अन्तिम भीसी लिम्बूको मृत्यु: बेलायती सत्तादेखि बीबीसीसम्मको उपेक्षा ! – Nepal Press

अन्तिम भीसी लिम्बूको मृत्यु: बेलायती सत्तादेखि बीबीसीसम्मको उपेक्षा !

गोर्खाविज्ञ भन्छन्- बेलायतले गोर्खालाई प्रयोग गर्‍यो, सम्मान गरेन

काठमाडौं । गत शनिबार बेलायती गोर्खा सैनिकका एक जीवित इतिहासको अन्त्य भयो । कप्तान रामबहादुर लिम्बूको ८३ वर्षको उमेरमा ज्यान गयो । उनी बेलायती सैनिकहरुले बहादुरीको लागि पाउने पदक भिक्टोरिया क्रस (भीसी) पाउने एक्ला अन्तिम जीवित सदस्य थिए । सन् १९६६ जुलाई २२ मा बेलायतको बकिङघम प्यालेसमा रानी एलिजावेथ तृतीयले लिम्बूलाई भिक्टोरिया क्रस पदक दिएकी थिइन् ।

लेस कर्पोरलको रुपमा सन् १९६५ मा २६ वर्षको उमेरमा हाल मलेसियामा पर्ने बोर्नेओको भिडन्तमा उनले देखाएको बहादुरीको लागि उनलाई भीसी पदक दिइएको थियो । सबैभन्दा कान्छो भीसी पदक पाउने भनेर उनको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा सूचीकृतसमेत छ । गोर्खा सैनिकको दुई शताब्दी पुरानो इतिहासमा नेपालका १३ गोर्खा सैनिकहरुले भीसी पाएका थिए ।

भीसीमात्रै होइन लिम्बूले सन् १९८४ मा मेम्बर अफ भिक्टोरियन अर्डर (एमभीओ) समेत पाएका थिए । त्यसको अर्को वर्ष उनले बेलायती सैनिक सेवाबाट अवकास लिए । बेलायती सैनिकबाट अवकास भएपछि घरी झापाको दमक र घरी काठमाडौं ओहोरदोहोर गर्ने लिम्बूले पटकपटक बेलायत यात्रा पनि गरे । बेलायती पदकहरुले सुज्जित लिम्बूलाई बेलायती सत्ताले उनको मृत्युमा समवेदना दिनसमेत कञ्जुस्याइँ गर्‍यो । बेलायती राजा, प्रधानमन्त्री र अरु क्याबिनेट सदस्यहरु त परै जाओस्, नेपालस्थित बेलायती राजदूतले समेत समवेदना दिन जाँगर चलाइनन् ।

महारानीलाई लिम्बूले दिएको समवेदना बन्यो समाचार

सन् २०२२ सेप्टेम्बर २० मा बीबीसीले बेलायती महारानीको मृत्युमा भीसी लिम्बूले दिएको समवेदनाको समाचार प्राथमिकताका साथ बनाएको थियो । बीबीसीले दुई मिनेटको भिडियो नै बनाएको थियो । ‘नेपालको दुर्गम क्षेत्रबाट महारानीलाई सम्मान प्रकट गर्दै’ अर्थ आउने शीर्षकमा बीबीसीले समाचार बनाएको थियो । नेपालस्थित बेलायती राजदूत निकोला पोलिटले समवेदना पुस्तिका बोकेर लिम्बूको घरमा गएको र लिम्बूले महारानीको ‘मृत्यु भएको सुन्दा दुःख लागेको’ सामग्री भिडियोमा छ ।

रोचक कुरा चाहिँ महारानीको समवेदना पुस्तिका लिएर भीसी लिम्बूकोमा पुग्ने बेलायती राजदूत लिम्बूको मृत्युमा बेलायती दरबारमा पुगेर उनको समवेदना पुस्तिका  लगिनन् । नेपालस्थित बेलायती दूतावासले दि गोर्खा वेलफेर ट्रस्टले ट्विटरमा शेयर गरेको भीसी लिम्बूको मृत्युको समाचार टिट्वट गर्नुबाहेक केही गरेको छैन । बेलायती महारानीलाई लिम्बूले समवेदना दिएको समाचार प्रशारण गर्ने बीबीसी विश्व सेवाले लिम्बूको मृत्युमा भने कुनै समाचार बनाएको छैन ।

अरु त अरु बीबीसी नेपाली सेवाले समेत लिम्बूको मृत्युको समाचार यो सामग्री तयार गर्ने समयसम्म बनाएको छैन । बेलायतको निजी अखबार गार्डियनले भने समाचार बनाएको छ । गार्डियनका पत्रकार नदिम ब्यादसाले समाचार बनाएका छन् ।

सन् २०१० को बीबीसी फिचरका अनुसार पहिलो र दोस्रो विश्व युद्धमा मात्रै दुई लाख गोर्खाले बेलायती पक्षमा लडेका थिए । जसमा ४५ हजारले ज्यान गुमाएका थिए । पहिलो र दोस्रो विश्व युद्धबाहेकका अन्य थुप्रै बेलायती युद्धमा गोर्खाहरु लडेका छन्, मरेका छन्, अंगभंग भएका छन् । सन् १८१५ अप्रिल २४ मा गोर्खा सैनिकको पहिलो दस्ता बनाएपछिका २०८ वर्षसम्म गोर्खाहरु निरन्तर बेलायती सेवामा छन् । तर, ती नै गोर्खाहरुका शिखर व्यक्तिको मृत्युमा बेलायती सत्ता अनुदार देखिएको छ ।

गोर्खाविज्ञ भन्छन्ः बेलायतले गोर्खालाई प्रयोग गर्‍यो, सम्मान गरेन

पूर्वगोर्खा सैनिक तथा ‘आयो गोर्खाली’नामक गोर्खा सैनिकको इतिहासको एक विश्व चर्चित पुस्तकका लेखक टिम आई गुरुङले बेलायती प्रधानमन्त्री र राजाले भीसीको मृत्युमा समवेदना नदिनु दुःखद तर सत्य भएको तर्क गरे । नेपाल प्रेससँग हङकङबाट प्रतिक्रिया दिँदै गुरुङले भने, ‘गोर्खालाई बहादुर र महान भनेर बेलायतीहरुले सस्तो र स्वार्थी प्रोपोगान्डामात्रै गरे ।’

‘गोर्खा भर्तीका कथाव्यथा’ नामक पुस्तकका लेखक तथा संकलक प्राध्यापक डाक्टर सुरेन्द्र केसीले विश्व युद्धमा लडेर नभएर अरु युद्धमा लडेर भीसी पाएको भन्ने बुझेर भीसी लिम्बूलाई उपेक्षा गरेको हुनसक्ने तर्क गरे । ‘भीसी सामान्यतया विश्व युद्धमा लडेकालाई रिवार्ड गर्ने अभ्यास हो । ग्लोबल लेबलको युद्ध नभएर बोर्नेओको युद्धको भीसी भएर उपेक्षा गरेको हुनुसक्छ’, केसीले भने ।

बेलायती गोर्खा भर्तीको दुई शताब्दीपछि पनि बेलायती समकक्षीसँगकै हाराहारीको सेवासुविधाको लागि दबाब दिनु परेको भन्दै केसीले विभेद भएको बताए । बेलायतीले गोर्खालाई प्रयोग गरेको तर सम्मान नगरेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर