संकटग्रस्त अर्थतन्त्र उकास्ने जिम्मा कसको ? उपप्रधानसहित अर्थमन्त्रीमा विष्णु पौडेलको सम्भावना – Nepal Press

संकटग्रस्त अर्थतन्त्र उकास्ने जिम्मा कसको ? उपप्रधानसहित अर्थमन्त्रीमा विष्णु पौडेलको सम्भावना

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपछि अब सरकार गठनको प्रक्रिया सुरु भएको छ । प्रधानमन्त्रीसँगै केही मन्त्रीले साेमबार नै सपथग्रहण गर्ने सम्भावना रहेको छ ।

पहिलो चरणमा एमाले र माओवादीका मात्र मन्त्री नियुक्त हुने र बाँकी साना दलले निर्णय गरेपछि मन्त्रिपरिषदलाई पूर्णता दिइने बताइएको छ । एमालेबाट उपप्रधानमन्त्रीसहित सिनियर पदाधिकारीको नेतृत्वमा सरकारमा जाने तयारी छ ।

उपाध्यक्ष सुवास नेम्वाङ राष्ट्रपति वा सभामुखबाहेक मन्त्री बन्ने छैनन् । त्यसपछि सरकारको नेतृत्वको स्वभाविक जिम्मेवारी विष्णु पौडेलले पाउने देखिन्छ । पौडेल केपी ओलीको पछिल्लो सरकारमा छोटो समय उपप्रधानमन्त्री बनेका थिए भने सोही कार्यकालमा करिब ९ महिना अर्थमन्त्री बनेर सफल अर्थमन्त्रीको रुपमा बाहिरिएका थिए ।

यसपटक संकटग्रस्त अर्थतन्त्र उकास्ने जिम्मेवारी अर्थमन्त्रीलाई हुनेछ । दाता र बजारले माओवादीका अर्थमन्त्री जनार्दन शर्मालाई स्वीकार नगरेका कारण अर्थमन्त्रालय एमालेले नै सम्हाल्नुपर्दा पौडेल कै काँधमा सो जिम्मेवारी आउन सक्ने देखिन्छ ।
निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय समुदायले पत्याएको परिपक्व अर्थमन्त्री नभए मुलुकले धान्ने अवस्था अब नरहेको विज्ञहरु बताउछन् । एमालेबाट चुनाव जितेका पदाधिकारीमध्ये बिष्णु पौडेलपछि उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिवहरु छबिलाल विश्वकर्मा, योगेश भट्टराई, गोकर्ण विष्ट, टोपवहादुर रायमाझी र रघुबीर महासेठ छन् ।

एमालेबाट अर्थमन्त्रीका सम्भावित उम्मेदवार सुरेन्द्र पाण्डे चुनावमा पराजित भएका कारण अहिलेको अवस्थामा अर्थमन्त्रालय सम्हाल्ने व्यक्ति एमालेमा अरु देखिएका छैनन् । यद्यपी एमालेमा सरकारको नेतृत्व कसले गर्ने र मन्त्री कसरी बनाउने भन्नेबारे छलफल नै नभएको उपाध्यक्ष नेम्वाङले बताए । पौडेलले सरकारमा जान शीर्ष नेतृत्वसमक्ष अनिच्छा देखाएको बताइन्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर