रामचन्द्र पौडेल पनि प्रधानमन्त्रीको दौडबाट अलग, के छ अर्को आकांक्षा ? – Nepal Press

रामचन्द्र पौडेल पनि प्रधानमन्त्रीको दौडबाट अलग, के छ अर्को आकांक्षा ?

काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल भावी प्रधानमन्त्रीको दौडबाट पन्छिएका छन् । पार्टीको संसदीय दल नेताको चुनावमा उनले भाग नलिने निधो भएको छ ।

संसदीय दलको चुनावका लागि आज कांग्रेसमा मनोनयन दर्ताको कार्यक्रम छ । पौडेलले मनोनयन नदिने उनीनिकट स्रोतले बतायो ।

आमनिर्वाचन सकिएसँगै पौडेलले भावी प्रधानमन्त्रीका लागि तीव्र आकांक्षा प्रकट गर्दै आएका थिए । स्वयम् प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत पटक-पटक भेटेर आफ्नो इच्छा व्यक्त गरे । तर, देउवाले ग्रीन सिग्नल नदिएपछि उनले अन्ततः दौड हापेका हुन् । स्रोतका अनुसार पार्टी संसदीय दलको चुनावमा उनले देउवालाई नै समर्थन गर्ने सम्भावना छ ।

नेपाली राजनीतिमा लामो समयदेखि सक्रिय पुराना नेतामा पर्छन् पौडेल । तर, उनी अहिलेसम्म पार्टी र सरकारको मुख्य पदमा पुग्न सकेका छैनन् । विगतमा उनी १७ पटकसम्म प्रधानमन्त्रीका लागि प्रतिस्पर्धामा उत्रेका थिए । तर, सफल भएनन् । आफ्नो राजनीतिक जीवनमा एक पटक देशको कार्यकारी प्रमुख बन्ने धोको यसपालि पनि अधुरो रहने भएको छ ।

प्रधानमन्त्रीको दौड त्यागिरहँदा पौडेलले आफ्नो वैकल्पिक योजना प्रष्ट पारिसकेका छैनन् । कतिपयले उनी अब राष्ट्रपतिको लागि प्रयास गर्ने पनि अनुमान गरिरहेका छन् । यद्यपि, त्यो पद पनि उनका निम्ति सहज छैन । यदि अहिलेकै गठबन्धनले निरन्तरता पायो भने कांग्रेसको भागमा राष्ट्रपति नपर्न सक्छ ।

पौडेल अहिले कांग्रेसभित्र न संस्थापन, न इतर समूहभित्र छन् । यसअघि पार्टी महाधिवेशनमा पनि उनी तटस्थ बसेका थिए । नेपाल प्रेसले पौडेललाई सम्पर्क गर्दा उनले आफू छलफलमै रहेको बताए । थप कुराकानी गर्न चाहेनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर