लगातार चुनाव जितेर मन्त्री बन्न बाँकी एमालेका चार सांसद – Nepal Press

लगातार चुनाव जितेर मन्त्री बन्न बाँकी एमालेका चार सांसद

काठमाडौं । नेकपा एमालेका प्रत्यक्ष निर्वाचित ४४ जना सांसदमध्ये लगातार दुईपटक चुनाव जितेका तर मन्त्री नभएका चारजना मात्र देखिएका छन् ।

२०७४ र २०७९ को दुवै चुनावमा जितेकामध्ये मन्त्री नबनेका एलपी साँवा लिम्बु,राजेन्द्र राई,विद्या भट्टराई र पदम गिरीमात्र हुन् ।

एमालेले लगातार चुनाव जितेका तर मन्त्री नबनेका नयाँ अनुहार छान्ने मापदण्ड बनाउँदा यी चारजनाबाट पर्ने सम्भावना रहेको नेताहरुले बताएका छन् ।

एमालेले यसअघि पनि पार्टीका पदाधिकारी,सिनियर नेता,दुईपटक लगातार चुनाव जितेका र पहिलोपटक जितेर आएकालाई समेत सन्तुलन मिलाएर मन्त्री बनाउने प्रचलन बनाएको थियो ।

विशाल भट्टराई,यज्ञराज सुनुवारलगायतका केही नेता लगातार दुईपटक चुनाव जितेर मन्त्री बन्न पाएका थिएनन् । यसपटक उनीहरु पराजित भए ।

यसपटक पनि गठबन्धनलाई पराजित गरेर दोस्रोपटक लगातार चुनाव जितेका र पहिलोपटक चुनाव जितेकाहरुको समेत सन्तुलन मिलाएर मन्त्री बनाउने सम्भावना रहेको एमाले स्रोतले जनाएको छ ।

प्रदेश १ बाट लगातार दुईपटक चुनाव जित्नेमा झापा ४ का एलपी साँवा लिम्बु र धनकुटाका राजेन्द्र राई हुन् । एमाले अध्यक्ष ओलीको गृहजिल्ला झापाबाट एकजना मन्त्री बन्दा लिम्बुको नम्बर माथि छ । उनी एमालेनिकट उद्योगी व्यवसायी महासंघका अध्यक्ष पनि हुन् ।

त्यस्तै धनकुटाका राजेन्द्र राईलाई अध्यक्ष ओलीले अघिल्लै चुनावमा जिल्ला क्लिनस्वीप गरेर जिताएको भन्दै मन्त्री बनाउने आश्वासन दिएका थिए । उनको नाम एकपटक फाइनल भएर पनि काटिएको थियो । यसपटक पाँच दलीय गठबन्धनको घेराबन्दीबीच धनकुटाका तीनै सीट जिताएर राईले क्लिनस्वीपलाई निरन्तरता दिएका छन् ।

एमालेले क्लिनस्वीप गरेका तीन जिल्लामध्ये धनकुटा,पर्वत र अर्घाखाची हुन् । पुस ५ गते आयोजित विशेष कार्यक्रममा ओलीले नै तीन जिल्लासहित पहिलोपटक संसदीय इतिहासमा बिजय निकाल्ने सोलुखुम्बु जिल्ला कमिटीलाई पुरस्कृत गरेका थिए । अर्घाखाँचीबाहेक धनकुटा र पर्वतले अहिलेसम्म मन्त्री पाएको छैन ।

पर्वतबाट पदम गिरीले दोस्रो जित निकाल्दा जिल्लाका दुवै प्रदेशसभा पनि एमालेले बिजय हासिल गरेको छ । कांग्रेसका प्रभावशाली नेता अर्जुन जोशीलाई दोस्रोपटक पराजित गरेका युवा नेता गिरी पनि एमालेबाट मन्त्रीका प्रमुख दाबेदार हुन् । जिल्लामा पार्टीको बर्चश्व कायम राख्न पनि उनलाई मन्त्री बनाउनुपर्ने दबाबमा एमाले छ ।

त्यस्तै कास्की २ बाट निर्वाचित विद्या भट्टराई लगातार दोस्रोपटक चुनाव जितेकी तर मन्त्री हुन बाँकी सांसद हुन् । यसअघि उनी उपसभामुखमा उम्मेदवार बनेर तत्कालीन सत्ता गठबन्धनकी पुष्पा भुसालसँग पराजित भएकी थिइन् । कतिपय नेताले उनको प्राध्यापक पृष्ठभूमिलाई समेत लिएर सभामुखको सम्भावित उम्मेदवारका रुपमा समेत हेरेका छन् ।


प्रतिक्रिया

One thought on “लगातार चुनाव जितेर मन्त्री बन्न बाँकी एमालेका चार सांसद

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर