गोकुल बास्कोटा र सूर्य थापा- चुनावमा ‘सरप्राइज भिक्ट्री’, शपथमा एकसाथ इन्ट्री – Nepal Press

गोकुल बास्कोटा र सूर्य थापा- चुनावमा ‘सरप्राइज भिक्ट्री’, शपथमा एकसाथ इन्ट्री

काठमाडौं । गोकुल बास्कोटा र सूर्य थापा बिहीबार प्रतिनिधि सभा सदस्यको शपथ लिन एकसाथ संसद् भवनमा देखिदा फोटोपत्रकारहरु उनीहरूतिर झुम्मिए ।

दुवै जना पूर्व पत्रकार भएर भन्दा पनि राजनीतिका चर्चित र चुनावमा सरप्राइज नतिजा निकालेका कारण यी दुई नेता आकर्षणको केन्द्रमा छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा बास्कोटा सरकारका प्रवक्ता थिए भने थापा प्रधानमन्त्रीका प्रेस सल्लाहकार । दुवै जनाको स्वभावमा कतिपय समानता छन् । उनीहरू खरो बोल्छन् तर मनमा एउटा राखेर मुखले चेपारो घस्दैनन् ।

देखेको कुरा बोल्ने उनीहरूको शैली नचिन्नेहरूका लागि रुखो लाग्न सक्छ तर उनीहरूलाई चिनेका, बुझेका र संगत गरेकाहरूका लागि भने सामान्य लाग्छ । दौरा सुरुवाल कोट लगाएर शपथग्रहण गर्न संसद् भवन छिर्दा उनीहरू दुवै नेता प्रफुल्ल मुद्रामा थिए ।

गोकुल बास्कोटाको यो दोस्रो संसदयात्रा हो भने सूर्य थापा पहिलो प्रयासमै सफल भएका हुन् । पार्टीमा दुवै जना पोलिटब्युरो सदस्य हुन् तर पत्रकारिता,उमेर र राजनीति दुवैतिर बास्कोटा सिनियर हुन् । दुवै जना नेताको सन्दर्भमा ग्रे एरिया छैन । कि त उनीहरूका कठोर आलोचक छन्,कि त कट्टर समर्थक ।

पत्रकारितामा सुर्य थापा पत्रकार महासंघको केन्द्रीय सदस्यबाट बिदा भएका थिए भने बास्कोटा सचिव उठेर पराजित भएका थिए । । गोकुल दृष्टि साप्ताहिकको सम्पादकबाट बिदा भएर पूर्णकालीन राजनीतिमा लागेका थिए भने सूर्य बुधवार साप्ताहिकको सम्पादकबाट बिदा भएर पूर्णकालीन राजनीतिमा लागेका हुन् ।

यस पटकको चुनाव दुवैका लागि चुनौति पूर्णमात्र थिएन उनीहरूको विजय असम्भव मानिएको थियो । गठबन्धनको मतभन्दा एमाले निकै पछि रहेको काभ्रे २ बाट गोकुल बास्कोटा करिब ६ हजार मतान्तरले विजयी भए भने प्युठानबाट ५ दलीय गठबन्धनलाई फराकिलो मतान्तरले पछि पारेर सूर्यले सरप्राइज जित निकाले ।

सामाजिक सञ्जालमा दुवै नेतालाई ट्रोल गर्नेहरूको ठूलै जमात छ । तर दुवै नेताले चुनौतीपूर्ण परिस्थितिमा जनताबाट लोकप्रिय मतबाट अनुमोदन भएर आफ्ना विरोधीहरूलाई जवाफ मात्र दिएका छैनन्, उनीहरूमाथि लाग्ने गरेका आरोप समेत खारेज गरिदिएका छन् जनताले । चुनावपछि एमालेभित्र समेत यी दुई पूर्व पत्रकार सांसदको लोकप्रियता बढेको छ ।

संसद्मा दुवैले भुईँ मान्छेको आवाज सशक्त ढंगले उठाउने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर