माओवादी प्रदेश १ संसदीय दलको नेतामा दुर्गाको दाबी, मौसमलाई राजेन्द्रको पनि चुनौती – Nepal Press

माओवादी प्रदेश १ संसदीय दलको नेतामा दुर्गाको दाबी, मौसमलाई राजेन्द्रको पनि चुनौती

विराटनगर । माओवादी केन्द्रले ११ पुसमा प्रदेश १ संसदीय दलको नेता चयन गर्ने भएको छ । दल नेतामा ३ जना प्रदेश सांसदले दाबी गरेका छन् ।

माओवाली केन्द्र प्रदेश १ को संसदीय दलको नेता हुन दुई पोलिटव्युरो सदस्य दुर्गाप्रसाद चापागाईं र इन्द्रबहादुर आङ्बो तथा केन्द्रीय सदस्य राजेन्द्र कार्कीले दाबी गरेका हुन् ।

चापागाईं तेह्रथुमको प्रदेशसभा (२) र आङ्बो पाँचथर प्रदेशसभा (२) बाट निर्वाचित भएका हुन् । राजेन्द्र कार्की नवीन भने संखुवासभा १ (१) बाट निर्वाचिन भएका हुन् ।

प्रदेश १ मा माओवादीका १३ सदस्य छन् । तीमध्ये ९ प्रत्यक्ष र ४ जना समानुपातिकतर्फबाट निर्वाचित भएका हुन् ।

माओवादी पोलिटव्युरो सदस्य एवं प्रदेश १ का पूर्वइन्चार्ज हिमाल राई (सुरेश)ले दलको नेतामा चापागाईं, आङ्बो र कार्कीको दाबी रहेको बताए । आङ्बो हाल प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री छन् । एमालेसँगको एकताअघि र नेकपा विभाजनपछि पनि आङ्बो माओवादीको दलका नेता थिए ।

राईले भने, ‘तीन जना साथीहरुको दाबी रहेको छ । हामी अहिले तल्लो तहबाटै मिलाएर जाने सहमतिको कुरा गरिरहेका छौं ।’

सत्ता गठबन्धनमा रहेका दलहरुमा प्रदेश १ को मुख्यमन्त्री माओवादीको भागमा परे आङ्बो नै मुख्यमन्त्री बन्नेमा तीन जना नेताहरुमा सहमति भएको तर दलको नेतामा भने तीन जनाको दाबी रहेको राईले बताए । उनले आलोपालो नेतृत्व गर्नुपर्छ भन्ने तर्कसहित चापागाईंले दलको नेतामा दाबी गरेका छन् ।

‘कार्कीले भने यस पटक म पनि दलको नेता हुन पाउनु पर्छ भन्दैछन् । सबै नेताहरु समकालीन छन् । युवा नेता योग्य र पार्टीको समान जिम्मेवारीमा छन्’, राईले थपे, ‘प्रदेशसभा सदस्यहरुले विवेकपूर्ण निर्णय लिने विश्वास लिएका छौं ।’

प्रदेशसभा र सरकारमा प्रभावकारी भूमिका निर्वाह गर्न आफूले नेतृत्वमा दाबी गरेको चापागाईंले बताए । आङ्बोलाई बिहीबार काठमाडौंमा भेटेर आफूले यसपटक दल नेताका लागि सघाउन आग्रह गरेको र सकारात्मक जवाफ पाएको चापागाईंले बताए ।

उनले सर्वसम्मतमै दलको नेता छानिने जानकारी दिए । संघीय संसदमा पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वसम्मत भएकाले प्रदेशमा पनि सर्वसम्मत नेता चयन हुने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर