राजदूत शर्मिलाको ‘डिजिटल डिप्लोमेसी’- उद्यमी र अग्रणी महिलाहरूको वेबिनारमा उठे यी मुद्दा


काठमाडौं । स्पेनस्थित नेपाली राजदूतावासको आयोजनामा ‘कनेक्टिङ माइन्ड्स फर ए बेटर फ्युचर’ शीर्षमा अनलाइन वेबिनार सम्पन्न भएको छ । दूतावासले आठौँ अन्तर्राष्ट्रिय महिला तथा बालिका विज्ञान दिवसको अवसर पारेर उक्त कार्यक्रम आयोजना गरेको हो ।
स्पेनका लागि नेपाली राजदूत डा. शर्मिला पराजुलीले वेबिनारको सुरुआत गर्दै राजनीति, अर्थशास्त्र, संस्कृति, वातावरण र विज्ञान लगायतका क्षेत्रमा महिला तथा बालिकाले गरेको योगदानका साथसाथै समग्र समाजको विकासमा महिला र बालिकाले खेलेको महत्त्वपूर्ण भूमिकाबारे छलफल हुनुपर्ने बताइन् ।
लैङ्गिक समानता र महिला सशक्तीकरणले महिला तथा युवतीहरूलाई विज्ञानमा करियर बनाउन प्रेरित गरेको राजदूत पराजुलीको भनाइ थियो ।
पराजुलीले लैङ्गिक समानता र महिला सशक्तीकरण नेपालको संविधान र नेपालको परराष्ट्र नीतिको एजेन्डा २०३० को केन्द्रबिन्दुमा रहेको बताउँदै विज्ञानको क्षेत्रमा आफ्नो जीवन समर्पित गर्ने अनगिन्ती महिला तथा बालिकाप्रति श्रद्धाञ्जली अर्पण समेत गरिन् । सो वेबिनारमा आ–आफ्नो क्षेत्रका उद्योगका अग्रणी रहेका स्पेन र नेपालका पाँच–पाँच जना गरी विज्ञान विषयका १० जना महिलाहरूले अनुभव आदानप्रदान तथा प्रस्तुति दिएका थिए ।
प्यानलमा आणविक जीव वैज्ञानिक तथा क्यान्सर विशेषज्ञ डा. मारिया ब्लास्को, फार्मेसी तथा फार्मास्यूटिकल टेक्नोलोजी प्रोफेसर डा. मारिया जोस अलोन्सो, काठमाडौं उपयुक्त विज्ञान संस्थानकी संस्थापक तथा अनुसन्धान निर्देशक हेमु खरेल, सैद्धान्तिक भौतिक क्षेत्रका अध्यक्ष डा. एलिसिया सिन्टेस, वनस्पति विज्ञानका प्राध्यापक तथा शोधकर्ता डा. विजय पन्त सहभागी थिए ।
त्यस्तै न्यूरोबायोलोजिस्ट डा. मारिया डियर्सन, कृषि तथा वनविज्ञान विश्वविद्यालयकी प्राध्यापक सुनिला राई, पृथ्वी तथा अन्तरिक्ष विज्ञान को अनुसन्धानकर्ता डा. सुश्री मारिया बोसो पोसाडा तथा समाजशास्त्र क्षेत्रका डा मीना पौडेल; र रेश्मा तुलाढाको पनि छलफलमा सहभागिता थियो ।
प्यानल छलफलपछि राजदूत डा. पराजुलीले महिलाहरूलाई प्यानलको पाइला पछ्याउन तथा औषधि र चिकित्सा व्यवसायीलाई नेपालमा लगानी गर्न प्रोत्साहित गरेकी थिइन् । उनले नेपाल र स्पेन दुवै पक्षका प्यानलहरूलाई भविष्यमा संयुक्त उद्यमको सम्भावना रहेको पनि जानकारी गराइन् ।
वेबिनारमा विभिन्न देशका राजदूत, कूटनीतिज्ञ, परराष्ट्र मन्त्रालय, युरोपेली संघ र स्पेन राज्यको सहयोगका अधिकारी, प्रवासी नेपाली, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका विशिष्ट अतिथिहरूको सहभागिता रहेको थियो ।