२०७९ सालको खेलकुद: फुटबल खेलाडीको पलायन, क्रिकेटमा अथाह खुशी र नभेटिएका खेलकुदमन्त्री – Nepal Press

२०७९ सालको खेलकुद: फुटबल खेलाडीको पलायन, क्रिकेटमा अथाह खुशी र नभेटिएका खेलकुदमन्त्री

काठमाडौं । हामी यति बेला २०७९ सालको मैझारो गर्न तम्तयार अवस्थामा छौं । कोरोना महामारीले आक्रान्त विश्व समुदायलाई पुरानै लयमा फर्काउन आशाको किरणको रुपमा सुरु भएको २०७९ साल नेपाली खेल क्षेत्रका अनेक आरोहअवरोह पनि साक्षी बन्न पुगे ।

यहाँ २०७९ सालमा नेपाली खेल क्षेत्रमा देखिएको अनेक परिवर्तन, भावी सम्भावना र अवसरका बारेमा चर्चा गरिएको छ । यस वर्ष सबै प्रकारका खेलकुद गतिविधि भए पनि क्रिकेट र फुटबलको लागि सम्झनलायक रह्यो ।

फुटबलमा मुख्य प्रशिक्षक अबदुल्लाह अल्मुताइरीविरुद्ध खेलाडीहरु विद्रोहमा उत्रिएदेखि खेलाडीको अत्यासलाग्दो पलायनसम्मका घटना यस वर्ष घटेको छ । क्रिकेटमा खेलाडी पलायन नभए पनि विभिन्न उतारचढावबाट गुज्रिएको छ ।

यस वर्षमा तीन पटक मन्त्रीमण्डल फेरबदल हुँदा पनि खेलकुद मन्त्रालयले मन्त्री पाएन । जसको असर खेलकुद क्षेत्रको विकासमा परेको छ ।

क्रिकेटमा फड्को

विभिन्न उतारचढाव, बदनाम झेलेको नेपाली क्रिकेटले वर्षको अन्त्यमा अथाह खुशी अनुभव गर्ने अवसर पायो । नेपाली क्रिकेटले लिग- २ अन्तर्गतको खेलमा ओमानसँग १३ रनले पराजित हुँदै वर्षको सुरुवात गरेको थियो ।

त्यसपछि पनि नेपाली क्रिकेटले निरन्तर हार व्यहोर्ने क्रम जारी रहेको थियो । दोस्रो कार्यकालका लागि नेपाल आएका पुबुदु दशानायके उत्कृष्ट नतिजा दिन नसकेपछि नेपाली क्रिकेटबाट टाढिएका थिए । त्यससँगै क्यानले भारतीय नागरिक मनोज प्रभाकरलाई राष्ट्रिय टीमको मुख्य प्रशिक्षक घोषणा गरेको थियो । प्रभाकरको आगमनले त नेपाली क्रिकेट लथालिंग भएको थियो ।

प्रभाकरको आगमनले मात्रै नेपाली क्रिकेटलाई दुःख दिएन, टीमको कप्तान रहेका सन्दीप लामिछानेमाथि एक किशोरीले जबरजस्ती करणीको आरोप लगाइन् । त्यससँगै सन्दीपलाई नेपाल क्रिकेट संघ (क्यान)ले कप्तानबाट निलम्बन गरेको थियो । बलत्कारको मुद्दा परेसँगै सन्दीप थुनामा परेका थिए ।

सन्दीप थुनामा पर्नु र प्रभारकले नेपाली क्रिकेट लथालिंग पारेर छोड्नुले आम समर्थकले क्रिकेटलाई साथै दिन छोडेका थिए । जताततै क्रिकेट समर्थकमा निराशा छाएको थियो । त्यत्तिमात्रै हैन, क्यानले आयोजना गरेको पहिलो फ्रेन्चाइज नेपाल टी- २० लिगले त नेपाली क्रिकेटको ठूलै बदनाम गर्‍यो । तीन पटक मिति सारिएर भएको प्रतियोगिता म्याच फिक्सिङ, स्पट फिक्सिङ र पारिश्रमिकले बदनाम भयो ।

त्यत्तिमात्रै हैन प्रतियोगिताको जिम्मा लिएको भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसका मालिक भागेपछि कतिपय विदेशी खेलाडी पारिश्रमिक नै नलिई स्वदेश फर्किए । प्रतियोगितापछि नेपालका पूर्वखेलाडी मेहबुव आलम र युवा क्रिकेटर आदिल अन्सारी फिक्सिङको आरोपमा पक्राउ परे ।

मैदान बाहिरका अनेक विवाद र क्यानका विभिन्न कमीकमजोरीहरुले नेपाली क्रिकेट अधोगतिमा थियो । विभिन्न वादविवादबीच क्यानले नेपाली क्रिकेट टीमको मुख्य प्रशिक्षकमा भारतीय मोन्टी देसाईलाई नियुक्त गर्‍यो । त्यसपछि नेपाली क्रिकेट टीममा छुट्टै परिवर्तन आयो ।

टीममा मोन्टीको आगमन हुँदा नेपालले लिग- २ का ३६ मध्ये १२ खेल खेल्न बाँकी थियो । १२ खेलमा ११ जीत निकाल्दै नेपाल शीर्ष तीनमा रहेर सोझै विश्वकपको ग्लोबल क्वालिफायर पुग्न सफल भयो । तर, त्यसबेला नेपाललाई विश्वकपभन्दा पनि एक दिवसीय मान्यता जोगाउने चिन्ता थियो । एक दिवसीय मान्यता धरापमा भएका बेला मोन्टीको आगमन नेपाली क्रिकेटमा वरदान सावित भयो ।

एक दिवसीय मान्यता जोगाउन १२ मध्ये ९ खेल जित्नुपर्ने दबाब नेपाली क्रिकेट टीमलाई थियो । तर, मोन्टीको आगमनले फेरिएको नेपाली क्रिकेटको माहोलमा टीमले १२ मध्ये ११ खेल जित्दै विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनायो ।

सधै संघर्ष गर्ने नेपालको ब्याटिङले नयाँ स्वरुप पायो । कहिले शीर्ष क्रम चल्थ्यो, कहिले मध्यक्रम त कहिले तल्लोक्रमका खेलाडीले अभूतपूर्व प्रदर्शन गर्दै नेपाली क्रिकेटलाई २०७९ को अन्त्यमा नयाँ उचाइ प्रदान गरे । जसको कारण विश्व क्रिकेट जगतमा नेपालको सकारात्मक छबिवस्थापित भयो ।

साथै उमेर समूहमा यू-१९ क्रिकेट टीम पनि उत्कृष्ट प्रदर्शन गर्दै सन् २०२४ मा श्रीलंकामा हुने विश्वकपमा छनोट भयो ।

निष्क्रिय महिला क्रिकेट

पुरुषतर्फ विभिन्न प्रतियोगिता भइराख्दा महिला क्रिकेट भने वर्षैभरि निष्क्रिय रह्यो । वर्षको सुरुमा महिला टीमले युुगान्डासँग पहिलो पटक घरेलु मैदानमा टी- २० श्रृंखला खेलेको थियो । पाँच खेलको श्रृंखला नेपालले युगान्डालाई ३-२ ले सुम्पेको थियो ।

महिलातर्फ उमेर समूहअन्तर्गत यू-१९ विश्वकप छनोटमा नेपाल उत्कृष्ट प्रदर्शन गर्न असफल रह्यो । त्यसबाहेक नेपाली महिला क्रिकेट टीमले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेन । केही घरेलु प्रतियोगिताहरु भने आयोजना भए ।

समग्रमा उत्कृष्ट नभए पनि नेपाली क्रिकेटका लागि वर्ष २०७९ सुखमय रह्यो ।

अलमलमा नेपाली फुटबल

प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले एसिया कप छनोट तेस्रो चरणका लागि प्रशिक्षणमा रहेका खेलाडीहरुलाई आधारभूत आवश्यकताका कुराहरु माग गर्दा प्रशिक्षणबाट निष्कासन गरे । त्यसविरुद्ध उत्रिएका कप्तान किरणकुमार लिम्बूसहित ११ खेलाडीलाई बन्द प्रशिक्षणमा नराखी अल्मुताइरीले नयाँ खेलाडीहरु समेटेर नेपाली टीम घोषणा गरे । यही विवादबीच नेपाली फुटबलको वर्ष २०७९ सुरु भएको थियो ।

त्यसपछि एसिया कप छनोटमा राम्रो नतिजा नआएपछि नेपाली फुटबल नराम्रो अवस्थाबाट गुज्रियो । घरेलु प्रतियोगिता समयमा हुन नसक्दा खेलाडीहरु विदेशिन थालेका थिए । पहिलो पटक आयोजना भएको फुटबलको फ्रेन्चाइज नेपाल सुपर लिगको दोस्रो संस्करण तोकिएको मितिमा नेपालका ए डिभिजन लिग क्लबहरुले हुन दिएन । त्यसपछि नेपालको शीर्ष डिभिजन को सहिद स्मारक लिग पनि समयमा हुन नसक्दा खेलेर नेपालमा गुजारा गर्ने अवस्था नदेखिएपछि वर्ष २०७९ मा ४० भन्दा बढी प्रतिभावान फुटबलरहरुले वैदेशिक यात्रा रोजे । जुन २०८० साल लाग्दा पनि रोकिने स्थितिमा देखिएको छैन ।

वर्ष २०७९ मा नेपाली फुटबल टीमको सबैभन्दा ठूलो उपलब्धि भनेको गत चैतमा सम्पन्न प्रधानमन्त्री कप थ्री नेसन कपको उपाधि हो । जुन आफूभन्दा कमजोर मानिएका प्रतिस्पर्धीलाई सम्मिलित गराएर खेलाइएको थियो ।

यस्तै पुरुषतर्फ उमेर समूहमा श्रीलंकाको कोलम्बोमा आयोजना भएको यू–१७ साफ च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित भएको थियो । त्यसबाहेक फुटबलमा यस वर्ष सम्झनलायक गतिविधि भएनन् ।

अभागी महिला फुटबल

यस वर्ष पनि महिला फुटबलको साफ जित्ने लक्ष्य सपनामै सीमित रह्यो । नेपालमा भदौ-असोजमा भएको साफ च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित भएको हो । सधैं भारत नेपालको उपाधिमा तगारो बन्थ्यो । तर, यसपटक बंगलादेश नेपालको उपाधि यात्रामा बाधक बन्यो ।

उमेर समूहमा नेपाली यू-१५ महिला फुटबल टीमले साफ च्याम्पियनसिपको उपाधि उचाल्यो । त्यही नै महिला फुटबलले २०७९ मा प्राप्त गरेको सबैभन्दा ठूलो सफलता हो ।

पुनः बंगलादेश उपाधिमा बाधक बन्दा यू-२० महिला फुटबल टीम साफको उपविजेतामै सीमित रह्यो । ओलम्पिक छनोटको पहिलो चरणमै भियतनामसँग ७-१ ले पराजित हुँदै महिला टीमले वर्षको अन्त्य गरेको छ ।

उत्कृष्ट पारा तेक्वान्दो

वर्ष २०७९ पारा तेक्वान्दोका लागि भने उत्कृष्ट रह्यो । साउदी अरेबियामा भएको विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा नेपालकी सिर्जना घिसिङले ऐतिहासिक स्वर्ण जितिन् । उनले ५२ केजीमुनि के-४४ क्याटगोरीमा विश्व नम्बर १ खेलाडी टर्कीकी मेर्येम बेटुललाई १२-० ले पराजित गरिन् । सिर्जनाले सेमिफाइनलमा ब्राजिलकी क्रिस्टियन नासिमेन्टो र क्वाटरफाइनलमा मेक्सिकोकी जेसिका क्विजानोलाई हराएकी थिइन् ।

विश्व पारा तेक्वान्दो ग्रान्ड पिक्समा नेपालले जितेको यो पहिलो स्वर्ण हो । जहाँ पलेसा गोवर्धनसहित दुई खेलाडीको सहभागिता रहेको थियो ।

एथ्लेटिक्समा उपलब्धि

घरेलु प्रतियोगिता भइरहे पनि एथ्लेटिक्समा अन्तर्राष्ट्रिय प्रतियोगिता भने कम भए । बंगबन्धु सेख मुजिब ढाका म्याराथानमा नेपालकी पुष्पा भण्डारीले स्वर्ण पदक जितिन् । जुन नेपाली एथलेटिक्सले वर्ष २०७९ मा पाएको पहिलो सफलता थियो ।

साफ एलिट वुमेन्सतर्फको प्रतिस्पर्धामा पुष्पाले निर्धारित दुरी २ घण्टा ४८.०२ मिनेटमा पूरा गर्दै स्वर्ण जितिन् । नेपाली वृन्दा श्रेष्ठ निर्धारित दुरी २ घण्टा ५२.२२ मिनेटमा पूरा गर्दै तेस्रो स्थानमा रहँदा पुरुषतर्फको हाफ म्याराथनमा गोपीचन्द्र पार्कीले काँस्य पदक जिते ।

यस्तै एथलेटिक्सको अर्को सफलतामा एसियन क्रस कन्ट्री च्याम्पियनसिपमा नेपालका दीपक अधिकारीले ऐतिहासिक स्वर्ण जिते । उनले पुरुष सिनियरको १० किमि दौड ३३ मिनेट ५२.०७ सेकेन्डमा पूरा गरेका थिए ।

इतिहास रचेकाे बक्सिङ

नेपाली बक्सिङका लागि नेपाली वर्ष २०७९ निकै यादगार रह्यो । थाइल्यान्डमा भएको एएसबीसी यू-२२ बक्सिङ च्याम्पियनसिपमा नेपाली सुष्मा तामाङले ऐतिहासिक रजत पदक जितिन् । जुन नेपाली बक्सिङमा कुनै पनि नेपाली खेलाडीले जितेको पहिलो पदक हो ।

वुमेन्स ४८ केजी तौल समूहको फाइनलमा सुष्मा उज्वेकिस्तानकी फोजिलोभा फार्जोनालाई ५-० अंकले पराजित गर्दै इतिहास रचिन् ।

यस वर्षको अन्त्यमा बक्सिङतर्फ अञ्जली तेलीले भारतको नयाँदिल्लीमा भएको आईबीए विश्व महिला बक्सिङ च्याम्पियनसिपमा सुरुवाती दुई बाउट (खेल) जितेर इतिहास बनाइन् । यसअघि नेपाली बक्सरले विश्व च्याम्पियनसिपमा एक खेल पनि जितेको इतिहास थिएन ।

अञ्जलीले ५२ केजीमुनि तौल समूहको पहिलो खेलमा डोमिनिक रिपब्लिककी हर्नान्डेज गार्सिया मिगुलिनालाई ४-२ अंकका आधारमा हराइन् । दोस्रो खेलमा हाइटीकी कार्थेनी मारियालाई ५-० को ऐतिहासिक जीत निकाल्दै क्वार्टरफाइनल पुगिन् ।

समग्रमा वर्ष २०७९ मा नेपाली खेलकुद चलायमान रह्यो । कोभिड महामारीले थलिएको खेलकुद क्षेत्रमा यस वर्ष निरन्तर खेलहरु भइरहे । सरकारले आयोजना गर्ने नेपालको राष्ट्रिय खेलकुदको नवौं संस्करण पनि गण्डकी प्रदेशमा भयो । तर, अस्तव्यस्त तरिकाले ।

सबै खेलकुद गतिविधि चलायमान रहँदा नेपालमा नयाँ सरकार पनि बन्यो । नेपाली खेलाडीले नेपालको नाम विश्वमाझ राखिरहँदा खेलकुद क्षेत्रमा सबैभन्दा दुःखद कुरा भनेको खेलकुद मन्त्रालय सम्हाल्ने मान्छे अझै नभेट्नु हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *