प्रदेश १ मा मौसमको व्यक्तिगत बार्गेनिङ, नेताहरू भन्छन्- आलोपालो माओवादीको संस्थागत माग होइन – Nepal Press

प्रदेश १ मा मौसमको व्यक्तिगत बार्गेनिङ, नेताहरू भन्छन्- आलोपालो माओवादीको संस्थागत माग होइन

काठमाडौं । हिक्मत कार्की नेतृत्वको सरकारमा सहभागी नहुनेबारे कुनै संस्थागत निर्णय नभएको माओवादीका प्रदेश सांसदहरूले बताएका छन्। मुख्यमन्त्री आलोपालो नभए प्रदेश १ सरकारमा नजाने भनेर दलका नेता इन्द्र आङ्बो ‘मौसम’ ले व्यक्तिगत बार्गेनिङमात्र गरेको ती सांसदहरूको भनाइ छ ।

आङ्बोले यसअघिदेखि नै मुख्यमन्त्री नपाए आफू मन्त्री पनि नबन्ने बताउँदै आएका थिए । अहिले उनको व्यक्तिगत कुरालाई लिएर केही सामाजिक सञ्जाल र मिडियामा समेत भागबण्डा नसच्चिएसम्म सरकारमा पार्टी सहभागी नहुने भनेर प्रचार भइरहेको छ ।

माओवादीका केन्द्रीय सदस्यसमेत रहेका एक प्रदेश सांसदले आफूहरूसँगको सल्लाहविना आङ्बोले उक्त निर्णय गरेको बताए ।

‘मुख्यमन्त्री बन्ने उहाँको चाहना त होला । तर, पार्टीले गरेको निर्णय मान्दिनँ भनेर कहाँ हुन्छ र ? संसदीय दलको बैठकमा यसबारे केही निर्णय त के छलफलसम्म भएको छैन ‘, उनले नेपाल प्रेससँग भने ।

प्रदेश सांसद र केही नेताले आफूहरूले मिडिया र फेसबुकबाट यो कुरा थाहा पाएको बताएका छन् ।

‘मैले पनि समाचार हेरेर थाहा पाएँ । यसबारेमा हामी छलफल गर्नेछौं’, ती सांसदले भने ।

माओवादी प्रदेश १ का अध्यक्ष हर्कबहादुर नेम्वाङ्ग ‘मिक्सो’ ले सरकारमा नजाने भन्ने निर्णय पार्टीले नगरेको बताए ।

उनले भने, यो संसदीय दलको कुरा हो पार्टीको संस्थागत र आधिकारिक धारणा होइन । उनले प्रदेश १ मा माओवादीले मुख्यमन्त्री पाउनुपर्ने माग गरिरहेको बेला आलोपालोको दाबी स्वाभाविक हो । तर, सरकारमा जाने/नजाने विषय प्रदेश कमिटीको बैठकबाट मात्र टुंगिन्छ ।’

माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सुरूमा नेतृत्वले मुख्यमन्त्री आलोपालो भनेर भनेको । अहिले एमालेको भागमा मात्रै परेको भन्ने निर्णय आएकाले नसच्चिएसम्म माओवादी सरकारमा नजाने बताए ।

सातदलीय गठबन्धनमा प्रदेश १ एमालेको भागमा परेसँगै मुख्यमन्त्री नियुक्त भएका हिक्मत कार्कीले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । आजै केही मन्त्री थप्ने तयारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर