धनकुटा महोत्सवको भागदौडमा च्यापिएर ३२ जना घाइते, ३ गम्भीर – Nepal Press

धनकुटा महोत्सवको भागदौडमा च्यापिएर ३२ जना घाइते, ३ गम्भीर

विराटनगर । धनकुटा महोत्सवमा सांगितिक कार्यक्रम भइरहँदा थेगिनसक्नुको भीडमा च्यापिएर ३२  दर्शक घाइते भएका छन् ।

आयोजकले टिकटविनाकालाई कार्यक्रमस्थल छिर्न नदिँदा दर्शकको भागदौड मच्चिएको थियो । गायक प्रमोद खरेलले गीत गाइरहँदा गेटमा ठेलमठेल भीडमा च्यापिएकामध्ये ३ जना गम्भीर छन् ।

घाइते अधिकांशको जिल्ला अस्पताल धनकुटामा उपचार सम्भव नभएपछि थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

घाइतेमध्ये १७ जनालाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको १५ जनाको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको धनकुटाका प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले बताए ।

उनले महोत्सपस्थाल सामान्य अवस्थामा पुगेको बताए । जिल्ला अस्पताल धनकुटामा भने भीड रहेको अधिकारीको भनाइ छ ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका डीआईजी श्यामलाल ज्ञवालीले अहिलेसम्म घटनाको क्षतिको पूरा विवरण आइनसकेको बताए । उनले च्यापिएर ३ जनाभन्दा बढी गम्भीर घाइते भएको सूचना आएको नेपाल प्रेससँग भने ।

जिल्ला प्रशासन कार्यालय धनकुटाकी निमित्त प्रमुख ममता अधिकारीले घटनाको क्षति विवरण संकलन भइरहेको जानकारी दिइन् ।प्रत्यक्षदर्शीले केही बालबालिकासमेत भीडमा च्यापिएको बताएका छन् ।

सांगितिक कार्यक्रमम सकिएपछि बिङ्गो खेलमा भने नि:शुल्क रूपमा प्रवेश पाउने आशामा महोत्सवस्थलको गेटमा सर्वसाधारणको भीड बढेको थियो । तर, आयोजकले गेट नखोलेपछि गेटमै झडप भएको भागदौड मच्चिएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर