लोसपा नेताहरुले प्रधानमन्त्रीलाई भेटेर भने- राष्ट्रपतिका लागि महन्थजी योग्य – Nepal Press

लोसपा नेताहरुले प्रधानमन्त्रीलाई भेटेर भने- राष्ट्रपतिका लागि महन्थजी योग्य

काठमाडौं । लोकतान्त्रिक समावजादी पार्टी (लोसपा) शीर्ष नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर पार्टी अध्यक्ष महन्थ ठाकुरको नाममा राष्ट्रिय सहमति खोज्न आग्रह गरेका छन् ।

पार्टी अध्यक्ष ठाकुरसहित लोसपाको शीर्ष नेताहरुले बालुुवाटारमा पुगेर ठाकुरको नाममा सहमति जुटाउने प्रस्ताव राखेका हुन् ।

प्रधानमन्त्रीसँग राष्ट्रपति निर्वाचनको विषयमा केन्द्रित रहेर छलफल भएको नेता शरतसिंह भण्डारीले बताए ।

उनले नेपाल प्रेससँग भने, ‘प्रधानमन्त्रीले अहिले मुलुकको आवश्यतालाई हेरेर बारम्बार राष्ट्रिय सहमतिको प्रशंग उठाउनुभएको छ । देश चलाउन १२ बुँदे सम्झौताका पक्षधरहरु एकैठाउँमा उभिएर सहमति गर्नुपर्छ भनि राख्नुभएको छ । त्यही हिसाबले अहिलेको परिवेशमा हाम्रो पार्टी अध्यक्ष महन्थ ठाकुर राष्ट्रिय सहमतिको लागि उपयुक्त पात्र हुनुहुन्छ भनेर प्रस्ताव गरेका छौं ।’

आफूहरुको प्रस्तावमा प्रधानमन्त्री प्रचण्डको सरकारमा जवाफ पाएको उल्लेख गर्दै सबै पक्षसँग छलफल गर्न भनेको बताए ।

याे पनि पढ्नुस् : क्वात्राले सुझाएर गए राष्ट्रपतिका सम्भावित पात्र, महन्थलाई उम्मेदवार बनाउने तयारीमा लोसपा

उनले भने, ‘अन्य दलहरुले पनि आफ्नो तर्फबाट उम्मेदवार अगाडि ल्याउने चर्चा छ । हामी पनि एमाले, कांग्रेससहित सबै दलहरुमा राष्ट्रिय सहमतिको लागि महन्थजीको प्रस्ताव लिएर जान्छौं ।’

प्रधानमन्त्रीसँगको छलफलका लागि अध्यक्ष ठाकुरसहित वरिष्ठ नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारीसहितका नेताहरु बालुवाटार पुगेका थिए ।

राष्ट्रपतिको बिषयलाई लिएर दलहरुबीच रस्साकस्सी चलिरहेको बेलामा गत साता नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले राष्ट्रपतिमा लोसपा अध्यक्ष ठाकुरको नाम लिएको चर्चा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर