क्वात्राले सुझाएर गए राष्ट्रपतिका सम्भावित पात्र, महन्थलाई उम्मेदवार बनाउने तयारीमा लोसपा – Nepal Press

क्वात्राले सुझाएर गए राष्ट्रपतिका सम्भावित पात्र, महन्थलाई उम्मेदवार बनाउने तयारीमा लोसपा

काठमाडौं । भारतीय विदेश सचिव विनयमोहन क्वात्रा हालै नेपालको दुईदिने तुफानी भ्रमण गरेर फर्किए । प्रशासनिक व्यक्ति भए पनि उनको भ्रमण राजनीतिक उद्देश्य प्रेरित थियो । उनी खासगरी वर्तमान सत्तारुढ गठबन्धनको भविष्य र आउँदो फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनप्रति चासो लिएर नेपाल आएको स्रोतहरुको भनाइ छ ।

सचिवस्तरीय बैठकको बहानामा आएका थिए क्वात्रा । तर, उनले भेटवार्ता चाहिँ राष्ट्रप्रमुखकै स्तरको गरे । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि गठबन्धन संयन्त्रका संयोजक केपी शर्मा ओली र विपक्षी दलका नेता शेरबहादुर देउवा सबैले एउटा सचिवस्तरको कर्मचारीलाई अस्वाभाविक खातिरदारी गरेका थिए ।

क्वात्रा आउनुअघि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणको निम्तो दिने प्रचार गरिएको थियो । तर, प्रचण्डलाई निराश बनाउँदै उनी औपचारिक निमन्त्रणा नदिइकनै फर्किए । बरु राष्ट्रपति निर्वाचनका सम्बन्धमा ‘घनीभूत’ छलफल गरेको स्रोत बताउँछ । दिउँसो क्वात्रासँग औपचारिक भेट गरेका प्रधानमन्त्री प्रचण्डले राति फेरि बालुवाटारमै गोप्य भेटवार्ता गरेका थिए । उक्त भेटवार्ता दुई घन्टासम्म चलेको बालुवाटार स्रोतको दावी छ, जसको विवरण गोप्य राखियो ।

यसअघि आकस्मिक तवरबाट एमाले र माओवादीको गठबन्धन बन्दा भारत जिल्ल परेको थियो । केही घन्टामै ठूलो राजनीतिक ट्विस्ट आउँदा भारतीय कूटनीतिज्ञहरुले चलखेल गर्ने मौकै पाएनन् । आफ्नो जानकारीविना भएको राजनीतिक विकासलाई ‘करेक्सन गर्न’ भारतले यतिवेला निकै कसरत गरिरहेको छ । क्वात्राको भ्रमण त्यसैका लागि थियो ।

क्वात्राले भारतीय संस्थापनको सन्देश प्रचण्ड र देउवालाई सुनाएका छन् । उनले राष्ट्रपतिमा भारतले पनि सहजै स्वीकार्न सक्ने व्यक्तित्व हुनुपर्ने भन्दै सम्भावित दुई नाम प्रस्ताव गरेका छन् । स्रोतका अनुसार उनले पहिलो प्राथमिकतामा राखेर सिफारिस गरेका नाम हुन् लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र कांग्रेस नेता कृष्ण सिटौला । सरकार प्रमुख र राष्ट्रप्रमुख दुवै कम्युनिष्ट हुँदा नेपाल चीनतर्फ ढल्किनसक्ने भारतीय चिन्ता पनि उनले सुनाएका छन् ।

क्वात्राले प्रस्ताव गरेका लोसपा अध्यक्ष ठाकुर परम्परागत रुपमै भारतका विश्वासपात्र हुन् । नेपालस्थित भारतीय दूतावासको निर्देशनमा चल्ने गरेको आरोप उनीमाथि लाग्दै आएको छ ।

सिटौला पनि भारतीय संस्थापनसँग नजिक मानिन्छन् । तर, महन्थ जस्तो ‘भारतपरस्त’ चाहिं होइनन् । हालै भएको संसदीय चुनावमा पराजित उनले अब राष्ट्रपति बनेर आप्mनो राजनीतिक जीवनलाई सेटल गर्न चाहेका छन् । राष्ट्रपति बन्ने आकांक्षाका विषयमा जिज्ञासा राख्न हामीले सम्पर्क प्रयास गर्दा सिटौलाको फोन उठेन ।

कांग्रेसमा राष्ट्रपतिका प्रवल दावेदार रामचन्द्र पौडेल पनि हुन् । उनी पनि भारतलाई रिझाउन प्रयत्नशील छन् । यसैगरी गोपालमान श्रेष्ठ पनि आफ्नो दावेदारी पेश गरिरहेका छन् ।

ठाकुरलाई उम्मेदवार बनाउने लोसपाको तयारी

क्वात्रा भ्रमणपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले अध्यक्ष ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउन औपचारिक निर्णय गर्ने भएको छ । ठाकुरलाई राष्ट्रपति नै बनाउने गरी आफूहरुले तयारी थालेको नेता केशव झाले बताए ।

उनले भने, ‘हामी ठाकुरजीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी गरिरहेका छौं । त्यसका लागि अन्य दलका नेताहरुसँग अनौपचारिक छलफल भइरहेको छ । केही दिनमा औपचारिक निर्णय गर्छौं ।’

ठाकुरलाई राष्ट्रपति बनाउने विषयमा संसदमा रहेका दलहरुको सकारात्मक जवाफ पाएको उनको जिकिर छ । नेता झाले राष्ट्रपतिको विषयमा बाहिरी हस्तक्षेप नहुने दाबीसमेत गरे ।

झाले भने, ‘राष्ट्रपति दलहरुबीचको आपसी सहमतिअनुसार हुने हो । कुनै बाहिर हस्तक्षेप छ जस्तो पनि लाग्दैन । तर, यही विषयलाई लिएर सत्ता गठबन्धनभित्र खटपट भएको देखिन्छ ।’

उनले अध्यक्ष ठाकुरसँग क्वात्राको भेटमा राष्ट्रपतिको विषयमा छलफल नभएको दावी पनि गरे । तर, प्रतिनिधिसभामा ४ र राष्ट्रियसभामा एक सीट रहेको र राष्ट्रिय पार्टीको मान्यतासमेत नपाएको लोसपाका अध्यक्षले भारतकै ब्याकअपमा राष्ट्रपतिमा उम्मेदवारी दिन तम्सिएको स्रोतको भनाइ छ ।


प्रतिक्रिया

3 thoughts on “क्वात्राले सुझाएर गए राष्ट्रपतिका सम्भावित पात्र, महन्थलाई उम्मेदवार बनाउने तयारीमा लोसपा

  1. राष्ट्रपती कस्को लागि चुन्ने हो, कस्ले चुन्ने हो !? दुस्ट छिमेकिका कुरा सुनेउ होला नि !! कम्फर्टेबल राष्ट्रपती चाहियो रे, तिनिहरुले भनेको खुरुखुरु मान्ने !! यो प्रकारको खुलेआम घुस्पैठ र दवाव, २००७ सालमा काङ्रेश र त्रिभुवनले स्विकारेको भारतीय प्रभुत्वको झल्को आयो !! यसैबाट थर्किएर काम्छौ, वाध्य भैयो भन्दै लत्रिन्छौ कि, देश र जनताको भलाइ अनी प्रतिस्ठा र स्वाभिमानको कुरा सोच्छौ !! परिक्ष्या आयो !! देश घात मान्य छैन, देश घातिहरु नचल्मलाउ !!

  2. यो क्वात्राले हैसियत नाघेर नेताका घरघर पुगेर राष्ट्रपतिमा चासो राख्न मिल्छ ? चासो राख्ने वितिक्कै ठाउँको ठाउँ यो तेरो चासोको कुरा होईन हाम्रो मामला हो, कुरा नगरौ भन्नुपर्ने । उसको राष्ट्रपति बनाउने कुरामा हामीले चासो देखाए उसले सुन्छ ? यसको मुख्य उद्देश्य एमालेलाई राष्ट्रपति नदिने हो । अरू जो भए पनि उसका गुलाम नै हुने हो । एमालेको गुलाम हुँदैन । त्यसैले उसले गुलामलाई पदमा लान खोजेको हो । चीनलाई यस्ता कुरामा मतलव छैन । भारत त हाम्रो परम शत्रु नै निस्कियो । यो माथि भर पर्नुपर्ने अवस्था नफेरे सम्म यसले सधैं गर्ने यहि हो । यहाँ फेरि दलाल, पाल्तु कुकुरहरूको कमी छैन । अब जनताले यस्ता भारतका कुकुरलाई लात नहाने अवस्था परिवर्तन हुँदैन । जनताले केवल राम्रो कुराको अपेक्षा मात्र गरेर, केही भएन भनेर गुनासो गरेर मात्र केही हुँदैन । मूल कारणमा प्रहार गर्नुपर्छ । निर्णायक बेलामा यस्ता दलाल कुकुरहरूलाई चिनेर लात हान्नुपर्यो । अन्यथा सधैं यस्तै हो ।

  3. नागरिकता विधेयक जो पास गर्नु छ एमालेको मान्छे राष्ट्रपति हुँदा त्यो सम्भावना नहुने भए पछि दलालहरुलाई अगाडि सार्दै छ भारत ।यसमा माओवादी कम्फर्टेबल बनिरहन्छ या कम्युनिस्ट जस्तो देखिन खोज्छ हेर्नै छ ।हुन त संसारमा सबैभन्दा अविश्वसनीय मान्छे हुन यो पटक उनको विश्वसनीयता देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *