लुम्बिनी प्रादेशिक अस्पताललाई विशिष्टीकृत बनाइन्छ: स्वास्थ्यमन्त्री पन्थी – Nepal Press

लुम्बिनी प्रादेशिक अस्पताललाई विशिष्टीकृत बनाइन्छ: स्वास्थ्यमन्त्री पन्थी

रुपन्देही । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले ११३ औं वर्ष पूरा गरेको छ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री विष्णु पन्थीले लुम्बिनी प्रदेशकै गौरवको योजनाको रुपमा रहेको अस्पताललाई नमुना विशिष्टीकृत बनाइने बताएका छन् ।

अस्पतालको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले गुरुयोजनाअनुसार नै अस्पतालको स्तरोन्नति हुने जानकारी दिँदै १० तले आधुनिक भवन निर्माणको लागि रोकिएको ठेक्का प्रक्रिया अविलम्ब सुरु गर्ने आश्वासन दिए ।

मन्त्री पन्थीले प्रदेशको सबैभन्दा महत्पूर्ण अस्पतालको रुपमा विकास गर्ने योजना रहेको जानकारी दिए । उनले बुटवल आर्थिक राजधानीको कोसेढुङ्गा भएको र विपतमा तुरुन्त उपचार पाइन्छ, बाँच्न सकिन्छ भन्ने भरोसा दिलाउन सक्ने गरी अस्पताल विकास हुने बताए ।

बुटवललाई मेडिकल टुरिजम बनाउने उनको भनाइ छ । उनले सरकारी स्वास्थ्यमा लगानी गर्ने निजी स्वास्थ्य संस्थालाई समेत सम्मान गरी अस्पतालको गुरुयोजनाअनुुसार रहेको लुम्बिनी ट्रेड कम्प्लेक्स निर्माणको लागि साझेदारीका साथ अगाडि बढ्ने उल्लेख गरे ।

प्रदेशका पूर्वस्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठले अप्ठ्यारो अवस्थामा अस्पतालले स्वास्थ्य संकटमा ठूलो योगदान दिएको बताए । पछिल्लो समय बिरामीहरुले बीमाबाट हैरानी पाएको जानकारी दिँदै उनले त्यसको अन्त्य गर्न अस्पताल प्रशासनले कदम चाल्नुपर्नेमा जोड दिए ।

बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले कोभिड कालमा अस्पतालले दिएको सुविधा प्रशंसायोग्य रहेको भन्दै एमडी कार्यक्रम सञ्चालन गर्ने कार्यमा सहयोग रहने बताए ।

अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. ज्ञानहरि मरासिनीले बिरामीको चापअनुसार अस्पतालको भौतिक पूर्वाधार अभाव रहेको बताएका थिए । उनले निर्माण गर्ने भनिएको १० तले भवन छिटोभन्दा छिटो निर्माण प्रक्रिया अगाडि बढाउन प्रदेश सरकारसँग माग गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर