पाँच प्रश्नोत्तरमा बुझौं डोनाल्ड ट्रम्प ‘पक्राउ’ प्रकरण – Nepal Press

पाँच प्रश्नोत्तरमा बुझौं डोनाल्ड ट्रम्प ‘पक्राउ’ प्रकरण

काठमाडौं । पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकी समयअनुसार मंगलबार ‘पक्राउ’ परेका छन् । राष्ट्रपति भइसकेको व्यक्ति आपराधिक मुद्दामा मुछिएर पक्राउ नै पर्ने अवस्था अमेरिकामा पहिलो उदाहरण भएको विभिन्न मिडियाहरुले उल्लेख गरेका छन् । ट्रम्प ‘पक्राउ’ प्रकरणबारे यो सामग्रीमा पाँच प्रश्नोत्तरमा जानकारी दिइएको छ ।

१. पक्राउ हुनुपर्ने कारण के हो ?

दुई हप्ता अगाडि नै आफू मंगलबार पक्राउ पर्ने र त्यसको विरुद्ध प्रदर्शनमा उत्रन ट्रम्पले आफ्ना समर्थकहरुलाई आग्रह गरेका थिए । ट्रम्प पक्राउको कथा सन् २०१६ को एक घटनासँग जोडिन्छ । स्टोर्मी डेनियल्स नामकी एक पोर्न स्टारले आफूसँग ट्रम्पले गरेको पुरानो यौन सम्बन्धको बारेमा सार्वजनिक रुपमा मुख खोल्न लागेको बुझेपछि स्टोर्मीलाई चुप लाउन एक लाख तीस हजार अमेरिकी डलर दिइएको थियो । चुनावी खर्चको रकम पोर्न स्टारलाई चुप लाउन दिइएको भनेपछि ट्रम्प अनुसन्धानमा तानिएका थिए ।

अमेरिकाको म्यानहटन जिल्ला न्यायाधिवक्ता एल्भिन ब्रयागको नेतृत्वमा ट्रम्पलाई कारबाही गर्ने निर्णय गत हप्तामै भएको थियो । सन् २०२१ मा म्यानहटनको जिल्ला न्यायाधिवक्ता हुने क्रमको प्रतिबद्धताकै रुपमा ट्रम्पलाई कारबाही गर्ने ब्रयागको लाइन थियो । ट्रम्पलाई १३ पृष्ठको अभियोजनमा ३४ मुद्दा भएको अलजजिराले उल्लेख गरेको छ । त्यसमा मिडियासँग मिलेर ट्रम्प पक्षको कभरेज गर्ने योजनाहरु समेत समेटिएका छन् ।

२. ट्रम्प थुनामा छन् ?

खासमा मंगलबार ट्रम्पले अदालतमा आत्मसमर्पण गरेका हुन् । उनी पक्राउ परेका होइनन् । उनले मंगलबारै अदालतमा हाजिर भएर आफू निर्दोष भएको बयान दिएका छन् । उनको औंठाछाप दिनेदेखि तस्वीर लिनेसम्मको काम मंगलबारै भएको थियो । ट्रम्प आफ्ना वकिलहरुको लावालस्करसहित अदालतमा हाजिर भएका थिए । मंगलबार अदालतमा एक घण्टाभन्दा थोरै समय दिएपछि निस्केका ट्रम्पले पत्रकारहरुलाई कुनै प्रतिक्रिया दिएनन् । उनी पुनः अदालतमा तारिख धाउन आउनुपर्नेछ । सन् २०२३ डिसेम्बर ४ (२०८० मंसिर १८)मा ट्रम्प पुनः अदालत आउनुपर्नेछ ।

३. ट्रम्पले बयान दिँदा अदालत बाहिर के भयो ?

जब ट्रम्प आत्मसमर्पण गरेर अदालतमा बयान दिन गए, तब अदालत बाहिर प्रदर्शनहरु भएका थिए । प्रदर्शन ट्रम्पलाई कारबाही हुनुपर्ने र हुनुहुन्न भन्ने थिए । तर, दुई फरकपरक क्याम्पका बीचमा कुनै झडप भने नभएको विभिन्न मिडियाहरुले उल्लेख गरेका छन् । सन् २०२१ जनवरी ६ मा ट्रम्प समर्थकहरुले अमेरिकी कंग्रेसको ‘क्यापिटोल हिल’मा गरेको जस्तो वितण्डा मंगलबारको अदालत परिसरमा भएन । ट्रम्प बयानको सिलसिलामा सम्भावित दुर्घटना रोक्नलाई ३५ हजार भन्दा बढी न्यूयोर्कका प्रहरी खटेको विश्व मिडियाहरुले उल्लेख गरेका छन् ।

४. ट्रम्पको अदालती मुद्दाको असर चुनावमा हुन्छ कि हुन्न ?

अदालती मुद्दाको असर हुन्छ । अदालती मुद्दाकै आधारमा ट्रम्पले चुनावमा थप मत ल्याएर चुनाव जित्न सक्ने ट्विटर मालिक एलन मक्सले सार्वजनिक टिप्पणी गरेका छन् । ट्रम्पले अदालतमा जाँदा आफूलाई हतकडी लगाइयोस् भनेर चाहेको र त्यही तस्वीर मतदातालाई देखाएर चुनाव जित्न सक्ने उनको चाहना रहेको विभिन्न मिडियाहरुले उल्लेख गरेका थिए । तर, मंगलबार अदालत परिसरमा यस्तो भएन ।

अमेरिकामा राष्ट्रपति बन्न रिपब्लिकन र डेमोक्रेटिक गरेर दुई दलका प्रमुख उम्मेदवारहरु मैदानमा जान्छन् । दुई पक्षीय चुनावी भिडन्तमा जानु अगाडि पार्र्टीकै आन्तरिक भिडन्त हुन्छ । ट्रम्पले रिपब्लिकनका तर्फबाट पुनः उम्मेदवारी दिएका छन् । उनले सबैभन्दा धेरै मत पाएर दलको तर्फबाट प्रमुख उम्मेदवार हुँदै जो बाइडेनसँग भिड्ने अनुमान गरिएको छ । रिपब्लिकनको आन्तरिक चुनावी भिडन्त ट्रम्पको आगामी अदालती तारिखभन्दा दुई महिनापछि हुने भएकोले उनी निर्दोष भएको खण्डमा चुनावमा असर नहुने देखिन्छ । तर, अदालतले दोषी ठहराएमा भने ट्रम्पको मुद्दाकै कारण उनी राष्ट्रपति उम्मेदवारै हुन पाउने छैनन् ।

५. ट्रम्पलाई चुनावी दौरानमा मुद्दा चलाउनु राजनीतिक उद्देश्य छ कि छैन ?

डोनाल्ड्र ट्रम्पलाई मुद्दा चलाउनुमा राजनीतिक कारण हो कि भन्ने शंका गर्ने ठाउँ छ । किनभने यस अगाडि धेरै आरोप लागेका कुनै पनि राष्ट्रपतिलाई मुद्दा चलाइएको छैन । उदाहरणका लागि रिचर्ड निक्सन अमेरिकी राष्ट्रपति हुँदा वाटरगेट स्क्यान्डल आएको थियो । त्यही प्रकरणबाट उनले सन् १९७४ अगस्ट ८ मा पदबाट राजीनामा दिएका थिए । वाटरगेट स्क्यान्डल भनेको सन् १९७२ जुनमा अमेरिकाको संघीय राजधानी वासिङटन डीसीमा रहेको वाटरगेट होटलको छैटौं तलामा रहेको डेमोक्रेटिक पार्टीको राष्ट्रिय समितिको मुख्यालयमा पाँच मान्छे छिरेर दस्तावेज चोरिएको घटना हो ।

निक्सन रिपब्लिकन उम्मेदवार थिए । उनले चुनाव पनि जिते । तर, निक्सनलाई कहिल्यै मुद्दा लगाइएन । ट्रम्पलाई भने अहिले चुनावी दौरानमा उम्मेदवार हुने घोषणा गरेलगत्तै कारबाही प्रक्रिया अगाडि बढाइएको छ । अझ रोचक कारबाही प्रक्रिया अगाडि लाने म्यानहटका न्यायाधिवक्ता एल्भिन ब्रयाग डेमोक्रेटिक पार्टीकै भएकाले थप राजनीतिक उद्देश्य प्रेरित हो कि भन्ने शंका गर्ने ठाउँ दिएको छ । ब्रयाग अश्वेत भएको र डेमोक्रेटिक पार्टीको भएकाले यो मुद्दा आफ्नो रंग र दलविरुद्ध भएको ट्रम्पले आरोप लाउँदै आएका छन् । उनका समर्थकहरुले ट्रम्पकै न्यारेटिभलाई बोक्दै आएका छन् ।

रिपब्लिकन सिनेटर मार्के रुबियोले मंगलबारको ट्रम्पको बयानलाई राजनीतिक उद्देश्य भएको भन्दै ट्विट गरेका छन् । उनले लेखेका छन्, ‘आज हामी सबैको लागि खराब दिन हो र हामीले धेरै लामो समयसम्म यसबारेमा पछुतो मान्नेछौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर