नेविसंघभित्रैबाट पिटिएकी सगुन भन्छिन्- पार्टीका एक महामन्त्री हेर्न आए, अर्काले पीडकको संरक्षण गरे – Nepal Press
नेपाल टक

नेविसंघभित्रैबाट पिटिएकी सगुन भन्छिन्- पार्टीका एक महामन्त्री हेर्न आए, अर्काले पीडकको संरक्षण गरे

‘लक्ष्मी खतिवडा पद्मकन्यामा समयमै नआएको भए ममाथि ठूलै दुर्घटना हुन्थ्यो, ४ घण्टासम्म होस्टेलमा लुकेर बाँचें’

काठमाडौं । गत चैत १२ गते काठमाडौंको बागबजारस्थित पद्मकन्या क्याम्पसमा नेपाल विद्यार्थी संघ इकाइ सभापति सगुन कँडेलमाथि निर्घात कुटपिट भयो । नेविसंघकै कार्यकर्ताबाट कुटपिटमा परेकी सगुन ११ दिनसम्म अस्पतालमै भर्ना हुनुपर्‍यो ।

अहिले भने किर्तिपुरको ट्याङ्लाफाँटस्थित आफ्नै निवासमा आराम गरिरहेकी छन् । सहजतापूर्वक हिँडडुलसमेत गर्न नसक्ने अवस्थामा रहेकी उनी नियमित रुपमा कलेज कहिलेदेखि फिर्ने हुन्, यकिन छैन । २०७४ सालमा क्याम्पसमा छिरेपछि सक्रिय रुपमा विद्यार्थी राजनीतिमा लागेकी सगुनको परिवार नै नेपाली कांग्रेसमा आबद्ध छ । त्यही कारण पनि उनी नेविसंघमा छिर्ने माहोल बन्यो ।

क्याम्पस छिरेको पाँच वर्षपछि यसपटकको स्ववियु निर्वाचनमा सभापतिको प्रमुख दाबेदार थिइन् सगुन । तर, सभापतिको टिकट भने ज्योति पनेरुले पाइन् । उनी निर्वाचित पनि भइन् । ज्योतिले टिकट पाएपछि सगुन एकाइ सभापति बनेकी थिइन् । पछि नेविसंघबाट स्ववियुमा समानुपातिक प्रतिनिधिको नेतृत्व कसले गर्ने विवाद हुँदा सगुनमाथि कुटपिट भएको थियो । उनै सगुन कँडेलले नेपालप्रेसलाई घटनाको बेलीबिस्तार लगाएकी छन् । सगुनले नेपालप्रेसकर्मी अंकुश विष्टसँग बोलेका कुराकानीको सम्पादित अंशः

लक्ष्मी खतिवडा नआइदिएको भए जे पनि हुनसक्थ्यो

यो घटना एकदम सांगठनिक हो । यसमा व्यक्तिगत केही छैन । यो नेपाल विद्यार्थी संघभित्रको लडाइँ हो । संगठनमा फरक मत राख्नेहरुको आवाज दबाउन दुर्नियत राख्नेले घटना घटाएका हुन् ।

चैत ५ गतेको स्ववियु चुनावमा नेविसंघले जीत हासिल गरेसँगै समानुपातिक सदस्यहरुको नाम लिस्ट बुझाउने जिम्मेवारी इकाइ सभापतिको हिसाबले स्वतः मेरो काँधमा आउँछ । तर, कलेजभित्रकै केही अराजक तत्वहरुले आफूले मनलाग्दो तरिकाले लिस्ट बुझाएपश्चात मैले त्यसको खण्डन गरें । त्यसैमा विवादको अवस्था सिर्जना भयो । नेविसंघको विधानअनुसार यस किसिमको विवाद भएको अवस्थामा केन्द्रले समानुपातिकको लिस्ट पठाउने गर्छ र सोहीअनुरुप केन्द्रले लिस्ट पनि पठायो । तर, केन्द्रको निर्णयलाई नजरअन्दाज गर्ने केही तत्वहरुले ममाथि भौतिक आक्रमण गरे ।

कांग्रेसको केन्द्रमै यस्ता नेता छन्, जो यो गणतन्त्र नै मैले गर्दा आएको र म नै परिवर्तनको संवाहक हो भन्छन् । यहाँ पद्मकन्यामा पनि ती नै नेताले संरक्षण गरेका केही व्यक्ति छन्, जसले संगठनलाई बाबुको बिर्ता सम्झन्छन् ।

ममाथि आक्रमण हुन्छ भन्ने केही समय अगाडि थाहा पाएकी थिएँ । म क्याम्पसको होस्टेलमा ४ घण्टासम्म लुक्न बाध्य भएँ । मैले केही विश्वास गर्न लायकका पीकेमै पढ्नुभएका अग्रज दिदीहरुलाई फोन गरेर आफ्नो अवस्थाबारे पनि बताएँ । उहाँहरु केही काम विशेषले बाहिर रहेको जानकारी प्राप्त भयो । भाग्यवश एकजना पार्टीकै केन्द्रीय सदस्य लक्ष्मी खतिवडा दिदी चाहिँ समयमै पीके आइपुग्नु भयो । दिदीसँगै म निस्कने क्रममा मलाई बाइकको पछाडिबाट थुतेर कुटपिट गरिएको हो । यदि समयमै लक्ष्मी खतिवडा दिदी नआइदिएको भए ममाथि ठूलो दुर्घटना हुन सक्थ्यो । घटना यति ‘स्पोनटेनियस’ भयो कि आँखा खुल्दा अस्पतालको बेडमा थिएँ ।

यो परिस्थितिले के देखाउँछ भने पहिलाको जस्तो विद्यार्थी राजनीति रहेन अहिले । हामीले विद्यार्थीमाझ नेपाल विद्यार्थी संघलाई भोट माग्दैगर्दा पुरानो तरिकाले राजनीति गर्दैनौं भनेर भनेका छौं । अब हामी वैचारिक लडाइँ लड्छौं । क्याम्पसहरु भनेको त आमविद्यार्थीको नेतृत्व विकास गर्ने ठाउँ हो । त्यसैले हामी झैझगडालाई प्रश्रय दिँदैनौं भनेर जाँदैगर्दा आफैंमाथि यसरी आक्रमण हुँदा विद्यार्थीहरुमा नकारात्मक प्रभाव परेको छ । क्याम्पसभित्रै त्रासको वातावरण सिर्जना भएको छ । यो एउटा ठूलो विडम्बना हो ।

यो लडाइँ गुटको होइन । यो विधान र नीति मान्ने र नमान्नेहरुबीचको लडाइँ हो । जुन पद्मकन्या क्याम्पसमा मात्र सीमित नभएर केन्द्रदेखि नै सुरु भएको हो । कांग्रेसको केन्द्रमै यस्ता नेता छन्, जो यो गणतन्त्र नै मैले गर्दा आएको र म नै परिवर्तनको संवाहक हो भन्छन् । यहाँ पद्मकन्यामा पनि ती नै नेताले संरक्षण गरेका केही व्यक्ति छन्, जसले संगठनलाई बाबुको बिर्ता सम्झन्छन् । उनीहरु आफ्नोविरुद्ध अलिकति आवाज उठेको पनि सुन्न चाहँदैनन् । तार्किक क्षमता र आलोचनात्मक चेत राख्न सक्ने नेविसंघका पालुवालाई निमोठेर फाल्नुपर्छ भन्ने धारणा राख्छन् । नेपाल विद्यार्थी संघ भनेको नेतृत्वको पालुवा हो । त्यो पालुवालाई नै निमोठ्ने प्रवृत्तिका कारण यस्तो अप्रिय घटना भएको हो ।

पार्टीभित्र केही शक्ति केन्द्रहरु छन् । ती शक्ति केन्द्रहरु उनीहरुले गरिरहेको विसंगतिविरुद्ध आवाज उठाउनेहरुलाई सखाप पार्न लागिपरेका छन् । त्यसैले पीडित म भएको हुँ । एक महामन्त्री भेटेर जानुभयो । तर, अर्को महामन्त्री आउनुभएन नै । उहाँ निकट व्यक्तिहरु पनि भेट्नसमेत आउनुभएन । शक्ति केन्द्रको संरक्षणका कारणले ममाथि आक्रमण गर्नेहरुलाई पार्टीले ठोस कदम उठाउन सकेको छैन ।

आक्रमणकरी पार्टीकै शक्ति केन्द्रको संरक्षणमा छन्

घटनापछि म ११ दिनसम्म एभरेस्ट हस्पिटलमा भर्ना थिएँ । नेताहरु आउने र भेटघाट गर्ने क्रम चलिरह्यो । महामन्त्री विश्वप्रकाश शर्मा आएर भेटेर ‘पार्टीभित्रको कुरा हो । यसलाई हर तरिकाबाट दोषीलाई कारबाहीको प्रक्रिया अगाडि बढाउँछौं’ भनेर आश्वासन दिएर जानुभयो । अन्य अग्रज नेताहरुले पनि प्रत्यक्ष भेटेर तथा फोन गरेर कारबाही गर्छौं भन्ने आश्वासन दिनुभएको छ ।

तर, पाटीभित्र केही शक्ति केन्द्रहरु छन् । ती शक्ति केन्द्रहरु उनीहरुले गरिरहेको विसंगतिविरुद्ध आवाज उठाउनेहरुलाई सखाप पार्न लागिपरेका छन् । त्यसैले पीडित म भएको हुँ । एक महामन्त्री भेटेर जानुभयो । तर, अर्को महामन्त्री आउनुभएन नै । उहाँ निकट व्यक्तिहरु पनि भेट्नसमेत आउनुभएन । शक्ति केन्द्रको संरक्षणका कारणले ममाथि आक्रमण गर्नेहरुलाई पार्टीले ठोस कदम उठाउन सकेको छैन ।

अबका दिनमा यो प्रवृत्तिको डटेर सामना गर्ने हो । लुकेर आक्रमण गर्नेहरुसँग भागेर बस्ने कुरा हुँदैन । यसको सामना गर्ने हो । खुकुरी बोकेर हिँड्ने मान्छेलाई लाग्ला, एक-एक गर्दै लडाउँछु । तर, हेक्का रहोस्- हतियारभन्दा कलम सदैव बलियो थियो, छ र रहनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर