मधेसका भाैतिक पूर्वाधार सचिवलाई निर्माण व्यवसायीले कार्यकक्षमै थुने (भिडिओ) – Nepal Press

मधेसका भाैतिक पूर्वाधार सचिवलाई निर्माण व्यवसायीले कार्यकक्षमै थुने (भिडिओ)

जनकपुरधाम । मधेस प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव कृष्णकुमार मिश्रलाई निर्माण व्यवसायीहरुले कार्यकक्षमै थुनेका छन् ।

विकास निर्माणको काम सम्पन्न गरे पनि भुक्तानी नदिएको भन्दै निर्माण व्यावसायीहरुको एक समूहले सचिव मिश्रलाई कार्यकक्षमै थुनेका हुन् ।

निर्माण व्यवसायीहरुले सचिवको कार्यकक्षको मूल ढोकामै ताला लगाएका थिए । केहीबेरमा प्रहरीको टोली पुगेपछि निर्माण व्यवसायीहरुले ताला खोलेका छन् । उनीहरुले मधेस सरकार र मन्त्रीविरुद्ध प्रदर्शनसमेत गरे ।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी विक्रम साहले भुक्तानी नपाएको भनेर छलफल गर्न गएका केही निर्माण व्यवसायीहरुले सचिव मिश्र कार्यकक्षमै रहेका बेला बाहिरबाट ढोकामा तालाबन्दी गरेको र प्रहरी पुगेपछि खोलेको बताए ।

उनले भने, ‘ऋण लिएर विकास निर्माणको काम गरेको तर दुई वर्ष बितिसक्दासमेत भुक्तानी नदिएपछि ब्याज तिर्न पनि समस्या भएको निर्माण व्यवसायीहरुको गुनासो छ ।’

साढे दुई वर्षदेखि भुक्तानी दिन आलटाल गरेपछि बाध्य भएर सचिवलाई थुनेको निर्माण व्यवसायी खुशीलाल ठाकुरले बताए । उनले भने, ‘हामी ऋणमा डुबिसकेका छौं । तर, सरकारलाई मतलब छैन । कम्तिमा काम गरेको भुक्तानी त हामीलाई दिनुपर्‍यो नि !’

भौतिक पूर्वाधार विकास मन्त्रालयले सम्पन्न भएका योजनाहरुको करिब ६० करोड रूपैयाँ भुक्तानी गर्न बाँकी छ । अन्य मन्त्रालयले समेत करिब सयौं योजनाको एक सय करोड बढी भुक्तानी नगर्दा उपभोक्ता र निर्माण कम्पनीहरु समस्यामा परेका छन् ।

भुक्तानी समस्या समाधान गर्न सांसद रानी शर्मा तिवारीको संयोजकत्वमा संसदीय समितिसमेत बनेको छ । तर, समितिले समेत केही काम गर्न सकेको छैन ।

समितिकी संयोजक तिवारीले कर्मचारीहरुले समयमा फाइल नदिएपछि योजनाहरुको अनुगमन गर्न नपाएको गुनासो केही दिन अगाडि संसद बैठकमै गरेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर