एक हजार जोडीको डिभोर्स गराएकी अल्पना भन्छिन्- सम्बन्ध जोगाउन कोसिस गर्नुस् (भिडिओ) – Nepal Press

एक हजार जोडीको डिभोर्स गराएकी अल्पना भन्छिन्- सम्बन्ध जोगाउन कोसिस गर्नुस् (भिडिओ)

काठमाडौं ।
घटना १

एउटा जोडी थियो । दुवैजना आफ्नो क्षेत्रमा काम गरिरहेका थिए । कामका कारण श्रीमती अलि रातिमात्रै घर फिर्थिन् । राति अलि ढिला आएकोमा श्रीमानले सधैं किचलो झिक्थे । एक दिन राति ढिला आएकै विषयमा भनाभन भयो ।

भनाभनमात्रै भएन, शारीरिक रुपमा झगडा पनि भयो । झगडा हुँदा श्रीमानले श्रीमतीको अनुहारमा हिर्काइदिए । त्यसको भोलिपल्ट श्रीमती डिभोर्सका लागि अधिवक्ता अल्पना भण्डारीकहाँ पुगिन् ।

सीधै अदालती प्रक्रियामा जानुभन्दा पहिला प्रहरीकहाँ जानू भनेर उनले सल्लाह दिइन् । घाउको चेकजाँच गरेर रिपोर्ट तयार गर्न पनि सुझाइन् ।

केही दिनपछि ती महिला अल्पनाकहाँ फेरि आइन् । अल्पनाले केही समय हेरेर, बुझेर निर्णय लिनू भनेर सम्झाइन् । तैपनि डिभोर्स गर्ने सवालमा ती महिला अडिग भएकीले मुद्दा फाइल गरिदिइन् अल्पनाले । तर, मुद्दाको पूरै टुंगो नलागिकनै ती महिला र श्रीमान सहमतिमा छुट्टिए ।

घटना २

११ र १३ वर्षका बच्चाहरुको बाबुआमा डिभोर्स गर्ने निर्णयमा पुगे । आमा चाहिँ अल्पनाकहाँ आइन् । सुरुमा अल्पनाले अझै सोचेर निर्णय गर्न भनी केही समय दिइन् । तर, मुद्दा नै हाल्नुपर्ने अडानमा ती महिला रहेपछि अल्पनाले मुद्दाको प्रक्रिया अगाडि बढाइन् ।

तर, उनले श्रीमानको घर छाडेर मुद्दा हाल्नुपर्ने भयो । बाहिरै बसिन् । बाहिर बसे पनि उनलाई आफ्नो बच्चाको मायाले सताउन थाल्यो । श्रीमानको घरमा फोन गर्न थालिन् । तर, श्रीमानले भने उनलाई बच्चासँग बोल्नै दिएनन् ।

यो पनि पढ्नुस् : सम्बन्ध विच्छेदको बढ्दो ग्राफ- स्वतन्त्रताकाे खाेजी कि सामाजिक विचलन ?

यसपछि बच्चालाई बन्धक बनाएको भन्दै उनले मुद्दा हालिन् । कानूनले समेत पाँच वर्षसम्म आमासँगै बच्चा रहने अधिकार दिए पनि बच्चाहरु १० वर्ष पुगेपछि उनीहरुले कोसँग बस्ने भनेर रोज्न पाउँछन् । मुद्दा हालेपछि बच्चालाई अदालतमा उपस्थित गराइयो । बच्चाहरुले दुवैजनासँग सँगै बस्ने भने ।

यसपछि ती महिला पनि घरै गएर बस्न थालिन् । तर, घरमा श्रीमान र श्रीमतीबीचमा झगडा भइरहने । घरको माहोलले बच्चाहरुलाई झनै गाह्रो बनायो । यता अदालतमा मुद्दा चलिरहेकै थियो । तर, केही समयपछि ती महिला अधिवक्ता अल्पनाको सम्पर्कबाट टाढिइन् । मुद्दालाई यत्तिकै छाडिदिइन् ।

अल्पना भन्छिन्, ‘बच्चाहरु काँचो माटो हुन् । त्यसबाट के बनाउने, त्यो हाम्रै हातमा हुन्छ । राम्रो वातावरणमा हुर्कन पाउनु बच्चाको अधिकार हो । त्यही भएर श्रीमान-श्रीमतीले डिभोर्स नै गरे पनि बच्चाको सवालमा संयम हुन आवश्यक हुन्छ । एकअर्काबीचको झगडालाई टाढै राखेर बच्चाको सुन्दर भविष्यको ढोका खोलिदिन कोसिस गर्नुपर्छ ।’

घटना ३

अल्पनाकहाँ एक जोडी पुगे । उनीहरुले अगाडि नै डिभोर्स गर्ने भनेर सल्लाह गरिसकेका रहेछन् । डिभोर्स त गर्ने, तर पनि सँगै बस्ने सल्लाह गरेका रहेछन् । डिभोर्स चाहिँ विदेश जान गर्न लागेका रहेछन् । उनीहरुको सानो बच्चा पनि थियो ।

अल्पनाले परिवारबारे सोधेकी थिइन् । तर, परिवारकै सहमतिमा आएको उनीहरुले बताएका थिए । अल्पनाले प्रक्रिया अगाडि बढाइन् । उनीहरुको डिभोर्स भयो । महिलाले अंश पनि लिइनन् ।

अल्पना भन्छिन्, ‘पछि मात्रै थाहा भयो, उहाँ(महिला)लाई फसाइएको रहेछ । अलि पछि मध्यराति मलाई फोन गरेर रुँदै सबै कुरा बताएर आफू सडकमा अलपत्र परेको बताउनुभयो । त्यो सुन्दा एकदमै नमीठो लाग्यो । डिभोर्स गराउँदै गर्दा उनीहरुको परिवार पनि बोलाउनुपर्ने रहेछ ।’

अल्पनालगायत केही अधिवक्ताहरु मिलेर खोलेको प्राइम लिगल कन्सल्टेन्सी छ । आजभन्दा ११ वर्ष अगाडि उनीहरुले यस फर्म दर्ता गरेका थिए । त्यसपछि अहिलेसम्म अल्पनाको फर्मले एक हजारभन्दा बढी जोडीको डिभोर्स गराइसकेको छ ।

अल्पना भन्छिन्, ‘हामीले एक हजारभन्दा बढी जोडीको डिभोर्स गराइदियौं । तर, डिभोर्सका कारण र प्रकार जोडीपिच्छे फरक छ ।’

अल्पनासँग सम्पर्कमा आउनेहरुको डिभोर्स गर्नुका कारण अनेक हुन्छन् । श्रीमान वा श्रीमतीमध्ये एकजना विदेशमा छन् भने अविश्वासका कारण डिभोर्स भएका छन् । विदेश जाँदा परिवारसँग दूरी बढ्ने भयो । दूरीमात्रै होइन, कुराकानी पनि कम हुने भयो । अर्कातिर अहिले नेपाली समाज परिवर्तन पनि हुँदै गएको छ । पहिला संयुक्त परिवारमा बस्थे । केही समस्या भयो भने परिवारका अन्य सदस्यहरुले सम्झाउँथे, सरसल्लाह दिन्थे । तर, अहिले एकल परिवारको अभ्यास भएकाले सानो विवाद या झगडा पनि अन्त्यमा डिभोर्समा गएर टुंगिने अल्पनाको अनुभव छ ।

काममा व्यस्त भएकाले एक अर्कालाई दिने समय कम हुन्छ । आर्थिक हिसाबमा पनि श्रीमान-श्रीमती नै सक्षम हुन्छन् । करियर अगाडि बढाउन एक अर्कालाई साथ दिए कि दिएनन्, कुराकानी शेयर गरे कि गरेनन् लगायत कुराले सम्बन्धलाई एकदमै असर गर्ने अल्पनाको दाबी छ । आर्थिक अवस्था पनि ठीक भएपछि एक-अर्कामा भर पर्नुपर्ने हुँदैन । त्यही कारण पनि अहिले मान्छेहरुले डिभोर्सलाई सहज रुपमा लिइरहेको अल्पनाको बुझाइ छ ।

‘हामीकहाँ आउने केसमा श्रीमान-श्रीमतीबीचमा केही कुरामा सहज नभएको, एक-अर्कालाई समय नदिएको, सानो विवाद हुँदा पनि छलफल गरेर त्यसको समाधान गर्न नचाहेकाले डिभोर्सको निर्णय लिएर आउनुहुन्छ’, उनी भन्छिन्, ‘अचेल मान्छेसँग सहने क्षमता पनि कम भएर हो कि ! केही कुरामा सम्झौता गर्न नै कोही तयार देखिँदैनन् । कति जोडी त शारीरिक रुपमा झगडा गरेर डिभोर्सको निर्णयमा पुगेका हुन्छन् ।’

अल्पनाकहाँ पुरुष र महिला दुवै क्लायन्ट बराबर आउँछन् । उनीहरुलाई पहिलोपटक अल्पनाले सोध्ने प्रश्न हो- ‘के तपाईं साँच्चिकै यो सम्बन्ध तोड्न चाहनुहुन्छ ? सम्बन्ध जोगाउन सानो कोसिस गर्नुहुन्न ? के तपाईं यो सम्बन्धलाई निरन्तरता दिन सक्नुहुन्छ ?’

यो पनि पढ्नुस् : सयभन्दा बढी जोडीको डिभोर्स गराएका वकिल जोडीलाई प्रश्न- सम्बन्ध जोड्ने कि तोड्ने ? (भिडिओ)

विशेष गरेर बालबच्चा भएकाहरुलाई अल्पनाले यस्तै प्रश्न सोध्छिन् पहिला । तर, यदि घरेलु हिंसामा परेकी छन् भने अथवा जटिल प्रकृतिको समस्या छ भने चाहिँ उनले साथ दिन्छिन् । नत्र आवेगमा डिभोर्स गर्ने भनेर आएका छन् भने एक-अर्कालाई केही समय दिन्छिन् । त्यो समयमा पनि उनीहरुको सम्बन्धमा सुधार भएन भने डिभोर्सको प्रक्रिया अगाडि बढाउन सहयोग गर्छिन् ।

कानूनी प्रक्रिया अगाडि बढाए पनि अदालतमा मेलमिलाप केन्द्र हुन्छ । पहिला त्यहाँ छलफल हुन्छ । अल्पनाका अनुसार अदालतका न्यायाधीशहरु पनि सीधै डिभोर्स होस् भन्ने चाहँदैनन् । सकेसम्म मेलमिलाप नै होस् भन्ने चाहन्छन् । तर, त्यस्तो अवस्था नै नभएको वेला भने न्यायाधीशले फैसला गरिदिन्छन् । डिभोर्सको केसमा प्रायः एक वर्षको कुलिङ पिरियड हुन्छ । त्यो भने डिभोर्स चाहिरहेको जोडीले सम्बन्धलाई नवीकरण गरेर अगाडि जान सक्छ कि भन्ने मनसाय सबैको हुने भएकाले त्यो कुलिङ पिरियड राखिएको अल्पनाको भनाइ छ ।

त्यति धेरै मान्छेको डिभोर्स गराएकी उनी आफू भने सधैं सम्बन्ध नवीकरणकै पक्षमा रहेको बताउँछिन् । यस्ता केसहरुले आफूलाई एक्साइटेड नबनाउने बताउँछिन् अल्पना । उनी भन्छिन्, ‘कुनै व्यक्तिले डिभोर्स गर्नुअघि कति धेरै कुरा जोडिएको हुन्छ । परिवार, समाज, साथीभाइ हुन्छन् । भविष्यका योजनाहरु बनाएका हुन्छन् । समयको लगानी भएको हुन्छ । मायाको लगानी भएको हुन्छ । त्यस्तो अवस्थामा कोही जोडी छुट्टिन्छ भने एक्साइटेड हुनै सकिँदैन ।’

तर, त्यो सम्बन्धले एक अर्कालाई अगाडि बढ्न दिइरहेको छैन भने, दुवैलाई घाटा भइरहेको छ भने डिभोर्स नै गर्न सुझाउँछिन् । प्रगतिका लागि कतिपय सम्बन्ध बाधक भएका हुन्छन् । सम्बन्ध खराब भएरै कतिपयको मानसिक स्वास्थ्य खराब भएको हुन्छ । कतिपय घरेलु हिंसा लगातार भइरहेको हुनसक्छ । यस्तो अवस्थामा क्लायन्टलाई डिभोर्स नै सुझाउने गरेको अल्पनाको भनाइ छ ।

अल्पनालाई लाग्छ, सम्बन्ध सानोतिनो कुरा नै होइन । यसको छुट्टै आयाम छ । सबै सम्बन्ध रोमान्टिक हुनुपर्छ भन्ने छैन । तर, परिवार, समाज जोडिने हुनाले संवेदनशील हुने कुरामा सम्झौता गर्न नहुने बताउँछिन् ।

अल्पना भन्छिन्, ‘व्यक्तिगत वा कुनै पनि समस्याबारे खुलेर बोल्नुहोस् । सम्बन्धलाई इमानदारीसाथ जोगाउनुहोस् । इमानदार भएर प्रस्तुत हुनुहोस् । एउटा झूट बोल्नुभयो भने त्यसलाई छोप्न हजार झूट बोल्नुपर्छ । आफ्नो कुरा राखेर छलफल गर्नुहोस् । म पनि सम्बन्ध जोगाउन कोसिस गर्छु । निरन्तर संवादमा रहन्छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर