाममा भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाइ लिखत कीर्तेको कसुरसमेत गरेको देखिँदा निज प्रतिवादी बालकृष्ण खाणले मुलुकी अपराध संहिता, २०७४ को दफा २७६ को उपदफा (१) र (२) बमोजिम सरकारी लिखत कीर्तेको कसुर गरेको पुष्टि हुन आयो ।

त्यसैगरी प्रतिवादी बालकृष्ण खाणले नेपाल राष्ट्रको गृहमन्त्री जस्तो शक्तिशाली र गरिमामय पदमा बसी आफूलाई लाभ पु¥याउने र अकुत सम्पत्ति कमाउने उद्देश्यले राष्ट्र हित प्रतिकूल काम गरेको र निजहरुले गरेको उक्त कसूरले नेपालको स्वाभीमान तथा अन्तर्राष्ट्रिय छविमा आँच आएको र नेपाल र नेपालीलाई अन्तर्राष्ट्रिय जगतमा हेर्ने दृष्टिकोणमा समेत आँच आउने गरी राष्ट्रको साख गिराउने कार्यसमेत गरेकोले निज प्रतिवादी बालकृष्ण खाणले राष्ट्र हित प्रतिकूल काम गरेको देखिँदा मुलुकी अपराध संहिता, २०७४ को दफा ५१ को उपदफा (१) र (२) को खण्ड (क) र उपदफा (७) बमोजिम राज्यविरुद्धको कसुर गरेको पुष्टि हुन आयो ।

प्रस्तुत मुद्दामा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाइ अमेरिका पठाइदिने भनी योजना बनाइ भुटानी शरणार्थीको नक्कली कार्डसमेत बनाइ बहालवाला गृहमन्त्री, गृह सचिव, सुरक्षा सल्लाहकार, गृहमन्त्रीका निजी सचिवसमेतलाई करौडौं रुपैयाँ नगद उपहार दिइ सो क्षेत्रका विशेषज्ञहरुलाई आपराधिक समूहको संगठनमा मिसाइ श्रेणीबद्ध संरचना तयार गरी संगठित आपराधिक क्रियाकलापमा लागेका सदस्यहरुको कामको जिम्मेवारी बाँडफाँट गरी तहगत आधारमा सबैभन्दा माथि अपराधको नाइकेका रुपमा प्रतिवादीहरु सानु भण्डारी र केशव दुलाल, इन्द्रजीत राई, सन्दीप रायमाझी, प्रतीक थापा बसेर त्यसपछिको ीबथभच मा सो कार्यलाई कार्यान्वयन गर्ने प्रतिवादीहरु सन्देश शर्मा, आङटावा शेर्पा, निरज राई, टंककुमार गुरुङ, सागर राई रही त्यसमुनि कार्यदल बनाउने, नीति नियम बनाउने प्रतिवादीहरु टेकनारायण पाण्डे, नरेन्द्र केसी, टोपबहादुर रायमाझी, बालकृष्ण खाण, टेकनाथ रिजाल र शमशेर मियाँसमेतले नीतिगत रुपमा प्रभाव पार्ने कार्य गरी संगठित रुपमा ठगीको रकम उठाउने आपराधिक कार्यमा प्रतिवादीहरु रामशरण केसी, राजेश अर्याल, विक्रम भन्ने गोविन्द चौधरी, सुनिल बुढाथोकी, निरञ्जनकुमार पोखरेल, धिरेन राई, मोहनराज राई, अशोक पोखेरल, सागर राई, दीपा हुमागाईं, विनिता साङदेन लिम्बू, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, राजेश अर्यालसमेतले ठगीको रकम संकलन गरी आपराधिक लाभका लागि रकम उठाउने कार्य गरी तहगत संरचनाको आधारमा गोप्य ढंगले आआफ्नो भूमिका निर्वाह गरी संगठित अपराधसमेत गरेको देखिँदा निज प्रतिवादी बालकृष्ण खाणले संगठित अपराध निवारण ऐन, २०७० को दफा ३ को उपदफा (१), (२), (३) को खण्ड (क) तथा दफा ५ बमोजिमको संगठित अपराधको कसुर गरेको पुष्टि हुन आयो ।

प्रतिवादी बालकृष्ण खाणसमेतले नियोजित र संगठित रुपमा समूहमा आवद्ध भई एकै वारदातमा एकभन्दा बढी कसुर गरी एकीकृत कसुरसमेत गरेको देखिँदा निज प्रतिवादीले मुलुकी अपराध संहिता, २०७४ को दफा ४३ को उपदफा (१) बमोजिम कसुर गरेको सप्रमाण पुष्टि हुन आएकोले कसुर ठहर हुन अभियोग मागदाबी लिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *