सन्दीपको पुनरावेदन सुनुवाइको पूर्वसन्ध्यामा सहपाठीको स्वर- न्याय निरुपण छिटो होस् – Nepal Press

सन्दीपको पुनरावेदन सुनुवाइको पूर्वसन्ध्यामा सहपाठीको स्वर- न्याय निरुपण छिटो होस्

वकिल भन्छन्- आज पनि मनोपरामर्शका लागि जाँदै छौँ

काठमाडौं। जबरजस्ती करणी मुद्दाको आरोपमा हाल जेलमा रहेका क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन सुनुवाइको पेशी बिहीबार रहेको छ। त्यसअघि क्रिकेटरहरू चाँडोभन्दा चाँडो न्याय निरूपण हुनुपर्ने भन्दै सामाजिक सञ्जालमा अगाडि आएका छन्।

यसअघि प्रायः मौन रहेका खेलाडीहरू सन्दीपको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको समाचारहरू बाहिर आएसँगै बोल्न थालेका हुन्। आरिफ शेख र शरद भेषावकरले चाँडोभन्दा चाँडो न्याय निरूपणको माग गरेका छन्। आरिफले मृत व्यक्तिले न्यायका लागि बिलौना नगर्ने भन्दै सन्दीपलाई निर्दोष रहेको आशयमा स्टाटस लेखेका छन्।

यस्तै रुटिन अफ नेपाल बन्दको स्टाटस सेयर गर्दै शरदले जस्टिस फर सन्दीप ह्यासट्याग प्रयोग गरेका छन्। असोज २० गते पक्राउ परेका सन्दीपलाई काठमाडौं जिल्ला अदालतले मुद्दा पुर्पक्षका लागि थुनामा पठाएपछि उनी पुनरावेदन गर्दै पाटन उच्च अदालत पुगेका हुन्।

पाटन उच्च अदालतमा उनको पेशी दुई पटक स्थगित भइसकेको छ। पहिलो पटक सन्दीपकै कानुन व्यवसायीले स्थगित गरेका थिए भने अघिल्लो पटक हेर्न नभ्याइनेमा रहेर स्थगित भएको थियो।

सन्दीपले आफू थुनामुक्त भएर मुद्दा लड्न पाउनुपर्ने माग गरेका छन्। यता काठमाडौं जिल्ला अदालतमा फैसलाका लागि तयारी पनि भइरहेको छ।

यसैबीच सन्दीपको मानसिक अवस्था कमजोर भइरहेको बताएका उनका कानुन व्यवसायी सरोज घिमिरेले बुधवार पनि मनोपरामर्शका लागि केन्द्रीय कारागार जान लागेको बताए।

‘आज पनि मनोपरामर्शदाता लिएर म केन्द्रीय कारागार जाँदै छु। मनोपरामर्शदाताले यसअघि एक पटक सन्दीपलाई काउन्सिलिङ गरेका छन्’, घिमिरेले भने।

केन्द्रीय कारागार प्रशासनले सन्दीपको अवस्था बाहिर आएजस्तो नभएको बताएको छ।

‘उनको अवस्था सामान्य नै छ। यहाँ आइसकेपछि मानसिक रूपमा केही कमजोर हुनु स्वभाविक हो तर त्यस्तो बिग्रिएको छैन। मनोपरामर्श त म आफै र प्रहरी साथीभाइहरूले पनि यहाँ लिएका छौँ। यो सामान्य कुरा हो’, केन्द्रीय कारागार प्रमुख ईश्वरीप्रसाद पाण्डेले भने। १७ वर्षीय किशोरीले सन्दीपविरुद्ध बलात्कारको आरोप लगाएकी थिइन्।

आफूसँगको पहिलो भेटमै सन्दीपले बलात्कार गरेको र भोलिपल्टदेखि सामाजिक सञ्जालसहित सबैतिर ब्लक गरेको दाबी पीडित भनिएकी किशोरीको छ। सन्दीपले भने इन्कारी बयान दिँदै बलात्कार अस्वीकार गरेका छन्। युवतीको जन्म दर्तामा उमेर विवाद देखिएको छ।


प्रतिक्रिया

One thought on “सन्दीपको पुनरावेदन सुनुवाइको पूर्वसन्ध्यामा सहपाठीको स्वर- न्याय निरुपण छिटो होस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर