प्रचण्डका ज्वाइँको नजर भौतिक पूर्वाधारमा, नेता-कार्यकर्ताको असन्तुष्टि छताछुल्ल – Nepal Press
प्रदेश १

प्रचण्डका ज्वाइँको नजर भौतिक पूर्वाधारमा, नेता-कार्यकर्ताको असन्तुष्टि छताछुल्ल

विराटनगर । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का ज्वाइँसमेत रहेका जीवन आचार्य प्रदेश १ को मन्त्री बन्न दौडधुपमा लागेपछि पार्टीका नेता तथा कार्यकर्ता असन्तुष्ट बनेका छन् । जिम्मेवार नेताहरूले समेत सामाजिक सञ्जालमा असन्तुष्टि पोखिरहेका छन् ।

मोरङ ६ को प्रदेशसभा १ बाट चुनाव जितेका आचार्य भौतिक पूर्वाधारमन्त्रीको दाबीसहित अहिले लबिङमा रहेको बताइएको छ । मुख्यमन्त्री नपाए माओवादीबाट सरकारको नेतृत्व आफूले गर्न पाउनुपर्ने आचार्यले बताएको माओवादी स्रोतले जानकारी दिएको छ ।

माओवादीनिकटको पत्रकार संगठन प्रेस सेन्टरका प्रदेश १ अध्यक्ष विनोद घिमिरेले आचार्यको जिम्मेवारीको छलाङलाई आफूले सामान्तवादको अवशेषको रूपमा लिएको टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्, ‘प्रचण्डका ज्वाइँ जीवन आचार्य प्रदेशको मन्त्री नै बन्ने र बनाउने कुरा चलिरहेको छ यदि जीवन आचार्य यहाँको मन्त्री बने भने उहाँमा (अध्यक्ष प्रचण्ड) मा सामन्तवादको अवशेष हैन भण्डार नै भएको पुष्टि हुन्छ ।’

माओवादी कार्यकर्ता गोपाल बरालले आचार्य मन्त्री बन्ने दौडमा लागेको भन्दै फेसबुकमा लेख्छन्, ‘ज्वाइँलाई दुई चम्चा घिउले सत्कार गरिसकियो त ? हर्पे नै घोप्ट्याउने त महाशय ?’

कार्यकर्ता र नेतामात्र होइन, मन्त्रीको रेसमा रहेका पार्टीका अन्य सांसद पनि जीवनविरुद्ध उत्रिएका छन् । प्रदेशसभमा उनीभन्दा सिनियर सांसादहरू भएकाले पालो दिनुपर्ने उनीहरू बताउँछन् । एमालेको नेतृत्वमा सांसद हुँदा आफूलाई मन्त्री बन्न सहज हुने आचार्यले लबिङ गरिरहेको भन्दै आन्तरिकरूपमा उनको आलोचना पनि भइरहेको छ ।

माओवादी प्रदेश १ का सचिव तथा प्रदेश सांसद गणेश उप्रेती ‘शुशिल’ ले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राजनीती गर्नेहरूले राजनैतिक निर्णय र राजनैतिक पहलकदमी लिएकै राम्रो त्यसभित्र अराजनैतिक र मूल्य मान्यता नाघेर निर्णयहरू लिँदा आन्दोलन वा अभियान कसैलाई फाइदा पुग्दैन ।’

सांसद आचार्यले भने आफू पार्टीको केन्द्रीय सदस्य, प्रत्यक्षबाट निर्वाचित सांसद भएकोले सबै हिसाबले मन्त्रीका लागि योग्य भएको नेपाल प्रेसलाई बताए । पार्टीमा अध्यक्षको परिवारवादसँग जोड्न नहुने बताए ।

‘युवाहरूको प्रतिनिधित्वका लागि मेरो दाबी हो, कसैले मिडिया स्टन्ट गरिरहेका छन् । यसमा मेरो आपत्ति छ’, आचार्यको भनाइ छ ।

प्रदेश १ मा सरकार गठनका लागि प्रदेश प्रमुखले आइतबारसम्मको समय सीमा तोकेका छन् । सरकार गठनका लागि यहाँ सातदलीय गठबन्धनमा रहेका एमाले, माओवादी र राप्रपाबीच छलफल भइरहेको छ । मुख्यमन्त्रीमा एमाले र माओवादीले दाबी गरिरहेका छन् ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद चाहिन्छ । यहाँ एमालेको ४०, माओवादीको १३, राप्रपाको ६ र जसपाको १ गरी ६० सांसद छन् ।

केन्द्रमा भागबण्डा टुंगिसकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर