विराटनगरलाई हराउँदै प्लेअफमा लुम्बिनी – Nepal Press

विराटनगरलाई हराउँदै प्लेअफमा लुम्बिनी

काठमाडौं । विराटनगर सुपर किङ्सलाई १२ रनले पराजित गर्दै लुम्बिनी अलस्टार्स जारी नेपाल टी-२० लिगको प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ । छैठौं जित निकालेको लुम्बिनी १२ अंकसहित शीर्ष स्थानमा रहेको छ ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२३ रनको लक्ष्य विराटनगरसामु प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको विराटनगर तीन बल बाँकी रँदा अलआउट हुँदै ११० रनमा सिमित भयो ।

विराटनगरका लागि ओपनर अर्जुन साउदले सबैभन्दा धेरै ४१ रन जोडे । उनले ४५ बल खेल्दै ४ चौका प्रहार गरे । गौरान्सु शर्मा १२ रन, पृथु बास्कोटा ११ रनमा आउट हुँदा विवेक यादव १९ रन जोड्न सफल भए त्यसबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

लुम्बिनीका तिलक भण्डारी, ह्यारि टेकटर र शेड्ली भान स्केल्कवेकले समान दुई/दुई विकेट लिए । भण्डारीले ४ ओभरमा १ मेडन राख्दै १४ रन खर्चिए । टेक्टरले ३ ओभरमा १७ रन र स्केल्कवेकले १.३ ओभरमा १५ रन खर्चिएका थिए ।

यसअघि, लुम्बिनीका कप्तान दिपेन्द्रसिंह ऐरीले अविजित अर्धशतकीय इनिङ खेलेका थिए । उनले ४२ बलमा ६ चौका प्रहार गरे । त्यो बाहेक कुशल भुर्तेल, ह्यारि टेक्टर र अनिल शाहले समान १३ रन योगदान गरे । भने। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

विराटनगरका नन्दन यादव, सूर्य तामाङ र विवेक यादवले समान दुई विकेट लिए । कियोन जोसेफ र राज ननन्ले एक/एक विकेट लिए ।

जारि प्रतियोगितामा विराटनगरले पाँच खेलमा तीन हार र दुई जितको नतिजा निकालेको छ । विराटनगर ४ अंकसहित पाँचौ स्थानमा छ ।

विराटनगरले अर्को खेलमा काठमाडौं नाइट्ससँग मंगलबार खेल्नेछ । यस्तै, लुम्बिनीले जनकपुर रोयल्ससँग खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *