राष्ट्रिय सभाको उपनिर्वाचन माघ २५ गते गर्न सरकारलाई निर्वाचन अयोगको सुझाव – Nepal Press

राष्ट्रिय सभाको उपनिर्वाचन माघ २५ गते गर्न सरकारलाई निर्वाचन अयोगको सुझाव

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त एक पदका लागि माघ २५ गते उपनिर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ । आयोगले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सोमबार छलफल गर्ने क्रमम यस्तो सुझाव दिएको हो ।

छलफलका क्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अन्य समूहबाट राष्ट्रिय सभा सभामा लुम्बिनी प्रदेशसभाबाट निर्वाचित सदस्य खिमलाल भट्टराईको असोज २३ गते राजीनामा स्वीकृत भई रिक्त पदको उपनिर्वाचन गर्नुपर्ने भन्दै यस्तो सुझाव दिएका थिए ।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६१ मा कुनै सदस्यको पदावधि ५ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले पद रिक्त भएमा बाँकी अवधिका लागि रिक्त भएको मितिले ३५ दिनभित्र सरकारले तोकेको मितिमा आयोगले उपनिर्वाचन गराउनुपर्ने व्यवस्था छ ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले छलफलमा वर्तमान राष्ट्रपतिको पदावधि फागुन २८ गतेसम्म हुने भएकाले त्यस भन्दा अघि नै राष्ट्रपति पदको निर्वाचन र राष्ट्रपतिको निर्वाचन भएको १५ दिनभित्र उपराष्ट्रपति पदको निर्वाचन सम्पन्न गराउनुपर्ने अवस्था रहेको पनि सरकारलाई जानकारी गराएका छन् ।

यसैगरी निर्वाचन आयोगले तयार पारेको निर्वाचनसँग सम्बन्धित एकीकृत निर्वाचन कानूनको मस्यौदा सरकारमार्फत संघीय संसदको पहिलो अधिवेशनमा पेश गर्ने तयारीमा आयोग जुटेको पनि जानकारी गराएको आयोगका प्रवक्तासमेत रहेका सहसचिव शालिग्राम शर्माले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार आयोगको सुझावपछि प्रधानमन्त्री प्रचण्डले आयोगले प्रस्ताव गरेका राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनको विषयमा आवश्यक सहयोग, समन्व्य र सहजीकरण गर्न तथा एकीकृत निर्वाचन कानूनलाई अगाडी बढाउन सरकार तयार रहेको बताएका छन् ।

छलफलमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अब हुने निर्वाचनका लागि आवश्यक पर्ने वित्तियष् सहयोग जुटाउन अर्थ मन्त्रालय तयार रहेको बताएका थिए भने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आयोगको सम्पर्क मन्त्रालयका रुपमा गृह मन्त्रालयबाट गर्नुपर्ने सबै सहयोग उपलब्ध गराउने बताए ।

बैठकमा प्रमुख निर्वाचन आयुक्त थपलियासँगै आयुक्त ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, डा.जानकीकुमारी तुलाधर, मुख्यसचिव शंकरदास बैरागी, निर्वाचन आयोगका सचिव गोकर्णमणी दुवाडी लगायतको सहभागिता रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *