वर्षाका कारण नेपाल-साउदी अरबको खेल नहुने सम्भावना, अंक बाँड्दा के हुन्छ समीकरण ? – Nepal Press

वर्षाका कारण नेपाल-साउदी अरबको खेल नहुने सम्भावना, अंक बाँड्दा के हुन्छ समीकरण ?

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत मुलपानी क्रिकेट मैदानमा आज नेपाल र साउदी अरबबीचको खेलमा वर्षाले अवरोध गरेको छ । ९ बजेदेखि खेल सुरु हुनुपर्नेमा सवा साढे ११ बजेसम्म पनि टस हुन सकेको छैन ।

यतिबेला दुवै टिम तथा घरेलु दर्शक वर्षा रोकिएर खेल सुरु हुने प्रतिक्षामा छन् । तर, अहिलेसम्म वर्षा रोकिने छाँटकाट देखिएको छैन । अफिसियलहरुका अनुसार यदि २:१५ सम्ममा टस हुन सक्यो भने थोरै ओभरमा घटाएर खेल हुन सक्छ । अन्यथा खेल रद्द हुनेछ ।

मुलपानी क्रिकेट मैदानमा नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय म्याच खेल्न लागेको थियो । एसीसी प्रिमियर कपमा नेपालको एउटा म्याच मात्र यस मैदानमा परेको छ । त्यसैले आज खेल नभएमा मुलपानी मैदानमा नेपालले यो प्रतियोगिता खेल्ने छैन ।

खेल रद्द हुँदा नेपाल र साउदीअरबबीच १–१ अंक बाँडिन्छ । समूह एमा नेपाल र साउदीसँगै ओमान, कतार र मलेसिया पनि छन् । नेपालले मलेसिया र ओमानबीचको खेल जित्दै ४ प्वाइन्टका साथ अंकतालिकाको शीर्षस्थानमा छ । नेपालको नेट रनरेट पनि अरु टिमहरुको भन्दा राम्रो (१.७२६) छ ।

अंकतालिकाको दोस्रो स्थानमा रहेको ओमानले ३ खेल खेलेर २ जित र एक हार व्यहोरेको छ । तीन खेलबाट चार अंक बटुेको ओमानको नेट रनरेट -०.०११ रहेको छ । यस समूहबाट सेमिफाइनलमा स्थान बनाउन सक्ने दुई टिम नेपाल र ओमान नै हुन् ।

आजको खेल रद्द भएमा नेपाल ५ अंकसहित अंकतालिकाको शीर्षस्थानमा नै रहनेछ । अन्तिम खेलमा जित हासिल गरेको खण्डमा नेपाल ७ अंकसहित समूहबिजेताको रुपमा सेमिफाइनलमा जानेछ । त्यसैले आजको खेलमा अंक बाँड्दा नेपाललाई तात्विक असर पर्दैन ।

तर, नेपाल यदि कतारसँग पराजित भयो र ओमानले अन्तिम खेलमा साउदीसँग जित हासिल गर्यो भने नेपाल दोस्रो स्थानमा झर्न सक्छ । त्यसबेला नेपालको ५ अंक र ओमानको ६ अंक हुन्छ ।

दोस्रो भएर सेमिफाइनलमा जाँदा पनि नेपाललाई घाटा भने छैन । अर्को समूहबाट हङकङ र युएई सेमिफाइनलका दावेदार हुन् । हङकङले दुई खेल बाट र यूएईले ३ खेलबाट ४–४ प्वाइन्ट हासिल गरेका छन् । हङकङले बाँकी दुवै खेल जित्यो र यूएईले पनि अन्तिम खेल जित्यो भने यी दुई टिम नै समूह विजेता र उपविजेता भएर सेमिफाइनलमा जानेछन् । यदि नेपाल पहिलो भएर आयो भने यूएईसँग र दोस्रो भएर आयो भने हङकङसँग सेमिफाइनल भिड्नुपर्छ । अहिले यूएईका ब्याटिङ फर्म हेर्दा नेपालका लागि हङकङ नै सहज प्रतिद्वन्द्वी हुन सक्छ ।

समूह बीमा हङकङसहित बहराइन र कुवेतले अझै २–२ खेल खेल्न बाँकी रहेकाले त्यताको समिकरण स्पष्ट भइसकेको छैन । युएईजस्तो बलियो टिमलाई पराजित गरेको हङकङले बाँकी २ खेल पनि जितेर समूह विजेता बन्नसक्ने आशा राखेको छ ।

तस्बिरहरु : उमेश कार्की


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *