अरुको समाचार हुबहु सारेर जबरजस्ती अनलाइन चलाउनेले पत्रकारिताको विकल्प खोजे हुन्छ: काउन्सिल अध्यक्ष बस्नेत – Nepal Press

अरुको समाचार हुबहु सारेर जबरजस्ती अनलाइन चलाउनेले पत्रकारिताको विकल्प खोजे हुन्छ: काउन्सिल अध्यक्ष बस्नेत

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले तथ्यपूर्ण र खोजमूलक सामग्री दिन नसके अनलाइन सञ्चारमाध्यम टिक्न नसक्ने भन्दै त्यसतर्फ गम्भीर हुन सजग गराएका छन् ।

काउन्सिलले नयाँ दर्ता भएका अनलाइन सञ्चारमाध्यमका सञ्चालकहरुका लागि शुक्रबार गरेको अभिमुखीकरण कार्यक्रममा अध्यक्ष बस्नेतले अधिकांश अनलाइन माध्यमहरुमा मौलिक र खोजपूर्ण समाचार सामग्री देखिन छाडेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

‘मौलिक र खोजमूलक समाचार नहुनु अल्छिपना हो । अन्य माध्यमको समाचार हुबहु सारेर वा अल्छी गरी जबरजस्ती अनलाइन चलाउनु राम्रो होइन’, उनले भने, ‘बरु विकल्प खोज्नु राम्रो हुन्छ ।’

अध्यक्ष बस्नेतले विभिन्न व्यवसाय गर्ने र त्यसलाई सजिलो पार्न अनलाइन समाचार माध्यम खोल्ने प्रवृत्तिमाथि पनि कटाक्ष गरे ।
‘सञ्चारमाध्यमको विशेषता र प्रकृति फरक छ । अरु उद्योगबाट हुने फाइदा, बेफाइदाको आँखाबाट सञ्चार उद्योगलाई हेरिनुहुँदैन’, उनले भने, ‘अरु कामलाई सघाउन एउटा अनलाइन पनि दर्ता गरौं भनेर कोही आएको छ भने त्यो गलत हो । त्यस्ता अनलाइन टिक्न सक्दैनन् ।’

काउन्सिलले अनलाइन दर्ताअघि आचारसंहिता र पत्रकारिताको आधारभूत मूल्य मान्यताको विषयमा नियमित अभिमुखीकरण कक्षा राख्दै आएको छ ।

शुक्रबारको कक्षामा मुलुकभरका ३७ वटा नयाँ अनलाइनका प्रतिनिधि सहभागी थिए । सहभागीलाई अन्नपूर्ण पोष्ट दैनिकका प्रधानसम्पादक अखण्ड भण्डारी र काउन्सिलका पूर्वकार्यबाहक अध्यक्ष गोपाल बुढाथोकीले विषयगत विज्ञका रुपमा कक्षा लिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर