काभा वुमन्स भलिबल : चुनौतीका चाँङबीच नेपालको उपाधि लक्ष्य – Nepal Press

काभा वुमन्स भलिबल : चुनौतीका चाँङबीच नेपालको उपाधि लक्ष्य

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमले आजदेखि राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा काभा वुमन्स भलिबल च्यालेन्ज कप खेल्दै छ ।

पहिलो पटक नेपालले आयोजना गरेको यस प्रतियोगितामा नेपालसँगै आठ टिमको सहभागिता रहेको छ । समूह ‘ए’ मा नेपालसँगै भारत, बङ्गलादेश र किर्गिस्तान रहेका छन् । भने, समूह ‘बी’ मा श्रीलङ्का, मालदिभ्स, उज्बेकिस्तान र काजकिस्तान रहेका छन् ।

यसअघि, बङ्गलादेशमा आयोजना भएको एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपाल लगातार दुई पटकको विजेता हो । र, यस पटक नेपाल घरेलु मैदानमा हुने प्रतियोगितामा उपाधि ह्याट्रिक गर्न चाहन्छ । उपाधिको लक्ष्य राखी रहँदा नेपाली टिमका अगाडी चुनौतीका चाङ रहेका छन् ।

बङ्गलादेशमा आयोजना भएको प्रतियोगितामा नेपालले तुलनात्मक रूपमा कमजोर प्रतिस्पर्धी पाएको थियो । दक्षिण एसियाका टिमहरूसँग मात्रै खेलेको नेपालले ।

यस पटक विश्व भलिबल वरियतामा एसियातर्फ पाँचौँ स्थानमा रहेको काजाकिस्तानको पनि सहभागिता छ ।

तीन महिना लामो तयारी गरेपनि नेपालले यो प्रतियोगिताको तयारीका लागि कुनै पनि मैत्रीपूर्ण खेलहरू खेल्ने अवसर पाएन । आर्थिक अवस्थाका कारण प्रतियोगिता आयोजना गर्नु नै यो समयमा ठूलो कुरा भएको कप्तान अरुणा शाही बताउँछिन् ।

‘हामीले मैत्रीपूर्ण खेल खेल्ने बारेमा कुरा पनि गरेका थियौँ । तर, सबैतिरको यही आर्थिक परिस्थितिले गर्दा कर गरेनौँ । यो समयमा प्रतियोगिता आयोजना गर्नु नै ठूलो कुरा हो ।’ उनले भनिन् ।

तीन महिना लामो प्रशिक्षण गरेको नेपालका लागि अर्को चुनौती भनेको मुख्य खेलाडीको अनुपस्थिति हो । नेपाली टिमकी मुख्य स्पाइकर प्रतिभा माली नहुँदा टिमलाई ठूलो चुनौती छ । प्रतिभा प्रशिक्षणका क्रममा घाइते भएका कारण टिममा छैनन् । उनको अनुपस्थितिमा नेपालको स्वर्ण सपनामा धक्का पनि लाग्न सक्छ । तर, उनको कमी पुरा गर्नुपर्ने जिम्मेवारी अहिलेको युवा टिमलाई छ ।

‘हाम्रो टिममा धेरै युवा खेलाडी छन् । टिम ‘ट्रान्जिसन फेज’ मा छ । प्रतिभा नहुँदा हामीलाई धेरै घाटा छ । तर, नयाँ आएका खेलाडीलाई उनको कमी पुरा गर्नुपर्ने जिम्मेवारी छ,’ अरुणाले थपिन ।

तीन महिनादेखि विदेशी प्रशिक्षकको प्रशिक्षणमा रहेको नेपाली टिमको लक्ष्य प्रतियोगिताको उपाधि नै जित्नु छ । दक्षिण एसियाली खेलकुदमा भारतसँगै पराजित हुँदै रजमा चित्त बुजाएको नेपाली टिमले लगातार दुई पटक बङ्गलादेशमा स्वर्ण जित्यो त्यही लय कायम राख्ने, त्यति बेला भएका कमी कमजोरीहरुलाई सुधार्ने र हरेक टिमलाई चुनौती दिने नेपालको लक्ष्य छ ।

‘विदेशी प्रशिक्षक आएदेखि हामीले धेरै कुरा सिक्न पाएका छौँ । हाम्रो कमी कमजोरीहरुमा काम गरेर अघि बढेका छौँ । हामीलाई अरू टिमको तुलनामा ‘हाइट’ को बेफाइदा छ । तर पनि हामी त्यसमा ध्यान नदिएर हाम्रो बलियो पक्षमा तयारी गरेका छौँ, कप्तान अरुणाले भनिन् ।’

नेपालले प्रतियोगिताको पहिलो खेलमा आज ४ः३० बजे कीर्गिस्तानसँग खेल्दै छ । यो खेल जित्नुले टिमको मनोबल बढ्ने पुरै प्रतियोगिता भरि नेपालको नतिजामा फरक पार्ने कप्तान अरुणाको बुझाइछ । भने, सुरुआति खेल नै हार्‍यो भने मनोबल अलि कमजोर हुने पनि उनी बताउँछिन् ।

नेपालले दोस्रो खेल बंगलादेशसँग मङ्गलवार र तेस्रो खेल भारतसँग बुधवार खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *