स्ववियु चुनावले उदांग्याएको प्रगतिशील प्रजातान्त्रिक र पुरातन प्रजातान्त्रिक चिन्तनबीचको अन्तर – Nepal Press
ब्लग

स्ववियु चुनावले उदांग्याएको प्रगतिशील प्रजातान्त्रिक र पुरातन प्रजातान्त्रिक चिन्तनबीचको अन्तर

पछिल्लो स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनले प्रगतिशील प्रजातान्त्रिक चिन्तन र पुरातन प्रजातान्त्रिक चिन्तनबीचको अन्तरलाई प्रस्ट रुपमा उजागर गरिदिएको छ । विशेषतः त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को स्ववियु निर्वाचनका लागि प्यानल गठन हुँदा एमाले समर्थित अनेरास्ववियुले समावेशी गर्नुपर्ने भन्दै तराई मूलका आनन्द सिंहलाई अध्यक्ष र महिलातर्फ विपना कँडेललाई सचिवमा अघि सार्‍यो ।

लोकतान्त्रिक र समावेशीकरणमा पहिलो भनेर दाबी गर्ने नेविसंघले महिलालाई अध्यक्षमा अघि सार्‍यो । निर्वाचनको प्रचारप्रसार अवधिभर व्यापक रुपमा नेविसंघ प्रगतिशील र अग्रगामी विचारधारामा अभ्यस्त छ, त्यसैले इतिहासको पहिलोपटक महिलालाई अघि सारिरहेको छ भन्ने भाष्य निर्माण गरियो । त्यसरी नै चुनावलाई दिशानिर्देश गर्ने कोसिस व्यापक बनाइयो । त्यहीकारण नेविसंघले यो भाष्यमा थोरै भए पनि मतदातालाई झुक्याएर केही मत पनि बढायो । तर, त्यो भाष्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित उम्मेदवारहरु सार्वजनिक गर्ने बेलासम्म कर्कलोको पानीमा रुपान्तरण भयो ।

समानुपातिकतर्फको निर्वाचन परिणामपछि गएको महिनायता प्रगतिशील प्रजातान्त्रिक चिन्तन राख्ने अनेरास्ववियु र पुरातन प्रजातान्त्रिक चिन्तन राख्ने नेविसंघबीचको अन्तर छर्लंग भयो । हिजोको दिनमा मधेसी मूलको मूल नेतृत्व र महिलालाई अर्को प्रमुख पदमा अगाडि सार्ने अनेरास्ववियुले आज समानुपातिकमा पनि संविधानप्रदत्त अधिकारहरुलाई सम्मान गर्दै समावेशीका आधारमा चार सदस्य सिफारिस गरेको छ । तर, नेविसंघले चार जना सदस्य नै पुरातन प्रजातन्त्रवादी चरित्र देखाउँदै केवल पुरुषहरुलाई सिफारिस गर्‍यो ।

समानुपातिकतर्फको निर्वाचन परिणामपछि गएको महिनायता प्रगतिशील प्रजातान्त्रिक चिन्तन राख्ने अनेरास्ववियु र पुरातन प्रजातान्त्रिक चिन्तन राख्ने नेविसंघबीचको अन्तर छर्लंग भयो ।

पहिले चुनावमा एउटा भाष्य र आज परिणाम आइसकेपछि अर्को व्यवहार ! यही हो- पुरातन प्रजातान्त्रिक चिन्तन । आम मानिसबाट जब समाजमा गइन्छ तब सामाजिक चेतना र विचारलाई फरक किसिमले निर्दिष्ट गर्ने तर व्यवहारमा आउने बित्तिकै म नै शासक हुँ, म नै सत्य हुँ भन्ने किसिमको व्यवहार देखाउने ! यो नै पुरातन प्रजातान्त्रिक चिन्तन हो । त्यसको पहिलो मसिहा नेविसंघ र यसको नेतृत्व भएको छ । यो एकथरिलाई पूर्वाग्रहपूर्ण विश्लेषण लाग्ला । तर, यो व्यवहारतः पुष्टि भएको कुरा सबैका अगाडि घाम झैं छर्लङ्ग छ ।

तसर्थ, जुन व्यवहार आज अनेरास्ववियुले देखाएको छ, त्यो नै प्रगतिशील प्रजातान्त्रिक चिन्तन हो । प्रगतिशील प्रजातान्त्रिक चिन्तनमा सकेसम्म समाजका सम्पूर्ण तहलाई समावेशी रुपमा नेतृत्वमा प्रतिनिधित्व गराइन्छ । सबैलाई नेतृत्वमा स्थापित गराउने, सबैलाई अगाडि बढाउने सोच नै प्रगतिशील प्रजातान्त्रिक चिन्तन हो । चिन्तनहरु व्यवहारिक कसीमा देखापर्छन् । अनेरास्ववियुले आईओएममा नेतृत्व गरेको त्यही प्रगतिशील चिन्तन परिणामतः सिद्ध भएको छ ।

आम मानिसबाट जब समाजमा गइन्छ तब सामाजिक चेतना र विचारलाई फरक किसिमले निर्दिष्ट गर्ने तर व्यवहारमा आउने बित्तिकै म नै शासक हुँ, म नै सत्य हुँ भन्ने किसिमको व्यवहार देखाउने ! यो नै पुरातन प्रजातान्त्रिक चिन्तन हो ।

सबैलाई कहीं न कहीं दक्षता र क्षमताको आधारमा स्थान दिने अनेरास्ववियुको यो चिन्तन नै प्रगतिशील प्रजातान्त्रिक चिन्तन हो । चिकित्सा जगत जस्तो उच्च प्राविधिक शिक्षा हासिल गरिरहेका व्यक्तिहरुमाझ समेत पुरातन चिन्तन भरिदिने हो भने ती व्यक्तिमा नेतृत्व गर्ने लालसा बढ्दै गएर अन्ततोगत्वा आफूलाई नेतृत्व गराएर शासकको रुपमा परिणत गर्ने धङधङी देखिँदो रहेछ । तर, प्रगतिशील प्रजातान्त्रिक चिन्तन भरिदिने हो भने निर्वाचित भइसकेपछि पनि, सत्तामा पुगिसकेपछि पनि आफूलाई नेतामा र सामान्यजनसरह स्थापित गर्ने, सबैलाई समावेश गर्ने चरित्र देखिँदोरहेछ ।

त्यही भएर आम रुपमा प्रगतिशील प्रजातान्त्रिक चिन्तनमा मानिसहरुलाई अग्रसर गर्न आवश्यक रहेको देखिन्छ । अनेरास्ववियु जनताको बहुदलीय जनवाद, प्रगतिशील विचारधारा अगाडि सार्छ । बहुदलीयता सँगसँगै सबै तहतप्काको संरक्षण, समावेशीको कदर, समाजका सबै तप्कालाई समान किसिमको अवसर निर्माणको भाष्य निर्माण हुन्छ । त्यो भाष्यलाई हामीले अन्य दल र अन्य चिन्तनमाझ पनि पुर्‍याउन जरुरी छ । यो गरेको अवस्थामा मात्रै समाजले एउटा सकारात्मक र सही दिशा पाउने स्पष्ट छ ।

(लेखक त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका नवनिर्वाचित स्ववियु उपाध्यक्ष हुन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *